पर्यटन पारखीहरुको लागि उत्कृष्ट गन्तब्य भुटान

पर्यटन बजार२० भाद्र २०७७, शनिबार मा प्रकाशित

पर्यटन पारखीहरुको लागि उत्कृष्ट गन्तब्य भुटान

भदौ २०, काठमाण्डौ। भुटान दक्षिण एसियामा अवस्थित एउटा सानो देश हो जसको जनसंख्या करिब ९ लाख मात्र छ । यसको सीमा दक्षिण, पूर्व र पश्चिमतर्फ भारत र उत्तरतर्फ गणतन्त्र चीनको तिब्बतसँग जोडिएको छ। भुटान बिकसित देश नभएपनि सधै खुसि रहने देशमा भने अब्बल स्थानमा पर्दर्छ। भुटानको राजधानी थिम्पु हो । हिमालको काखमा अवस्थित भुटानमा ७६% बौद्ध धर्मावलम्बिहरुको बसोवास रहेको छ भने २४% हिन्दु धर्मवालाम्बिहरु रहेका छन्। भुटानलाई भारतको सिक्किम राज्यले नेपालसँग छुट्याएको छ। भुटानीहरूले भुटानलाई स्थानीय नाम འབྲུག་ཡུལ། ड्रुग युल अर्थात ड्रयागनको देश भन्छन्। यो देश मुख्यतः पहाडी छ र दक्षिणी भागमा थोरै समतल भूमि छ। भुटान सांस्कृतिक र धार्मिक रूपमा तिब्बत र नेपालसँग जोडिएको छ। सन् १६४४ मा वर्तमान राजाका पुर्खा शब्ड्रुङ ङगवाङ नामग्यालले भुटानको स्थापना गरेका थिए। भुटानको आधिकारिक भाषा जोङ्खा हो तर यहाँ अरू पनि धेरै भाषाहरू बोलिन्छन्। भुटानमा नेपाली भाषीहरूको पनि बाहुल्यता रहेको छ, त्यसैले यहाँ जोङ्खाका साथै नेपाली भाषा पनि व्यापक रूपमा बोलिन्छ।

पारो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेवित्तिकै थाहा हुन्छ भुटान पहाडै पहाडले घेरिएको सुन्दर मुलुक हो । प्रकृतिमा रमाउन चाहने पर्यटकका लागि भुटान उत्कृष्ट गन्तव्य हो । अग्ला डाँडा, साँघुरा भ्याली, साना-साना शहर, हिमाल, नदीनाला र वौद्ध संस्कृति भुटानको पहिचान हो । यही कुराहरुको प्रवर्द्धन गरेर भुटानले पर्यटनमा राम्रो उपलब्धि हासिल गरिरहेको छ ।पर्यटकीय सम्भावनाका हिसाबले नेपालभन्दा पछाडि रहे पनि भुटानमा महंगा पर्यटक घुम्न जाने गर्छन् । दैनिक न्यूनतम २५ हजार रुपैयाँ खर्च गर्न नसक्ने पर्यटकका लागि भुटानको ढोका प्रायः बन्द छ ।सीमित स्रोत साधनलाई उच्चतम उपयोग गरी आर्थिक विकासको बाटोमा अगाडि लम्किरहेको छ भुटान । भुटानको पारो भ्याली, टाइगर नेष्ट, राजधानी थिम्पु, पुनखा भ्याली, बुमथाङ भ्याली, विश्वको सबैभन्दा ठूलो बुद्ध मूर्ती, हाइड्रो पावर प्रोजेक्ट, अग्ला पहाड, जंगल लगायत पर्यटकीय आकर्षण हुन् ।

पर्यटकीय सम्भावना भएर मात्र हुँदैन, यसको सदुपयोग गर्न सकेमा मात्रै लाभ लिन सकिन्छ उदाहरण बनेको छ भुटान । करिव ७० प्रतिशत जनसंख्या कृषिमा आश्रति रहे पनि यहाँको अर्थतन्त्रको प्रमुख मेरुदण्ड जलविद्युत हो भने दोस्रोमा पर्यटन । भुटान ३६ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सानो मुलुक हो ।

भुटान गुम्बैगुम्बा भएको मुलुक हो । जहाँ गए पनि गुम्बा देखिने भुटानको प्रमुख पर्यटकीय आधार पनि यही हो । प्राचीन गुम्बाहरुले यहाँ बुद्धिष्ट पर्यटकलाई तान्न सफल भएका छन् । यहाँको सरकार आर्थिक विकासमा प्रतिवद्ध रहेको पाटा सम्मेलनमा प्रधानमन्त्री छिरिङ तोब्गेको मन्तव्य सुन्दा प्रष्ट हुन्थ्यो । हाइड्रो प्रोजेक्ट र पर्यटन विकासलाई भुटानी सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।भौगोलिक रुपमा नेपाल र भुटान लगभग उस्तै मुलुक हुन् । पर्यटकीय सम्भावनाका हिसाबमा भुटान भन्दा नेपाल कैयौं गुणा अगाडि छ । तर, नेपालको तुलनामा भुटानले पर्यटनमा कायापलट नै गर्न थालिसकेको छ ।

आफुसँग भएको सीमित स्रोतलाई भुटानले आकर्षक प्याकेज बनाएर विदेशी पर्यटकलाई बिक्री गरिरहेको छ । नेपालमा जस्तो लोकतन्त्र र गणतन्त्र नभए पनि भुटानमा सबैभन्दा ठूलो कुरा राजनीतिक स्थिरता छ । केबल आर्थिक विकासमा फड्को मार्नु सरकारको मूलमन्त्र रहेको देखिन्छ । राजाको शासन रहेको भुटानमा अधिकांश स्थानमा राजपरिवारको तस्वीर हेर्न पाइन्छ ।महिला र पुरुषले कार्यालय समयमा भुटानको राष्ट्रिय पोशााक (बक्खु) अनिवार्य लगाउनुपर्छ । कार्यालयबाट निस्किएपछि जुनसुकै पोशाक लगाए पनि हुन्छ । जसले गर्दा दिउँसो बाटो तथा कार्यालयमा अधिकांश मानिसहरु बख्खुमा देखिन्छन् ।

भुटानमाअर्को आकर्षण भनेको घरहरु हुन् ।अधिकांश घरहरु गुम्बाजस्ता देखिन्छन् । निजी घर, सरकारी कार्यालय, होटल, बुद्ध गुम्बा एउटै देखिने हुँदा पर्यटकलाई छुट्टाउन गाह्रो हुन्छ ।भुटानमा घरहरु जतिसुकै ठूला भए पनि प्यागोडा शैलीमा निर्माण गरिएका छन । सबै घरमा गुम्बामा जस्तै पेन्टिङ गरिएका छन् । भुटान सरकारले बनाएको यो नियम सबैले पालना गरेका छन् । यसो हेर्दा भुटानका शहर तथा घरहरु गुम्बालयजस्ता देखिन्छन् ।

भुटान घुम्न जाने पर्यटकले प्याकेज अनिवार्य किन्नुपर्ने हुन्छ सिजनमा २५ हजार र अफसिजनमा २० हजार रुपैयाँको प्याकेज किन्दा पर्यटकले थ्रि स्टार होटलमा बसोबास तथा खानपिन, गाइड, यातायातको सुविधा पाउँछन् । त्योभन्दा बढी सुविधा खोजेमा रकम बढ्दै जान्छ । भुटानमा एक रातको डेढ लाख रुपैयाँसम्म तिर्नुपर्ने होटल रहेको हुँदा महंगा पर्यटकले दैनिक दुई लाख रुपैयाँसम्म खर्च गर्ने गरेको पाइन्छ।

भुटानका केहि मुख्य पर्यटकीय गन्तव्य

टाइगर नेष्ट
पारोमा रहेको ताक्छाङ पाल्फुङ मोनाष्ट्रि (टाइगर नेष्ट) भुटानको पहिलो आकर्षण हो । समुन्द्री सतहबाट ३२ मिटर उचाइमा रहेको यो गुम्बा डरलाग्दो ढुंगाको पहाड खनेर निर्माण गरिएको छ ।आठौं सेञ्चुरीमा तिब्बती गुरु पद्मसम्भवले ३ वर्ष ३ महिना ३ हप्ता ३ दिन ३ घण्टा यहाँ आएर ध्यान गरेका थिए । उनी पछि १६९२ मा तेञ्जीन रब्गेको रुप धारण गरेर टाइगर नेष्ट गुम्बा निर्माण गरेको बताइन्छ ।गुरु पद्मसम्भवले भुटानमा धेरै गुम्बाहरु बनाएका छन् । ढुंगाको पहरोमाथि बनाइएको यो गुम्बामा पुग्न डरलाग्दो बाटो हिँड्नुपर्ने हुन्छ । आठौं आश्चर्यमा सूचिकृत गर्न प्रस्ताव गरिएको यो गुम्बा हेर्नका लागि स्वदेशी विदेशी पर्यटकको भीड लाग्ने गरेको छ ।भुटानको ‘कल्चरल आइकन’ का रुपमा लिइएको यो गुम्बा एकपटक हेर्नैपर्ने खालको छ । यहाँ चिसो मौसममा हिउँले ढाक्ने गर्छ । पारो भ्यालीबाट १० किलोमिटरको दुरीमा रहेको यो गुम्बा ९ सय मिटर सिधा दुरीमा छ ।

बुद्ध मूर्ति
भुटानको राजधानी थिम्पुमा संसारकै सबैभन्दा अग्लो दाबी गरिएको बुद्ध मूर्ति  छ । ५१.५ मिटर उचार्इ रहेकधो यो मूर्ति निर्माण गर्नका लागि करिव १० अर्ब रुपैयाँ लगानी गरिएको छ । चिनियाँ कम्पनी एरोसनले निर्माण गरिरहेको मूर्ति २०१० देखि निर्माण सुरु गरिएको हो । आइरन र कपरबाट निर्माण गरिएको मूर्तिमा सुनको जलप लगाइएको छ ।

किछु टेम्पल
सातौं शताब्दीमा निर्माण गरिएको यो गुम्बा भुटानको सबैभन्दा पुरानो गुम्बा हो । तिब्बेतियन राजा सोङचोङ गोम्पोले यो गुम्बा निर्माण गरेका थिए ।पारो एयरपोर्टबाट २० मिनेटमा पुगिने यो गुम्बा भुटानको अर्को गन्तव्य हो । भुटान आउने अधिकांश पर्यटक नजिक भएको हुँदा यो गुम्बामा गरेका छन ।  राजधानी थिम्पुबाट यो गुम्बा ६० किलोमिटरको दुरीमा रहेको छ ।

दी तासीछोदाङ (किल्ला)
यो भुटानका अधिकांश सरकारी कार्यालय भएको भवन हो । हेर्दा गुम्बाजस्तो देखिने यो भवन युनेस्कोको विश्व सम्पदाको सूचिमा सूचिकृतका लागि प्रस्ताव गरिएको छ ।प्रधानमन्त्री कार्यालयसमेत रहेको यस भवनमा गुम्बासमेत छ । भुटानमा अझै पनि विधिपूर्वक राष्ट्रिय झण्डा कार्यालय समयमा बाहिर ल्याउने र कार्यालय समय सकिएपछि भित्र राख्ने गरिन्छ ।

दोचुला स्तुपा
राजधानी थिम्पुबाट पुनाखा जाने बेलामा ३१ सय मिटर हाइटमा यो स्तुपा रहेको छ । यो बाटो यात्रा गर्ने पर्यटकले यहाँ फोटो खिचेर रमाइलो गर्ने गर्छन् ।१०८ वटा स्तुपा रहेको दोचुला लडाइ जितेपछि त्यसको सेलिब्रेसन गर्न बनाइएको हो । भुटानका चौथो राजाकी पहिली श्रीमतीले यो स्तुपा बनाएकी हुन् । चौथो राजाका ४ श्रीमती थिए ।

पुनखा जङ
पुनखामा दुईवटा नदीको बीचमा यो जङ अवस्थित छ । यो पनि भुटानको महत्वपूर्ण आकर्षण हो । १७ औं सेञ्चुरीमा निर्माण गरिएको यो जङमा भुटानी राजाको गद्दी आरोहण समारोहसमेत आयोजना हुने गरेको छ । दुई नदीको बीचमा रहेको हुँदा यहाँ पुग्दा मनै आनन्द हुन्छ । भुटान पुग्ने अधिकांश पर्यटक यहाँ पुग्ने गरेका छन् ।

छिमिलाखाङ गुम्बा
यो गुम्बा पनि पुनाखामा अवस्थित छ । १५औं शताब्दीमा नागी वाङ्चुलले बनाएको यो गुम्बामा पुरुषको लिंगको पूजा गरिन्छ । लामा छुप्पा किन्लेले सुरु गराएको लिंगको पुजा गरेपछि छोराछोरी नहुनेलाई छोराछोरी हुने विश्वास गरिन्छ ।पुनखा भुटानको सबैभन्दा धेरै आनीहरु बस्ने ठाउँ हो । यहाँ धेरै गुम्बाहरु र आकर्षक शहर समेत छ । भुटानको पर्यटकीय गन्तव्यका रुपमा चिनिने पुनाखामा ठूला ठूला होटल सञ्चालनमा छन् ।

बुमथाङ भ्याली
यो भ्यालीले भुटानमा पुरानो इतिहास बोकेको छ । यहाँ गुरु पद्मसम्भवले धेरै गुम्बाहरु निर्माण गरेका छन् । देख्दै सुन्दर लाग्ने यो भ्याली छुर्पी र चीजका लागि प्रख्यात छ ।विश्वकै पुराना गुम्बामध्येको एक च्याम्बालाखा गुम्बा पनि बुमथाङमा रहेको छ । यहाँ बुद्धका एकहजार मूर्ति छन् । कुजिलाखाङमा पद्मसम्भवका चारवटा मूर्ती छन् ।

टोङ्सा गुम्बा
पुनखाबाट बुमथाङ जाने बाटोमा टोङ्सा गुम्बा भेटिन्छ । आकर्षक कला प्रयोग गरि निर्माण गरिएको यस गुम्बामा पनि स्वदेशी विदेशी पर्यटकको भिड लाग्ने गर्छ ।सेन्ट्रल इष्ट्रन भुटानको शक्ति देखाउन पहाडको भीरमा यो गुम्बा निर्माण गरिएको हो। १७औं सेञ्चुरीमा बनाइएको यो गुम्बालाई किल्लाको रुपमा लिइन्छ ।

पारो भ्याली
भुटानको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको पारो भ्याली पर्यटकको पहिलो गन्तव्य हो । यहाँबाट मात्र पर्यटकहरुको गन्तव्य सुरु हुन्छ । बीचमा नदी बगेको, छेउछाउमा सुन्दर बजार रहेको पारोमा पुग्दा नेपालको जिरी पुगेजस्तो भान हुन्छ ।उच्च पहाडी भूभागमा रहेको पारोमा प्रख्यात अन्तर्राष्ट्रिय चेनका होटलहरु सञ्चालनमा रहेका छन् । टाइगर नेष्ट गुम्बा जाने पनि पारोबाट नै हो ।

राजधानी थिम्पु
अन्य देशका राजधानीको तुलनामा सानो भए पनि थिम्पु निकै आकर्षक शहर हो । भुटानी कला प्रयोग गरी निर्माण गरिएका घरहरुलो जोसुकैको मन आकषिर्त गर्छ । भुटान पछिल्लो समय विश्वकै पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ ।थिम्पुलाई विश्वकै आकर्षक शहर बनाउन यहाँको सरकारले कुनै कसर बाँकी राखेको छैन । यहाँ सात तारे सम्मका होटल छन् । खान, बस्न र दृश्यावलोकनका लागि थिम्पु निकै राम्रो छ ।

Facebook Comment

छुटाउनुभयो कि?