लगानी विस्तार गर्दै चन्द्रागिरी हिल्स, जिपलाइन र प्याराग्लाइडिङ सञ्चालनको तयारी

पर्यटन बजार२६ मंसिर २०७७, शुक्रबार मा प्रकाशित

लगानी विस्तार गर्दै चन्द्रागिरी हिल्स, जिपलाइन र प्याराग्लाइडिङ सञ्चालनको तयारी

मंसिर २६,काठमाडौं । केवलकार र बुटिक रिसोर्ट सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडले अब राजधानीमै जिपलाइन र प्याराग्लाइडिङ पनि सञ्चालन गर्ने भएको छ ।

आन्तरिक पर्यटनको हवको रूपमा चन्द्रागिरीलाई विकसित गराउने उद्देश्यका साथ करिब १० करोड रुपैयाँ लगानीमा २०७८ भित्रै दुईवटा जिपलाइन सञ्चालन गर्न लागिएको हो । पहिला जिपलाइन र त्यसपछि प्याराग्लाइडिङ सञ्चालनको तयारी कम्पनीले गरेको छ ।

कम्पनीले प्याराग्लाइडिङको लगानी भने खुलाएको छैन । जिपलाइन आयोजनातर्फ २०७८/०७९ मा २५५ र २०७९/०८० मा ४०५ क्षमता उपयोगिता भई सञ्चालनमा आउने प्रक्षेपण गरिएको छ । जिपलाइन परियोजनाका लागि ९ करोड रुपैयाँका उपकरणहरू आइसकेको छ ।

चन्द्रागिरी हिल्सका महाप्रवन्धक अभिषेश प्रताप शाहले जिपलाइन र प्याराग्लाइडिङको प्रारम्भिक काम सुरु भएको बताए । २०७७ साल पुसभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइए पनि कोरोना भाइरस (कोभिड–१९) को कारण आयोजनाको काम ढिलाइ भएको उनले जानकारी गराएका छन् ।

हिल्सले एमयुजमेन्ट पार्क परियोजनाअन्तर्गत  जिपलाइन सञ्चालनका लागि आवश्यक पर्ने सामानहरू खरिद गरी ल्याइसकिएको र संरचना निर्माण तथा जडानका लागि काम भइरहेको जनाएको छ । यस्तै प्याराग्लाइडिङ सञ्चालनका लागि छुट्टै चन्द्रागिरी हिल्स प्याराग्लाइडिङ लिमिटेडसमेत दर्ता गरिसकेको छ ।

२०७२ साल माघ ४ गतेका दिन कम्पनी दर्ता गरिएको हो । यस कम्पनीमा चन्द्रागिरी हिल्सको शतप्रतिशत लगानी छ । नेपालभरि प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्ने तथा उक्त व्यवसायसम्बन्धी अध्ययन अनुसन्धान एवम् तालिम दिने योजना कम्पनीको छ ।

यस्तै जिप फ्लायर, बन्जी जम्पिङ्ग, हर्ष राइडिङ्ग, रक क्लाइम्बिङ्ग जस्ता साहासिक व्यवसाय सञ्चालन गर्ने तयारी चन्द्रागिरीको छ । आन्तरिक एवम् बाह्य पर्यटकहरूलाई लक्षित गरी चन्द्रागिरीबाटै प्याराग्लाइडिङ समेत सञ्चालन गर्ने तयारी भइरहेको हो ।

चन्द्रागिरिबाट उडेको पाराग्लाइडिङलाई चित्लाङ लैजाने योजना छ । हावाको चाप र भूगोलको बनोटबारे विस्तृत अध्ययन गर्ने, परीक्षण उडान भर्ने तयारी भइरहेको छ । यद्यपि, प्याराग्लाइडिङका लागि पोखरा परिचित गन्तव्य हो । अब राजधानी नजिकबाट पनि सञ्चालन हुने भएको छ ।

यदि चन्द्रागिरीमै प्याराग्लाइडिङ सञ्चालनमा आएमा पोखरासम्म जानुपर्ने बाध्यता हट्ने र काठमाडौं उपत्यकासहित हिमालयका दृश्यहरू नजिकबाट नियाल्न सकिने दाबी कम्पनीको छ ।

पछिल्लो समय नेपालमा आकर्षक मानिएको जिपलाइन अहिले धुलिखेलमा प्रख्यात छ । त्योसँगै पर्वतमा समेत सञ्चालनमा आएको छ । राजधानीबाट नजिकको गन्तव्य भएकाले चन्द्रागिरीमा सबैको मन जित्ने विश्वास चन्द्रागिरी हिल्सको छ ।

एउटा जिपलाइनको लम्बाइ ७०० मिटर लामो रहनेछ भने बालबालिकाहरूका लागि ४० देखि ५० मिटर रहनेछ । रिसोर्ट नजिकै र मन्दिर नजिकै जिपलाइन सञ्चालन हुनेछ । योसँगै होटलबाट हेलिकप्टर सफारीका लागि समेत रिसोर्टले व्यवस्था गरेको छ ।

नेपाली एवम् विदेशी पर्यटकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै चन्द्रागिरीमा हेलिकप्टर मार्फत जाने व्यवस्थाका लागि हेलिप्याडसमेत निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । त्यहीबाट फ्लाइट सिनसमेत गर्न सकिने अफर ल्याएको छ । यस्तै हर्ष राइडिङ, ट्रेकिङका लागि समेत विशेष प्याकेज ल्याएको छ ।

पर्यटकका लागि एकीकृत गन्तव्यका रूपमा चन्द्रागिरी हिल्सलाई परिचित गराउने उद्देश्यका साथ काम अगाडि बढिरहेको बताइएको छ । विशेष गरेर आन्तरिक पर्यटकलाई लक्षित गरी विभिन्न प्याकेजहरूलाई ल्याइरहेको महाप्रवन्धक शाहको भनाइ छ ।

अबको दुई/तीन वर्ष आन्तरिक पर्यटकले नै धान्ने भएकाले नेपालीहरूलाई आकर्षण गराउनका लागि विभिन्न परिकारमा आयोजनाहरू सञ्चालन भइरहेको जनाएको छ ।

चन्द्रागिरी हिल्सले २०७३ साउन २४ गतेदेखि व्यावसायिक रूपमा केबलकार सञ्चालनमा ल्याइसकेको छ । २०७६ साउन १ गतेदेखि रिसोर्ट समेत सञ्चालन भइसकेको छ । केबलकार परियोजनाका लागि निर्माण अवधिको ब्याजसहित २ अर्ब ६० करोड ४२ लाख रुपैयाँ लगानी भएको छ ।

सफ्ट ओपनिङ गरिएको रिसोर्टमा कुल १०० रुम क्षमताको छ । रिसोर्टमा स्वीट रुम, डिलसक्स रुम, एक्युटिभ रुम छन् । त्यसका अलवा नेपाली पन झल्कने र विश्वस्तरीय सेवा उपलब्ध हुने कफी शप र फुडकोर्टसमेत रहेको बताइएको छ ।

रिसोर्टमा एउटा बार, एउटा बोर्डरुम र ३ वटा कन्फ्रेन्स हल छ । यस्तै स्वीमिङ पुल, स्पा र हेल्थ क्लब पनि छ । रिसोर्टमा १ अर्ब ३८ करोड २२ लाख रुपैयाँ लगानी रहेको बताइएको छ । यो रकम निर्माण अवधिको ब्याज रकमसमेत जोड्दोको हो ।

चन्द्रागिरीमा आईएमई ग्रुपको सबैभन्दा बढी लगानी छ । यसबाहेक भाटभटेनी सुपर मार्केट र हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडका साथै अन्य व्यक्तिको समेत लगानी छ । कम्पनीको चुक्तापुँजी १ अर्ब ३५ करोड रुपैयाँ छ ।  संस्थापक सेयरधनीहरूबाट चुक्ता भइसकेको छ । बाँकी १८ करोड ४० लाख रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता सेयर सर्वसाधारण, स्थानीय तथा सर्वसाधारण र कर्मचारीहरू समेत) मा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने छ ।

हाल स्थानीयलाई आईपीओ निष्कासन भइरहेको छ । त्यसपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तयारी कम्पनीको छ । आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

Facebook Comment

छुटाउनुभयो कि?