हजार रोपनी जग्गा अधिग्रहण का साथ फेरिँदैछ रुपा ताल

पर्यटन बजार२० आश्विन २०७७, मंगलवार मा प्रकाशित

हजार रोपनी जग्गा अधिग्रहण का साथ फेरिँदैछ रुपा ताल

असोज २०, काठमाडौं। पोखराको तालमध्ये रुपा ताल तेस्रो ठूलो ताल हो। ताल वारिपारिको जंगलका कारण पनि यो ठाउँ जैविक विविधताले भरिएको छ। जंगलका वन्यन्तुको प्यास यही तालले मेटाएको छ।

रूपाताललाई पर्यटकीय केन्द्र बनाउने गरी संरक्षण र विकासका योजना ल्याएका छौं,’ रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले भने, ‘यो योजना कार्यान्वयन भएपछि पोखरा आउने पर्यटक एक पटक रूपातालमा बास बस्न आउने छन्।’

रूपातालमा १ सय ७५ प्रजातिका माछा पाइन्छन्। स्थानीय सहकारीले माछाको बिक्री वितरण र संरक्षण गर्दै आएका छन्।

रूपाताल संरक्षणमा तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीले चासो दिएका थिए। पोखराको लेखनाथ घर भएका सुवेदीले आफ्नो कार्यकालमा रूपाताल संरक्षणका एकीकृत योजना अघि बढाए। मन्त्रिपरिषदको २०७३ मंसिर १२ गतेको बैठकबाट रूपाताल संरक्षण एकीकृत विकास परियोजना स्वीकृत गराए।

परियोजनाले तालको क्षेत्रफल १२२ बाट बढाएर १८४ हेक्टर पुर्‍याउने लक्ष्य लिएको छ। जसका लागि ९९५ रोपनी व्यक्तिगत जग्गा अधिग्रहण गर्नु पर्नेछ।

अहिले जग्गा अधिग्रहणको काम भइरहेको परियोजनाका प्रमुख तुलसीराम भट्टराईले बताए। जग्गा अधिग्रहणका क्रममा हालसम्म करिब ५ सय रोपनी जग्गाको मुआब्जा बाँडिएको उनले जानकारी दिए।

परियोजनाले रूपातालमा पानीको मात्रा अहिलेभन्दा झन्डै चार गुणा बढाउने परिकल्पना गरेको छ। अहिले रूपातालमा २२ लाख ७० हजार क्युबिक मिटर पानी छ। परियोजना बनेपछि ७८ लाख ६० हजार क्युबिक मिटर पानी हुने भट्टराईले बताए।

यस्तै तालका हालको गहिराइ ३ देखि साढे ४ मिटरमात्र छ। परियोजनाले ६ देखि ९ मिटरसम्म  गहिराइ बनाउने योजना लिएको भट्टराईले बताए। उनका अनुसार तालको चौडाइ हाल रहेको ८५४ मिटरबाट परियोजना सकिँदा ८७४ मिटरसम्म फैलाउने योजना छ।

रूपा तालमा भने अहिलेसम्म बाँध बाँधिएको छैन। तालको क्षेत्रफलदेखि गहिराइ बढाउन यही परियोजनामार्फत् बाँध बाँध्न लागिएको परियोजना प्रमुख भट्टराईले बताए।

तालमा बाँध बाँधेर मात्र संरक्षण हुन सक्दैन। फेवातालमा वर्षेनी खहरे खोलाहरूले ल्याउने ढुङ्गा, गिटी, माटोलगायत बाढी र पहिरोले ताल पुरिने क्रम द्रुत छ यस्तै हालबाट जोगाउन रूपाताल संरक्षण एकीकृत परियोजनाले अहिले नै काम थालेको इञ्जिनियर कृष्णबहादुर बिकले बताए।

रूपातालको मुख्य पानीको स्रोत तालबेसी खोला, कुसुन्दी खोला, दोभान खोलालगायत खोला र खोल्साहरूमा चेक ड्याम बनाउन थालिएको छ। हालसम्म ६१ वटा चेक ड्याम बनाएको इञ्जिनियर बिकले बताए। जाधार क्षेत्रमा गएका पहिरो रोक्न बायो-इञ्जिनियरिङ गरिएको छ भने खोला नियन्त्रण गर्न तालदेखि २ किलोमिटरसम्म किनारामा बाँध लगाएको छ।

Facebook Comment

छुटाउनुभयो कि?