हिमालको काखमा सुन्दर हेलम्बु (तस्बिरमा)

पर्यटन बजार२५ मंसिर २०७६, बुधबार मा प्रकाशित

हिमालको काखमा सुन्दर हेलम्बु (तस्बिरमा)

मंसिर २५,सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका भौगोलिक तथा पर्यटकिय हिसाबले जिल्लाकै एक सुप्रसिद्ध स्थल हो । शेर्पा समुदायको बाहुल्यता रहेको सो स्थानमा उच्च पर्यटकीय सम्भावना रहेको छ। पर्यटकीय छेत्रमा आफ्नो छुट्टै पहिचान बोकेको हेलम्बुका सबै पर्यटकीय स्थल लोभ लाग्दा छन्। बिशेष पदयात्रीहरुको प्रमुख गन्तब्यको रोजाइमा पर्ने हेलम्बुमा साना ठुला गरेर थुप्रै पदयात्राको रुटहरु यो क्षेत्रमा रहेको पाइन्छ। हिमालको काखमा रंगिन बनजंगल र उबडखाबड भूगोल, स्वच्छ र सफा खोला, झरना, र शेर्पा (ह्योल्मो) संस्कृति त्यहाँको मुख्य आकर्षण हुन भने सिन्धुपाल्चोक जिल्लामा नै बढी स्याउ उत्पादन हुने स्थान पनि हेलम्बु हो। यस ठाउँमा बिभिन्न समयमा धार्मिक गुरुहरुले ध्यान गर्ने गरेको र त्यति बेला धार्मिक गुरुहरुले यस क्षेत्रको भ्रमण समेत गरेको किम्बदन्तीहरु पाइन्छ ।

   

अधिकांश भुभाग पहाड र सुन्दर डाँडा पाखाले भरिएको यस गाउँपालिका समुन्द्री सतहबाट करिब १००० मिटर को उचाई देखि उच्च ५००० मिटर सम्मको भुभाग पर्दछ । हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणिय जुगल हिमालको सन्निकट याङरीमा डाँडाको काखमा रहेको छ । मुलुकको एक सय गन्तव्य भित्र पर्न सफल हेलम्बु प्राकृतिक रुपमा निकै सुन्दर साथै चिसो हावापानी मनोरम हिमश्रृङ्खला आदिले ‘स्वर्गकै टुक्रा’ भन्दा पनि फरक पर्दैन । आमा याङ्री, मेलम्चीघ्याङ, तार्केघ्याङ, ककनी, घोप्टेघ्याङ, तापाखर्क, ठाडेपाटि लाङटाङ हिमाल ट्रेक यहाँका प्रमुख पर्यटकीय केन्द्र हुन् । यसबाहेक ऐतिहासिक महत्व गुम्बा (घ्याङ), माने, गुफा पनि थुप्रै छन् । यहि सुन्दरता र पर्यटकिय स्थलको कारण पहिलो पटक पुग्ने सबै आन्तरिक, बाह्य पर्यटकको मन जित्न सफल छ हेलम्बु।

सुन्दर भएपनि हिमाली भेगको कारण पातलो बस्तीहरु मात्र देख्न पाइन्छ हेलम्बुमा। अझै २०७२ सालको भुकम्पपछि त बस्तीहरु मान्छेको कमीले अत्यासलाग्दो भएका छन् । कतिपय स्थानीयहरू भुकम्पपछि शहर पसेका छन् भने आफ्नो थातथलो, सभ्यता र संस्कृतिलाई माया गर्ने जागरुक स्थानीयवासीहरु अझै पर्यटकहरुलाई स्वागत गर्न व्यस्त देखिन्छन। उनीहरुको पर्यटकलाइ गर्ने स्वागत, सम्मान र अपनत्वको भावनाले पनि हेलम्बुमा पुग्ने पर्यटकको मन फुरुंग हुन्छ। भुकम्पमा परम्परागत घरहरु, गुम्बाहरु भत्किएपछि भर्खरै निर्माण हुदै छन् आधुनिक घरहरु, बिस्तारै उभिंदै र तङ्ग्रिंदै गरेको दृश्य मनमोहक भएपनि पुराना संरचनाहरुको डोब र डामले मन कटक्क खाने स्थानीयहरु बताउछन।

बाटोघाटो
हेलम्बुले बेहोरिरहेको सबैभन्दा ठूलो हैरानी बाटोघाटोको नै हो । काठमाडौंबाट तिम्बुसम्म दैनिक १०–१२ वटा बस चलिरहेका भएपनि ककनी, घाङ्गेल ,तार्केघ्याङ, नाकोते, हुदै मेलम्ची घ्याङ सम्म दिनको एउटै मात्र बस जाने गर्दछ त्यो पनि हिउँद मा मात्र । बिहान ८ बजे नारायणटार बाट छुट्ने बस अधिकांश बाटा साँघुरा, ठाडा, भिराला, पक्की पुलको अभाव भएकोले लामो दुरी (करिब ८० किलोमिटर) नभएतापनि रात परेपछि मात्र गन्तव्यमा पुग्ने गरेको छन् भने एउटा मात्र बस चल्ने हुनाले यात्रु धेरै भइ जोखिमयुक्त यात्रा गर्न बाध्य छन् ।

 

स्थानीयको सहज जीवनपायन र पर्यटकहरुको सहज आवतजावतका लागी हेलम्बुमा बाटो सजिलो बन्नु असाध्यै जरुरी छ । त्यससंगै पदमार्गलाई पनि व्यवस्थित गरिनुपर्छ । पदयात्राको प्रख्यात ठाउँ भएपनि आवश्यक पूर्वाधारहरु (संकेतपाटी) पर्याप्त नभएकाले नयाँ पर्यटकहरु बाटोको कारण उल्झनमा पर्ने गर्दछन, पहिले बनेका पदमार्ग मोटर बाटो पुगेपछि बीच बिचमा छुट्टिएका छन् तर कुनै संकेत नहुनाको कारण पर्यटकहरुलाई धेरै सडक बाटो घुम्न पर्ने बाध्यता भएको छ।

कसरि पुग्ने ?
काठमाण्डौ बाट करिब ८० किलोमिटर दूरीमा रहेको हेलम्बु पुग्न नारायण टारबाट हिउँदमा बिहान ८:३० बजे सार्बजनिक यातायात पाउन सकिन्छ। त्यहाँबाट हेलम्बु मेलम्चीघ्याङ पुग्न लगभग ८/१० घण्टा लाग्ने गर्दछ भने  पदयात्रामा रमाउने पर्यटक तिम्बुबाट नै पैदल हिँड्छन् । त्यहाँबाट चार–पाँच घन्टाको पदयात्रापछि तार्केघ्याङ पुगिन्छ । यो पदमार्गबाट हिँडेर झरना र प्राकृतिक सुन्दरतालाई निहार्दै तार्केघ्याङ मेलम्चीघ्याङ, आमा यांग्री, शेर्माथाङ पुग्न धेरै पर्यटकहरू लालायित हुने गर्छन् ।

 

 

Facebook Comment

छुटाउनुभयो कि?