हिमालपारि ढकमक्क फापर

पर्यटन बजार१४ भाद्र २०७७, आईतवार मा प्रकाशित

हिमालपारि ढकमक्क फापर

भदौ १४ , काठमाडौं । हिमाली जिल्ला मनाङमा फापर खेती फस्टाउँदै गएको छ । धान, मकै र कोदो नफल्ने यहाँ फापर खेती राम्रो हुन थालेपछि किसानहरु हौसिएका छन् । फापरले उनीहरूलाई आत्मनिर्भर पनि बनाएको छ । यहाँका सबै गाउँपालिकाका किसानले फापर खेती गरेका छन् । मनाङको मनाङ ङिस्याङ, चामे, नासों गाउँपालिकाकाे साथै नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्र नार र फु बस्तीबाहेक तल्लो क्षेत्रमा फापर खेती राम्रो हुने गरेको स्थानीय विनोद गुरुङले बताए ।

मनाङमा यस वर्ष २ सय ९६ हेक्टर क्षेत्रफलमा फापर खेती लगाइएको छ । गतवर्ष २ सय ९२ हेक्टर क्षेत्रफलमा फापर खेती लगाइएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । आर्थिक वर्ष ०७४/७५ मा २ सय ८६ हेक्टर क्षेत्रफलमा फापर खेती लगाइएकोमा ५ सय ८ टन फापर उत्पादन भएको थियो । आर्थिक वर्ष ०७३/७४ मा २ सय ८६ हेक्टरमै खेती गरिएकोमा ५ सय २ टन उत्पादन भएको थियो ।

तल्लो मनाङभन्दा निस्याङ भ्यालीले चिनिएको माथिल्लो मनाङमा यसको खेती बढी हुने गरेको छ । स्थानीयले यसलाई पर्यटनसँग जोड्दै खेती गरिरहेको पिसाङका याङडुङ गुरुङले बताए । ‘हामीले खेती गर्दै आएको फापर यहाँको रैथाने हो, अर्गानिक हो,’ उनले भने, ‘यहाँ आउने पर्यटकलाई खुवाउँछौं । उनीहरू विशेष रूपले मन पराउँछन्।’

फापरको पिठोबाट तयार पारिएको ढिंडो र रोटी पोषिलो हुने स्थानीय बताउँछन् । गुरुङका अनुसार होटल व्यवसायीमा आबद्ध स्थानीयले प्रायः फापरको खेती गर्ने गरेका छन् ।

अन्नपूर्ण पदमार्ग भएकाले यहाँका धेरै जनाले होटल सञ्चालन गर्दै आएका छन् । यसबेला माथिल्लो मनाङमा फापर फुलिसकेको छ । पर्यटकले फापरको परिकारमात्रै नभएर फापर खेतीलाई पनि मन पराउने गरेका छन् ।

यहाँको फापर पुरानो रैथाने जातको हो । तराईमा तीते फापर र हिमालमा मिथे फापरको खेती हुने गर्छ ।  मनाङमा विगतका वर्षहरुमा यहाँको लोभलाग्दो फापर खेती हेर्न आन्तरिक र बाह्य पर्यटकहरू आउने गरे पनि यसवर्ष भने कोरोनाका कारण पर्यटक पुग्न सकेका छैनन् ।

समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिबेला फापरले सबैको मन तानेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हेक्वा मनाङका डिएसपी होमनाथ पन्थीले बताए ।

तल्लो क्षेत्रको नासों-१ ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ-९ खाङसारसम्म फापर खेती फैलिएको देख्न सकिन्छ । स्थानीयले प्राय: जेठ अन्तिम साता देखि असारसम्ममा बीउ छर्ने गर्छन भने भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज अन्तिम सातादेखि कात्तिकसम्ममा फापर काटेर थन्क्याउने गरिन्छ।

Facebook Comment

छुटाउनुभयो कि?