सोह्रश्राद्ध प्रारम्भ

पर्यटन बजार१७ भाद्र २०७७, बुधबार मा प्रकाशित

सोह्रश्राद्ध प्रारम्भ

भदौ १७ ,काठमाडौँ। दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भएको छ। यस वर्ष भने मलमासको कारण सोह्र श्राद्द भदौ महिनामा परेको छ भने दशैं कार्तिक महिनामा परेको छ । तृलाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व तथा आफ्ना बाबू, बाजेलगायतका एउटा ठूलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पणभावको अद्भूत नमूना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाई र महत्वलाई थप स्पष्ट पार्छ ।

१६ दिनको यो पितृपक्षमा पितृको मृत्यू तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारीक शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि बिभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट शुरु भएको यस पक्ष औंशीका दिनसम्म चल्ने गर्दछ । पितृपक्षमा पितृहरु पृथ्वी लोकमा आ-आफ्ना सन्ततीका घरमा आएर बस्ने गर्दछन ।

यसरी पूर्णिमाबाट शुरुभएको पितृपक्ष औंशीका दिन सम्पन्न हुन्छ । १६ दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यू तिथिका दिन हिन्दूधर्मावम्वीहरुले पितृकर्म अर्थात श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित, पूरोहितको उपस्थितिमा कर्ताले पितृकर्म गर्दा कपाल खौरीएर नयाँ जनै फेरेको हुनुपर्दछ । विहानै देखि माैलिक विशेषता बोकेका पारम्परीक नैवेध तथा विभिन्न प्रकारका खानेकुराहरु घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ अनि र श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरुप विभिन्न साम्रगीहरु, घ्यू, सेतो पुष्प, पँहेलो केसरी लगायतका पितृकर्ममा आवश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पुजा गरेको ठाउँमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ ।

वैदिक सनातन हिन्दू संस्कारमा श्राद्ध महत्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजूभार्इले गर्नेगर्दछन् । सर्वपितृ औंशीको दिन पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरुलाई तर्पण दिनेगर्दछ । पुत्रलाई मोक्षको बाटो भनेर हिन्दू शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलाई नारीविरोधी र लैङ्गीक असमानतासित पनि जोडेर हेरिनेगरिएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभकार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्व छ ।

सनातन धर्मको हरेक शुभकार्य अनि संस्कारमा कर्ताका रुपमा पुत्रको उपस्थितीलाई प्राथमिकता दिएको भएपनि नारीहरुलाई पनि उत्तिकै महत्व दिएको छ । भाञ्जा भाञ्जी अनि चेलीबेटीको उपस्थितिवेगैर श्राद्धकर्म पूर्ण हुनै सक्दैन । पुत्र अनि पुत्री पितृकालागि समान छन र आजभोली पितृकर्ममा अनि काजक्रियामा छोरीहरुको स्वस्फूर्त सहभागिता र कर्ताकै रुपमा निभाउन थालिएको भूमिका अत्यन्त सराहनीय छ, धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै स्थान दिएको छ, धर्मले कहिं कतै भेदभावको ज्ञान दिदैन ।

अब कुरो पितृलोकको अवधारणाबाट, स्वर्ग र पृथ्वीबिचको यस लोकमा पितृका तिनपुस्ताहरु रहने गरेको मानिन्छ । बैतर्णि नदि भएको यस पितृ लोकमा बैतर्णि नदी तरेमा स्वर्ग लोक पुगिने जन-विश्वास छ । स्वर्गलोकका राजा ईन्द्र हुन् भनें पितृ लोकका राजा यम हुन् भन्ने मान्यता छ ।

पितृपक्षको कुरा गर्दा महाभारतको यूद्धसंग कथा जोडीएर आउँछ, महाभारतको यूद्धमा मृत्यूवरण गरेका दानवीर कर्णलाई स्वर्गमा भोजनका रुपमा सुनचाँदी बस्त्रआभूषण आदी प्रदान गरियो । भोजनकालागि बास्तविक खानानै आवश्यक पर्नेमा किन राजा ईन्द्रले उनलाई सुनचाँदी ईत्यादि खान दिएका भन्ने कौतुहलमा कर्णले स्वर्गका राजा ईन्द्रलाई प्रश्न गर्दछन् । उत्तरमा ईन्द्रले दानवीर कर्णले जीवनभरि सुनचाँदी आदिमात्र दान गरेको र पितृलाई भोजन दान नगरेको कारणले स्वर्गलोकमा भोजनका साटो सुनचाँदी पस्केको कुरा स्प्ष्ट पार्दछन् । यसरी आफूलाई यसबिषयमा थाहा नभएकाले जीवनकालमा पितृलाई भोजन दान नदिएको बताएपछि १६ दिनकालागि कर्णलाई पृथ्वीमा फिर्ता पठाएको किम्बदन्ति नै पितृ पक्षको शुरुवातका रुपमा मानिन्छ ।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ ।

Facebook Comment

छुटाउनुभयो कि?