पर्यटन बजार२५ मंसिर २०७७, बिहीबार मा प्रकाशित
मङ्सिर २५, काठमाण्डौ। तारागाँउ रेजेन्सी होटल्स लिमिटेड (ह्यायत) ले कर्मचारीहरुलाई ५ वर्ष सम्म बेतलबी विदामा पठाउने निर्णय गरेको छ । कोरोका कारण देखाउदै होटल व्यवस्थापनले २०७६ चैत्र ८ गतेबाट पूर्णरुपमा बन्द गरेको थियो ।
होटल व्यवस्थापनले अहिले पुनः संञ्चालनमा ल्याउने बारे कुनै यकिन गर्न नसकेको हुँदा प्रतिस्ठानमा भएको मौजुदा जनशक्ति, कर्मचारीहरुलाई दिदै आएको पारिश्रमिक लगायतका सुविधाहरु कटौती भएको जनाए हो । उक्त सुविधा प्रधान गर्न असमर्थ भएको कारण कर्मचारीहरु कटौती गर्ने उदेश्यले विषेश प्याकेज दिएर २०७७ कात्तिक ७ गते स्वेच्छिक अवकास योजना समेत आब्हान गरेका थियो । उक्त प्याकेज अनुसारको मापदण्ड भित्र पर्ने कर्मचारीहरुलाई साहि अनुसार स्वेच्छिक अवकास दिने बारे कम्पनीको सूचना सार्बजनिक गरेको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालको पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको र यस्तो अबस्थामा विषेश गरी होटल क्षेत्रको व्यवसाय ठप्प भएको भन्दै हायात रेजेन्सी व्यवसाय पनि पूर्णरुपमा संचालन नहुने ब्यबस्थापनले जनाएको छ । यस होटलको मुख्य बजार रहेको भारत, चीन, अमेरिका, युरोप मध्य पूर्विय देशहरु लगायत अन्य मुलुकहरु पनि कोभिड १९ बाट आक्रान्त भएका छन् । ती मुलुकहरुबाट भविष्यमा पाहुनाहरुको आगमन हुने सम्भावना नरहने हुँदा होटल व्यवसाय पूर्ववत् सामान्य अबस्थामा आउन सक्ने कुनै स्थिति नभएको कम्पनीले जारी गरेको सूचनामा जनाएको छ ।
कोभिड १९ कारण आएको विषम परिस्थितिलाई मध्यनजर गर्दै यस होटलमा रहेका २ सय ८० कोठा मध्य आंशिक व्यवसाय संञ्चालनार्थ १ सय कोठा मात्र संचालनमा ल्याउन सकिने जनाएको छ । सो को लागि आवश्यक पर्ने जनशक्ति कर्मचारी वाहेक अन्य कामदार कर्मचारीहरुलाई सन् २०२१ जनवरी १ देखि लागु हुने गरी पहिलो पटक कम्तिमा दुई वर्षको लागि वेतलबी बिदामा पठाउने निर्णय गरिएको छ । सो समय पश्चात समेत व्यवसाय सामान्य अबस्थामा नआएमा अतिरिक्त ३ वर्ष बढाएर कुल ५ वर्ष सम्म बेतलबी विदामा पठाउने निर्णय भएको महाप्रबन्धक राजेश रामदासले जानकारी दिनु भएको छ । साथै बेतलबी बिदामा पठाइने कर्मचारीहरुको नामावली केही दिन भित्रै प्रकाशित गरिने पनि उहाँले जानकारी दिनुभयो ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit