स्वर्गको एक टुक्रा , गोक्यो ताल !

पर्यटन बजार२३ बैशाख २०७६, सोमबार मा प्रकाशित

स्वर्गको एक टुक्रा , गोक्यो ताल !

गोक्यो ताल नेपालको सगरमाथा अंचल र सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो ।रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक र चर्चित छ  । सगरमाथा राष्ट्रिय निकुन्ज  भित्र रहेको यो ताल समुन्द्र सतहबाट ४,७००-५,००० मिटर (१५,४००-१६,०० फिट) उचाइमा रहेको छ । यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने ताजा पानीको तालहरु मध्ये पर्दछन । यी तालहरू मध्ये थोनाक ताल सबैभन्दा ठूलो ताल हो ।  सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको छ । 

चारैतिर सेता हिमालहरूले घेरिएको, बीचमा नीलो गहिरो ताल, प्रेममा विलिन सुन्दर हाँसका जोडीहरू तैरिरहेको मनमोहक दृश्य अनि तालको एक कुनामा अवस्थित सुन्दर होटल तथा रिसोर्टहरूले कसको मन नजित्ला र  ?

गोक्यो ताल पुग्नेहरू जोकोहीलाई निकै आनन्दको अनुभूति हुन्छ । जिउंदै स्वर्गको आभास गर्न चाहनेलाई धर्तीकै यो तालले केहिहद सम्म पुरा गर्दछ  । यहाँसम्म पुग्दा जरुर थकान र उचाइका कारण शारीरिक र मानसिक समस्याहरू आउन सक्छन् तर सुन्दर तालहरू नीलो आकाशसम्मै सेता हिमाल र एकान्त भ्यालीमा आफूलाई पाएपछि सारा यात्राको थकान प्राकृतिक सौन्दर्यको अगाडि विल्कुल फिक्का हुन्छ ।

बिहानको सूर्योदय र साँझ सूर्य अस्ताउने समयमा गोक्यो तालको दृश्य अति नै मनमोहक हुन्छ । अझ पूर्णिमाको रातमा यस ताल वरपर देखिने दृश्यहरू र सेता हिमालहरूमा परावर्तित जूनको किरणले वातावरणलाई एउटा अनौठो सौन्दर्यता प्रदान गर्छ ।

यस ताललाई हिन्दु तथा बौद्ध दुवैले शुद्ध तथा पवित्र मानेको छ । १००० भन्दा बढी हिन्दू धर्मावालाम्बीहरुले प्रत्येक बर्ष अगस्त महिनामा हुने जनैपुर्णिमाको दिन यहाँ स्नान गर्दछन । प्रत्येक बर्ष यहाँ हजारौं पर्यटक घुम्न आउने गर्दछन । यो तालको दक्षिणपट्टि हिन्दू देवता शिब तथा  बिष्णुको मन्दिर रहेको छ जहाँ हजारौ श्रद्धालु आउने गर्छन । यो ठाउँ विशेष नाग देवताको लागि प्रसिद्ध रहेको छ ।

सगरमाथा बेसक्याम्प पछी गोक्यो ताल पर्यटकहरुको लागि आउने सर्वाधिक ठुलो गन्तब्य हो । ४,७९० मिटरको उचाईंमा रहेको गोक्यो गाउँ पर्यटकहरुको लागि सबैभन्दा मनोरन्जक गन्तब्य हो । नाम्चे बजार देखि यस ठाउँ पुग्न दुई दिन पैदल हिडेर पुग्न सकिन्छ ।

Facebook Comment

छुटाउनुभयो कि?