५० वर्षमै सकिए विश्वका झन्डै ७० प्रतिशत जनावर

पर्यटन बजार२६ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

५० वर्षमै सकिए विश्वका झन्डै ७० प्रतिशत जनावर

भदौ २६, काठमाण्डौ। मानिसका क्रियाकलापले पछिल्ला ५० वर्षमा वन्यजन्तुको संख्या दुई तिहाइभन्दा बढीले घटेको छ। विश्व वन्यजन्तु कोषले हालै सार्वजनिक गरेको ‘द लिभिङ प्लानेट रिपोर्ट २०२०’ मा यही अवस्था निरन्तर रहे मानिसलाई पनि खतरा रहेको उल्लेख गरिएको छ।

‘अनुसन्धानबाट बाहिर आएका तथ्यहरू एकदमै स्पष्ट छन्,’ रिपोर्टमा भनिएको छ,’प्रकृतिसँग हाम्रो सम्बन्ध तोडिएको छ।’रिपोर्टका लागि संसारका विभिन्न ठाउँमा शरीरमा हाड हुने झन्डै ४ हजार ३ सय प्राणीहरू जस्तै; माछा, जनावर, चरा र उभयचरहरूको संख्या अध्ययन गरिएको थियो।

उक्त अध्ययनबाट सन् १९७० देखि २०१६ सम्ममा ती प्राणीहरूको संख्या औसतमा ६८ प्रतिशतले घटेको देखिएको छ। क्यारेबियन र दक्षिण अमेरिकासहितको अमेरिकी क्षेत्रमा त उनीहरूको संख्या ९४ प्रतिशतले घटेको छ।यसरी वन्यजन्तुको संख्या स्वाट्टै घट्नका पछाडिको मुख्य कारण खेतीका लागि वन जंगलको विनास गर्नु रहेको रिपोर्टमा उल्लेख छ। अहिले पृथ्वीको झन्डै एक तिहाइ जमिनमा मानिसले खेती गरिरहेका छन्।

मानिसका क्रियाकलापले भइरहेको जलवायु परिवर्तन वन्यजन्तुको संख्या घट्नुको अर्को प्रमुख कारण हो।

‘हामी यी प्रमाणहरूलाई नजरअन्दाज गर्न सक्दैनौं। वन्युजन्तुको संख्यामा भइरहेको यो गम्भीर गिरावटले हाम्रो प्रकृति उल्टोपाल्टो भइरहेको छ भन्ने संकेत दिएको छ र प्रणालीले नै काम गर्न नसक्ने अवस्था आउन सक्ने चेतावनी दिइरहेको छ, ‘ विश्व वन्यजन्तु कोषका महानिर्देशक मार्को लाम्बर्टिनीले रिपोर्टमा लेखेका छन्।८३ पृष्ठ लामो उक्त रिपोर्टमा मानवीय क्रियाकलापका कारण विश्वको जैविक विविधतामा तीव्र क्षति भइरहेको चेतावनी दिइएको छ। यसअघिका अन्य अध्ययनहरूले पनि यस्तै निष्कर्ष दिएका थिए।

गत वर्ष संयुक्त राष्ट्र संघले प्रकाशन गरेको रिपोर्टमा मानवीय गतिविधिका कारण संसारका ८० लाख विरूवा र जनावरमध्ये १० लाख प्रजातिका जनावर र विरूवा केही दशकभित्रै लोप हुने अवस्थामा रहेको उल्लेख गरिएको थियो। उक्त रिपोर्टमा प्रकृतिको प्रणाली कायम राख्न मानिसहरूलाई अरू प्राणीको पनि ख्याल राख्न अनुरोध गरिएको थियो।

‘जैविक विविधता जोगाउनु भनेको मानवता जोगाउनु हो’ उक्त रिपोर्ट सार्वजनिक कार्यक्रममा युनेस्कोका महानिर्देशक अउड्रे अजोलईले भनेका थिए।गत जुलाईमा प्रकाशित भएको राष्ट्रसंघको अर्को रिपोर्टले जैविक विविधताको नष्ट र मानिसले गरिरहेको प्रकृतिको दोहनले जनावरबाट मानिसमा सर्न सक्ने कोभिड-१९ जस्ता रोग बढ्ने चेतावनी दिएको छ। कोरोना महामारीको कारण संसारका केही भागमा गरिएको बन विनास पनि हो।

वैज्ञानिकहरूले धेरै पहिलादेखि नै मानिसले गरिरहेको बढ्दो वन्यजन्तुको खपत र जैविक इन्धनका कारण संसार छैठौं मास एक्स्टिंक्सनमा प्रवेश गर्न लागेको चेतावनी दिइरहेका छन्। विश्वव्यापी तापमानले पारिस्थितिक प्रणालीमा तीव्र गतिमा परिवर्तन ल्याउने र केही प्राणीले त्यसअनुसार आफूलाई रूपान्तरण गर्न नसक्ने उनीहरूको भनाइ छ।

वन्यजन्तुको तीव्र रूपमा घटिरहेको यो संख्यालाई पक्कै पनि रोक्न सकिन्छ। हालै नेचर जर्नलमा प्रकाशित एउटा लेखमा विश्व समुदायले जैविक विविधताको तीव्र रूपमा भइरहेको क्षतिको ग्राफलाई झार्न गर्न सकिने कदमबारे उल्लेख गरिएको छ। त्यसका लागि मान्छेहरूले ग्रिनहाउस ग्यासको उत्सर्जन कम गर्न सक्छन्, जमिन र समुद्रको ठूलो भागलाई संरक्षण गर्न सक्छन्, क्षति भएका ठाउँहरू पहिलाको जस्तै बनाउन सक्छन् र अहिलेको पारिस्थितिक प्रणालीमा पर्ने असर कम गर्न खाद्य उत्पादनलाई नयाँ तरिकाले विकास गर्न सक्छन्।

वन्यजन्तु कोषको रिपोर्टका लेखकहरूले धमाधम बढिरहेको मानिसको संख्या र पारिस्थितिक प्रणालीको क्षमतालाई तुलना गर्दै यी दुईबीच असन्तुलन रहेको उल्लेख गरेका छन्।

एजेन्सी

Facebook Comment

छुटाउनुभयो कि?