निषेध गरे पनि पशुपति क्षेत्रमा शतबीज छर्नेको घुईँचो

पर्यटन बजार२८ मंसिर २०७७, आईतवार मा प्रकाशित

निषेध गरे पनि पशुपति क्षेत्रमा शतबीज छर्नेको घुईँचो

मंसिर २८, काठमाडौँ। आइतबार बिहानै पशुपति क्षेत्रमा शतबीज छर्नेको घुईँचो लागेको छ। सरकार र पशुपति क्षेत्र विकास कोषले रोक लगाए पनि सर्वसाधारण स्वस्फूर्त रूपमा पाशुपत क्षेत्र पुगेका थिए। पशुपतिनाथको ढोका भने बन्द नै छ। पशुपति मन्दिर भित्र प्रवेश नपाए पनि धर्मावलम्बीले मन्दिर बाहिरबाटै शतबीज छर्दै हिँडेका थिए ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन झिसमिसे बिहानै शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाए पनि ठूलो संख्यामा भक्तजन पुगेका हुन् । बालाचतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषले जनाएको थियो ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

Facebook Comment

छुटाउनुभयो कि?