पर्यटन बजार२८ भाद्र २०७७, आईतवार मा प्रकाशित
भदौ २८ ,काठमाडौँ। पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको जहाज नारायणहिटी दरबार संग्रहालयमा राखिएको छ। शनिबार साँझ जहाजलाई क्रेनले तानेर संग्रहालयमा पुर्याइएको हो। विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली हुँदै जहाज संग्रहालयसम्म पुर्याइएको थियो।
दुई वर्षदेखि थन्किएको एभ्रो कम्पनीको यो जहाज ४६ वर्षअघि बेलायतबाट ल्याइएको थियो। ‘दुई वर्षदेखि यो जहाज ग्राउण्डेड थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नारायणहिटी संग्रहालयसँग समन्वय गरेर त्यहाँ लगिएको हो,’ सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने,’४ टुक्रा बनाएर क्रेनले तानेर संग्रहालयसम्म लगिएको छ। भित्र लगेर जडान गरिसकेपछि यसको अवलोकन खुला गरिन्छ।’
लामो समयसम्म राजपरिवारले प्रयोग गरेको यो जहाज पछिल्लो समय सेनाले प्रयोग गर्दै आएको थियो। राजदरबारसँग सम्बन्ध रहेकाले यो जहाजलाई नारायणहिटी संग्रहलायमा राखिएको सेनाले जनाएको छ। पूर्वराजपरिवारले प्रयोग गर्ने हेलिकोप्टर यसअघि नै संग्रहालयमा राखिसकिएको छ।
सेनासँग अहिले भएका १३ हेलिकप्टर र ६ वटा जहाजमध्ये ५ हेलिकप्टर र ४ जहाज सञ्चालनमा छन्। सेनाले सैनिक प्रयोजनबाहेक विपत्तिका बेला उद्धार र अति विशिष्टको प्रयोगमा उडान सेवा दिँदै आएको छ। सेनाको २ वटा एयरवेस रहेका छन्। हरेक प्रदेशमा एयर वेस सञ्चालन गर्ने लक्ष्य लिएको सेनाले पश्चिम एयर वेस सुर्खेतमा र मध्य एयर वेस काठमाडौंमा सञ्चालनमा ल्याएको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit