सिन्धुपाल्चोक पहिरो अपडेट : ३ जनाको शव फेला, २८ जना अझै बेपत्ता

पर्यटन बजार२८ भाद्र २०७७, आईतवार मा प्रकाशित

सिन्धुपाल्चोक पहिरो अपडेट : ३ जनाको शव फेला, २८ जना अझै बेपत्ता

काठमाडौं- सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा गएको पहिरोमा पुरिएर हराईरहेकामध्ये ३ जनाको शव भेटिएको छ ।

बाह्रबिसे नगरपालिका – ७ का तीन स्थानमा गएराति गएको पहिरोमा पुरीएर हराईरहेकामध्ये नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्ककी २३ वर्षीया जुनुमाया विक र ६० वर्षीया सर्किनी नेवारको शव भेटिएको हो ।पहिरोमा अझै २८ जना बेपत्ता छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार बाँकीको खोजी कार्य तिव्र पारिएको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खोजी र उद्धारमा खटिरहेको छ । घुम्थाङको नागपुजेमा पहिरोले बढी क्षति पुर्याएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार पहिरोको क्षति विवरण यकिन भईसकेको छैन ।प्रजिअ ढकालका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको जानकारी प्राप्त भएको छ ।

गएरातिदेखि परेको भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलका घरहरु पुरेको थियो ।

सभामुख अग्नि सापकोटासहितको टोली आज बिहान स्थलमार्गबाट पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् ।मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको पनि बताईएको छ ।बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बेपत्ताहरुको खोजी कार्यमा जुटेकोले यकिन जानकारी अझै दिन नसक्ने बताए ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक आएको अविरल वर्षापछिको बाढी र पहिरोमा ठूलो मानवीय क्षति भएको छ ।गत साउन ३० गते सबेरै जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

बाढी पहिरो लगायत प्राकृतिक प्रकोपको चपेटामा परेको सिन्धुपाल्चोकका विभिन्न स्थानका स्थानीयले आफूहरुको बसोबास असुरक्षित रहेको भन्दै बस्ती स्थानान्तरणका लागि पटक – पटक प्रशासनमा अनुरोध गरेतापनि गुनासो कुनै सुनुवाई नभएको कारण पटक पटक यस्ता क्षति ब्यहोर्नुपरेको दुखेसो गरेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?