होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराइने

पर्यटन बजार४ भाद्र २०७७, बिहीबार मा प्रकाशित

होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराइने

भदौ ४,काठमाडौँ। टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराउने भएको छ ।
नगरप्रमुख प्रकाश अधिकारीका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिले होम क्वारेन्टिनमा बस्न चाहेमा स्वास्थ्य शाखाको सिफारिस अनुसार सन्तुलित भोजनबापत प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो।

कार्यपालिका बैठकले वडा नम्बर २ मा अवस्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ३० देखि ४० बेडको आइसोलेसन कक्ष बनाउने निर्णय भएको नगर प्रमुख अधिकारीले बताए । नगरप्रमुख अधिकारीले भने, ‘नगरभित्र अहिलेसम्म ७७ जना संक्रमित भेटिएका छन् । २३ जना होम आइसोलेसनमा बसेका छन् भने २५ जना अस्पतालमा छन् । अन्य डिस्चार्ज भएर घर गइसकेका छन् । तर संक्रमित बढ्दै गएमा सोही प्राथमिक केन्द्रमा ९० बेडको आइसोलेसन बनाउने तयारी भइरहेको छ ।’

नगरपालिकाभित्र आइसोलेसन सेन्टर निर्माण तथा व्यवस्थापनका लागि उपप्रमुख ज्ञानमाया डंगोलको संयोजकत्वमा ९सदस्यीय समिति समेत गठन गरेको उनले बताए ।

कोरोना संक्रमित बढेमा उनीहरुलाई राख्नका लागि वडा नं १ को सामुदायिक भवन, ६ को सामुदायिक अध्ययन केन्द्र, ९ को पिस बैंक्वेट, ११ को सामुदायिक भवन, ९ को नेवाः पुछः सामुदायिक भवन, वडा नं ७ को राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवन प्रयोगमा ल्याउने बारेमा गठित समितिले अध्ययन गर्ने उनले बताए ।

Facebook Comment

छुटाउनुभयो कि?