हिमाल चढ्न चार्टर्ड जहाजमा आउँदैछन् बहराइनका राजकुमार, मन्त्रिपरिषदले दियो अनुमति

पर्यटन बजार१६ भाद्र २०७७, मंगलवार मा प्रकाशित

हिमाल चढ्न चार्टर्ड जहाजमा आउँदैछन् बहराइनका राजकुमार, मन्त्रिपरिषदले दियो अनुमति

भदौ १६, काठमाण्डौ। सरकारले बहराइनका राजकुमारसहित १५ जना बहराइनी र ३ जना ब्रिटिस नागरिकलाई नेपाल आउनका लागि चार्टर्ड फ्लाइट अनुमति दिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले उक्त निर्णय गरेको हो। बहराइनका राजकुमारसहितको १८ जनाको टोली मनास्लु र लोवुचे हिमाल आरोहणका लागि नेपाल आउन लागेका हुन्। बहराइनका ३३ वर्षीय राजकुमार शेख नसिर बिन हमाद अल खालिफाको टोली सेप्टेम्बर १५ मा काठमाडौं आइपुग्ने बताइएको छ।

बहराइनका राजकुमारको टोली नेपाल आएर हिमाल आरोहण गरेमा लकडाउनपछिको पहिलो हिमाल आरोहण दल हुने छ। अनुमति नपाएका विदेशी नागरिक र नियमित उडान बन्द गरेकाले हिमाल आरोहण अहिलेसम्म ठप्प छ।

नेपालीहरूका लागि भने अनुमति लिन तथा हिमाल आरोहण गर्नका लागि कुनै पनि बन्देज छैन। तर अहिलेसम्म कुनै पनि नेपाली कार्यदलले हिमाल आरोहणका लागि अग्रसरता नलिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए।

Facebook Comment

छुटाउनुभयो कि?