हिउँले ढाकियो पर्यटकीय क्षेत्र खप्तड

पर्यटन बजार२४ माघ २०७७, शनिबार मा प्रकाशित

हिउँले ढाकियो पर्यटकीय क्षेत्र खप्तड

माघ २४ , काठमाडौँ। सुदूरपश्चिमको प्रमुख धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड हिउँले ढाकिएको छ । खप्तड क्षेत्रमा बिहीबारदेखि बाक्लो हिमपात भएको छ । हिउँले खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको छ । हिउँले ढाकिएका खप्तडमा डाँडाकाँडा रमणीय देखिएका छन् ।

हिउँ करिब आधा फिट जति परेको खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए । हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको उनको भनाइ छ ।

हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउ लगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् ।

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तडका २२ वटा घाँसे पाटन हिउँले सताम्मे छन् । सुन्दर घाँसे मैदानसहित खप्तडको वरिपरि रहेका ५३ वटा थुम्का पनि सेताम्मे देखिन्छन् ।

Facebook Comment

छुटाउनुभयो कि?