हिरण्यवर्ण महाविहार – जहाँ शाक्य बुद्ध संगै मुसा को पुजा गरिन्छ !

पर्यटन बजार२६ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

हिरण्यवर्ण महाविहार – जहाँ शाक्य बुद्ध संगै मुसा को पुजा गरिन्छ !

मंसिर २६ ,काठमाडौँ। वरिपरि बाक्लो बस्ती बीचमा सुन्दर मन्दिर । बाहिर बाट हेर्दा घरका छाना मात्र देखिने स्थानमा त्यति एतिहासिक मन्दिर होला भन्ने कुरा सोच्न पनि सकिदैन।जव भित्र छिरिन्छ तव लाग्छ म कुन संसारमा आइपुगे। त्यो क्षेत्र हो ललितपुर पाटनमा अवस्थित हिरण्य वर्ण महाविहार !

नेपालकै सबै बौद्धविहारमध्ये सुन्दर मानिने गोल्डेन टेम्पल अर्थात् हिरण्यवर्ण महाविहार त्यस क्षेत्रको आकर्षण नै हो । नेपालको ललितपुर जिल्लाको क्वाबहालमा अवस्थित लोकेश्वर (गौतम बुद्ध)को स्वर्ण जडित पेगोडा शैलीयुक्त विहार हो। तिनतल्ले हिरण्यवर्ण महाविहारको निर्माण राजा भाष्करदेव बर्माले १२ औँ शताब्दि तिर गराएका थिए।

स्वर्ण जडित भएकोले अङ्ग्रेजीमा गोल्डेन टेम्पल(Golden Temple) र नेपाल भाषामा यसलाई क्वाःबहाः भनिन्छ। यो महाविहार उपत्यकाको तेस्रो पुरानो महाविहारमा पर्दछ । यो सबैभन्दा बढी संङ्घ(सदस्य) भएको महाविहार हो ।

मुसालाई  किन मानिन्छ ?

धेरैले मुसा भगाउनका लागि अनेक उपाय लगाइरहँदा कुनै ठाउँमा मुसा संरक्षण गरिन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । काठमाडौँ उपत्यकामा नै एउटा त्यस्तो मन्दिर छ जहाँ मुसाका लागि दैनिक खानेकुरा छुट्याउने गरिन्छ । पाटन दरबार क्षेत्र नजिकै रहेको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) त्यस्तो धार्मिकस्थल हो जसको नाम पनि मुसाको नामबाट राखिएको र मुसालाई दैनिक खान्की छुटाइन्छ । मन्दिरमा रहेका ती मुसालाई कुनै दिन खाना खुवाउन बिर्सियो भने यहाँका पूजारी (बाफाचा) लाई सञ्चो नहुनुका साथै मन्दिरको कुनै न कुनै वस्तु हराउँछ भन्ने मान्यता छ।

शाक्यमुनि बुद्ध विराजमान भएको गण्डक कुटी नामको कोठामा मुसाका लागि दैनिक खानेकुरा छुुट्याइने गरेको हो । साँझको नित्य पूजापछि मुसाका लागि खान्की राखेर कोठा बन्द गरिन्छ । महाविहारका मुसा पहिलेदेखि अहिलेसम्म नै शान्त र ज्ञानी स्वभावको भएको यहाँका बासिन्दा बताउँछन् । मन्दिरको रोमाञ्चक पक्ष त विहारका मुसाहरू मन्दिरभित्र कहिल्यै मर्दैनन्, मर्नुपरेमा बाहिर देखिने ठाउँमा आइपुग्छन्।

को बस्छन् पुजारी ?

बौद्ध धर्मालम्बीको विशेष विहार यहाँ भगवान बुद्धको मात्र होइन, मुसाको पनि पूजा गरिन्छ । मन्दिरमा एकजना पाका व्यक्ति र एकजना बालक गरेर दुईजना पुजारी रहन्छन् । जसमध्ये बालक मुख्य र पाका व्यक्ति सहायक पुजारी हुन् । ती पुजारीलाई भनिन्छ– वाफाचा ।

शाक्य र बज्राचार्य समुदायबाट वाफाचाहरु छानिन्छन्, त्यसैले यो महाविहारको सदस्य भएका सबै परिवारका पुरुष सदस्यहरु एकपटक वाफाचा बन्नै पर्छ । तर, वाफाचा बन्नका लागि सबैभन्दा पहिलो र अनिवार्य नियम हो– १२ वर्ष कटेको हुनुहुँदैन ।

खासमा ठूलो वाफाचाको काम सानो वाफाचालाई सहयोग गर्ने मात्र हो । अधिकांश पूजा त सानो वाफाचाले नै गर्नु पर्ने हुन्छ । सानो वाफाचाले यो मन्दिरमा विहानदेखि साँझसम्म चारपटक धर्मकन्थ बजाउँछन् । धर्मकन्थ काठको बाजा हो, जसले यो विहारका सदस्यहरुलाई विभिन्न समयबारे जानकारी दिन्छ । त्यसैले विहान साढे चार बजे र नौ बजे बजाउने धर्मकन्थलाई उनीहरु माहाजं भन्छन् भन्ने दिउँसो तीन बजे र पाँच बजे धर्मकन्थ बजाउँदै वाफाचा जाँदा यसलाई संवनीगु भनिन्छ ।

यो एक महिना वाफाचाले नुन खान पाउँदैनन् । पकाउन त उनलाई चामलको भात नै पकाइन्छ, तर तरकारी पकाइँदैन । तरकारी पकाएकै खण्डमा पनि त्यसमा नुन हालिँदैन । र, यसमा विशेष नियम छ– वाफाचाका लागि पकाइने चामलको एउटै गेडा टुटेको हुनुहुँदैन । र, यसको सबै बन्दोबस्त वाफाचाको घरबाट नै गरिन्छ ।वाफाचाका लागि मात्र यो नियम होइन, उनको घरका अन्य सदस्यका लागि पनि एक महिने नियम लागु हुन्छ ।

यस विषयमा विभिन्न किवंदन्तीहरु !

लिच्छवि राजा भाष्करदेवका पालामा आजु चक्रेश्वर दैनिक गुह्येश्वरीको दर्शनका लागि जान्थे । जाडोका बेला एक दिन उनी बाटो बिराएर भग्नावशेष भएको पिंगला विहार पुगे । त्यहाँे एउटा चैत्य देखेपछि उनी दैनिक त्यहाँ जान थाले । आजुले एक दिन सपनामा त्यस ठाउँमा भगवान् बुद्धले आफ्ना मूर्तिहरु पुरिएको र त्यसलाई प्रतिस्थापना गर्दा पुण्य मिल्ने थाहा पाए । राजा भाष्करदेवलाई उनले यो कुरा सुनाए । राजाले मूर्ति भएको स्थान उत्खनन गरेर शङ्खमूलबाट पाटन भित्र्याए तर मन्दिर नबनिरहँदासम्म त्यसलाई तत्काल न्याः चुकमा राख्ने र आजुले दैनिक पूजा गर्ने कुरा बताए । त्यसपछि राजाले नयाँ विहार (न्याः बहा) बनाएर उक्त मूर्र्ति त्यहाँ सारेका थिए ।

एकदिन राजालाई भगवान् बुद्धले सपनामा आफूलाई नयाँ विहार भन्दा पनि रत्न चैत्यमा लैजाँदा पुण्य हुने भनी हिरण्यिक मुसा बास बसेको स्थानमा जान इच्छा देखाएकाले राजाले यस विषयमा ज्योतिषसँग सल्लाह गरे । ज्योतिषहरुले सुनौलो वर्ण र हिरा जस्तै टल्कने आँखा भएको मुसा स्वयम्भू रत्न चैत्यको पश्चिम दिशामा रहेको प्रमाणित गरे । सोहीअनुसार यस ठाउँमा हिरण्यवर्ण महाविहार बनाइएको हो ।राजा भाष्करदेवले नेपाल संवत् १६५ देखि १६७ सम्म दुई वर्ष लगाएर मन्दिर बनाएको इतिहासमा उल्लेख छ ।

  • ६ सय वर्षअघिको कुरा हो । जयस्थिति मल्ल पाटनका राजा बने । जयस्थिति मल्ल पाटनको राजा बन्ने समयमा उपत्यकामा बुद्ध भिक्षुहरुको बाहुल्यता निकै थियो । अनि बौद्ध विहारमा चिवर (सेतो लुगा) धारण गरेका शाक्य भिक्षुहरु सधैं पूजा गर्न आउँथे । तर, जयस्थिति मल्ललाई यही कुरा चित्त बुझेन । उनी चिवर धारण गरेका पुजारीहरु आजीवन ब्रह्मचारी बस्थे । जयस्थिति मल्लले यसलाई रोक लगाउने सोचे । अनि उनले ती भिक्षुहरुलाई विहारमा पूजा गर्न जान रोक लगाए । तर, यसले उनले सोचेको जस्तो नतिजा दिएन । उल्टै अहिलेको गोल्डेन टेम्पलमा पुजारीको सर्टेज हुन थाल्यो । त्यसपछि त्यहाँ उपाय निकालियो– १२ वर्ष कमका बालकहरुलाई चिवर धारण गराउने अनि पूजा गर्न लगाउने ।

त्यहीबेला देखि अहिलेसम्म गोल्डेन टेम्पलमा १२ वर्षमुनिका वाफाचाले पूजा गर्न थालेका छन् । नेवारी शब्द वाफाचाको ठेट अर्थ चाहिँ वहालमा पालो गरेर बस्ने मान्छे हो ।

अनि महिनैपिच्छे वाफाचा परिवर्तन गर्ने प्रचलन बनाइएको छ । यसो गर्दा यो महाविहारका सदस्यका रुपमा रहेका सबै परिवारका ‘छोरा’हरुले कम्तिमा पनि एकपटक वाफाचा बस्नै पर्ने हुन्छ । अहिलेको अवस्थालाई हेर्ने हो भने यसरी वाफाचा राख्दा पनि एउटा परिवारमा ५२ वर्षपछि मात्र पालो आउँछ ।

किराँतकालमा बनेको यो महाविहारको उल्लेख्य विशेषता के भने यसमा अहिले पनि त्यति बेलाको संस्कार र संस्कृति केही पनि हेरफेर नगरि जीवितै राखिएको छ ।

कसरी पुग्ने ?

ललितपुर पाटनको प्रसिद्ध मन्दिर हो, कृष्ण मन्दिर । यो मन्दिरको पछाडिबाट सानो गल्लीबाट बंगलामुखीतिर जाँदा बाटोमै पर्छ, हिरण्यवर्ण महाविहार ।

 

Facebook Comment

छुटाउनुभयो कि?