हिमाल मेरो साथी र म हिमालको साथी जस्तै लाग्छ – रमेश कार्की

पर्यटन बजार१९ मंसिर २०७६, बिहीबार मा प्रकाशित

हिमाल मेरो साथी र  म हिमालको साथी जस्तै लाग्छ – रमेश कार्की

मंसिर १९ ,काठमाडौँ। ग्रेट हिमालय ट्रेल नेपालको पूर्वदेखि पश्चिमसम्म हिमाली भेग तथा उच्च पासहरू तरेर पुरा गरिने पदयात्रा हो । नेपाल खण्डमा रहेको र, लगभग १७ सय किलोमिटर लामो उच्च हिमाली क्षेत्रको पदयात्रा मार्गलाई नै आजभोलि अंग्रेजी भाषामा ‘ग्रेट हिमालयन ट्रेल भनी चिनिन्छ। प्रस्तुत छ हिमालय ग्रेट ट्रेल २०१९ मा सहभागी भएर फर्किएका रमेश कार्कीसंग गरिएको कुराकानी :

के हाे ग्रेट हिमालय ट्रेल ?
नेपालको पूर्वी भेगको कञ्चनजंघादेखि सुदूरपश्चिमको दार्चुलासम्मको उच्च हिमाली क्षेत्र हुँदै गरिने ट्रेकिङ रुटलाई नै ‘ग्रेट हिमालयन ट्रेल भनी चिनिन्छ। ग्रेट हिमालय ट्रेल, उच्च पहाडी र हिमाली भाग भएर पूर्वमा कञ्चनजङ्घा नर्थ आधार शिविर (५,१४७ मि.) बाट सुरु भएर हुम्लाको हिल्सा (३,६४७ मि.) पुगेर सकिन्छ । मेरो ग्रेट हिमालय ट्रेलको यो पहिलो अनुभव हो , जुन रोमान्चक संगै निकै चुनौतिपूर्ण समेत रहेको छ।

ग्रेट हिमालय ट्रेलको क्रममा भोग्नुपरेको दुखलाई बयान गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
यस ट्रेलमा हाम्रो ४ जनाको टिम सहभागी थियो, जसमा एक जना बिदेशी नागरिक जेम्स भन्ने हुनुहुन्थ्यो। एकदमै जुझारु तथा मेहेनती हुनुहुन्थ्यो उहाँ , सुरुवाती चरणमा त यात्रा रोमान्चक नै थियो , तर दिन बढ्दै जाँदा , यात्रा लम्बिदै जाँदा , धेरै दुखहरु पनि भयो। कतिपटक त अनुहारको छाला नै उकिएर फेरिन्थ्यो। यात्राको क्रममा २ दिन सारै आतिएका थियौं हामी , एकदमै कुहिरो लागेको थियो , बाटो कतै नदेखिने , अन्दाजमा केहि समय त हिड्यौ तर लामो समय हिड्न गाह्रो भएर क्याम्प लगाएर बस्यौं। भोलिपल्ट बिहान ५ बजे यात्रा सुरु गर्यौं फेरी पनि हिउँ र कुहिरोले गर्दा पुन ६ बजे नै क्याम्प बस्ने अवस्था आयो। यस्तै भइरहयो भने यात्रा कसरी पार गर्ने भनेर हामी डराएका थियौं।हामीले १२८ दिन लगाएर (१५ मार्च देखि २० जुलाई सम्म ) १८ सय किलोमिटर पार गरेका थियौं।

ग्रेट हिमालय ट्रेल जस्तो लामो र चुनौतीपूर्ण यात्रा सकेर फर्किनु भएको छ , तपाई ट्रेकिङ क्षेत्रमा लाग्नुभएको चाहीं कति समय भयो ?
ट्रेकिङ क्षेत्रम लागेको यती नै बर्ष भन्ने छैन , किन की मेरो जन्म नै सोलुख्म्बुमा भएको हो , जहाँ पहिले देखिनै पर्यटकको चहलपहल राम्रै हुन्थ्यो। सानै देखि पर्यटकको भारि बोकेर हिड्न रहर लाग्थ्यो र गइन्थ्यो पनि , राम्रै संग यस क्षेत्रमा लागेको चाहीं ५ बर्ष भन्दा बढी भइसकेको छ।

हिमालकै काखमा हुर्किनु भयो , एकदमै सुन्दर र चहकिला हिमाललाई परबाट नियाल्नु र हिमाल नजिक पुग्नु मा कती को फरक पाउनुहुन्छ ?
हिमाल सुन्दर छन् , दांतका पंक्ति जस्तै मिलेका छन् , र हँसिला पनि छन्। टाढा बाट नियालेर खुशी हुन् सजिलो भएता पनि हिमाल मै पुग्न एकदमै कठिन छ। धेरै चुनौतीहरुलाई पछाडी छाडेर अघि बढ्नु पर्ने हुन्छ , कतिपटक त आतिएर रुन समेत आउँछ भने कतिपटक त अब म जीवित फर्किन्न होला जस्तो भान पनि हुन्छ। तर हिम्मत छाड्नु हुन्न ,पुगेरै छाड्छु भन्ने अठोट लिनुपर्छ।

ट्रेकिङ जाँदा सिक्न पाइने कुराहरु के के होलान ?
ट्रेकिङको विशेषता भनेको भौगोलिक तथा जैविक विविधताको अलवा मानवीय तथा सांस्कृतिक विविधता पनि हो । ट्रेकिङ गर्दा क्रमशः हरियाली कम हुँदै जान्छ, फरक प्रकारका वनस्पतिहरू देखा पर्छन् । बिस्तारै उजाड र मरुभूमि जस्ता क्षेत्रहरू पनि देखिन थाल्छ । संस्कार, संस्कृति, भेषभुषा, बेलीचाली पनि फरक हुन थाल्छ । ट्रेकिङका क्रममा बिभिन्न हिमालहरु समेत देख्न पाइन्छ । ब्राम्हण , क्षेत्री , गुरुङ , तिब्बती र शेर्पा संस्कृतिहरूलाई अवलोकन गर्ने मौका पाइन्छ ।

ट्रेकिङ क्षेत्रमा लाग्न चाहने युवाहरुलाई के सल्लाह दिन चाहनुहुन्छ ?

ट्रेकिङ क्षेत्र हाल फेसनको रुपमा अघि आएको छ। यसलाई फेसन सम्झिनुहुन्न। ट्रेकिङमा भविष्य राम्रो छ तर खतरा र चुनौती पनि त्यतिक्कै छ। आफु संगै आफ्नो टिमको जिम्मेवारी लिन सामर्थ्य हुनु अति जरुरि छ , आत्तिने , हडबढिने स्वभाव हुनुहुँदैन , त्यसो हुँदा आफुसंग गएका पर्यटकहरु पनि डराउछन्। आजका युवा जो यस क्षेत्रम लाग्न चाहनुहुन्छ , यो क्षेत्र राम्रो छ तर पर्याप्त मात्रामा अनुभव संगालेर , तालिम लिएर मात्र आउनुहोला भन्न चाहन्छु।

हिमाल संगको तपाइको सम्बन्ध ?

सानै देखी हिमाल संग लुकामारी गरेर हुर्किएर होला मलाई त हिमाल मेरो साथी र म हिमालको साथी जस्तै लाग्छ।

Facebook Comment

छुटाउनुभयो कि?