विश्वकै लामो मुक्तिनाथ केबुलकार निर्माण गर्न यसरी जुटाइँदैछ लगानी

पर्यटन बजार१० पुष २०७७, शुक्रबार मा प्रकाशित

विश्वकै लामो मुक्तिनाथ केबुलकार निर्माण गर्न यसरी जुटाइँदैछ लगानी

पौष १०, काठमाण्डौ। विश्वकै लामो मुक्तिनाथ केबुलकारको निर्माण आगामी वर्षदेखि हुने भएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डले स्वीकृत गरे अबको एक वर्षपछि निर्माण प्रक्रिया सुरु हुनेछ ।

मुक्तिनाथ केबुल कार १३ महिनापछि निर्माण सुरु हुने र अबको ५५ महिनामा सञ्चालनमा आउने मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले बताए । यता लगानी बोर्डले डीपीआर अध्ययन भइरहेको बताएको छ । बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले डीपीआरमा उल्लेख भएका विषय प्रस्तावित भएकाले केही तलमाथि पनि हुन सक्ने बताएका छन् । उनले भने, “हामीले डीपीआर अध्ययन मूल्याङ्कन गरिरहेका छौँ । अध्ययन सकिएपछि बोर्डमा जान्छ र स्वीकृत गर्ने नगर्ने बोर्डले निर्णय गर्नेछ । केबुलकार डेभलपर मुक्तिनाथ दर्शन प्रालिले ५३ अर्ब लागत लाग्ने अनुमान गरेको छ । तर बोर्डले यो लगानी केही तलमाथि हुनसक्ने बताएको छ । लगानी बोर्डमा प्रधानमन्त्री अध्यक्ष रहेको बोर्ड छ । बोर्डको निर्देशनपछि मात्रै केबुलकार निर्माणको काम अघि बढ्नेछ ।

२०७५ भाद्र २७ मा मुक्तिनाथ दर्शन प्रालि र लगानी बोर्डबीच केबुलकार निर्माण गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । सहमतिमा मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदी र लगानी बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका थिए । कम्पनीले समझदारी भएको मितिदेखि १८ महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्ड समक्ष पेस गर्नुपर्ने उल्लेख गरिएको थियो । रोपवेको अध्ययन गर्ने जिम्मा इटालियन कम्पनी रोप्स जीएमबीएसले पाएको थियो । सर्बेको जिम्मा अस्ट्रेलियन कम्पनी एएएमले पाएको थियो ।

कम्पनीले लाइडर सर्बेका लागि जहाज काठमाडौँ झिकाएको थियो । यो एएम ग्रुपको जहाज हो । लाइडर सर्बे संसारमै उत्कृष्ट सर्बे मानिन्छ । कम्पनीले झन्डै ७ करोड खर्च गरेर पहिलो पटक नेपालमा यो खालको प्रविधिबाट सर्बे गरेको जनाएको छ ।

कम्पनीले मुक्तिनाथसम्म ८०.१६ किलोमिटर लामो केबुलकार निर्माण गर्नेछ । बोर्डका अनुसार वीरेठाँटी, घोरेपानीदेखि तातोपानी, तातोपानीदेखि लेतेमार्फा ट्रान्जिटदेखि जोमसोम, जोमसोमदेखि कागवेनी र कागवेनीदेखि मुक्तिनाथ खण्डमा विभाजित हुनेछ ।

केबुलकारमा १९ वटा स्टेसन रहनेन् वीरेठाँटीबाट मुक्तिनाथको बीचमा थप ६ वटा स्टेसन रहने छन् । ती स्टेसनमा यात्रु झरेर त्यहीँ बासबसी अर्को दिन यात्रा सुरु गर्न सक्नेछन् । कम्पनीले हरेक स्टेसनमा होटेल, लज तथा रेस्टुरेन्ट बनाउने योजना लिएको छ ।

५३ अर्ब लागत लाग्ने अनुमान

डीपीआरले केबुलकार पूर्वाधार बनाउन ५३ अर्ब रुपैयाँ लाग्ने देखाएको छ । यद्यपि यो १ डलर बराबर १ सय १८ रुपैयाँको आधारमा यो रकम लाग्ने देखाइएको हो । डलर तलमाथि भए लागतमा केही तलमाथि हुनेछ । यसअघिको सम्भाव्यता अध्ययनअनुसार केबुलकार संरचना बनाउन ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । डीपीआरमा लामो र ठूलो केबुलकार भएकाले १३ मेगावाट बिजुली खपत हुने उल्लेख छ । केबुलकार सञ्चालनका लागि १३ मेगावाट विद्युत् खपत हुने डीपीआरमा भनिएको छ । मुक्तिनाथ केबुलकार १ हजारदेखि ३ हजार ७ सय मिटरको उचाइसम्म पुग्नेछ ।

यसरी जुटाइँदैछ लगानी

डीपीआर स्वीकृत भएपछि आयोजना विकास सम्झौता (पीडीए) हुनेछ । त्यसपछि वित्तीय व्यवस्थापनका लागि मुक्तिनाथ दर्शन प्रालिले वित्तीय औजारहरू प्रयोग गर्नेछ । विकासकर्ताका अध्यक्ष सुवेदीका अनुसार अबको १३ महिनापछि निर्माण कार्य सुरु भएर ४३ महिनामा सञ्चालन गर्ने योजना छ । यस हिसाबले आजको मितिबाट झण्डै ५६ महिनापछि केबुलकारमा यात्रा गर्न सकिनेछ । पीडीएपछि वित्तीय व्यवस्थापनदेखि ठेक्का लगाउने प्रक्रियासमेत सुरु हुनेछ ।

वित्तीय उपकरण व्यवस्थापनअन्तर्गत वैदेशिक कर्जा र आन्तरिक कर्जा प्रयोग हुनेछ । ८० प्रतिशत कर्जा र २० प्रतिशत इक्विटीमार्फत लगानी जुटाइने सुवेदीले बताए । २० प्रतिशत इक्विटीअन्तर्गत नै प्रमोटर र आईपीओ रहनेछ । डलरको भाउ ११८ रुपैयाँको आधारमा ५३ अर्ब लगानी लाग्ने अनुमान विकासकर्ताको छ । लगानीका लागि नेपाली तथा विदेशी बैङ्कहरूसँग पनि कुरा भइरहेको कम्पनीले जनाएको छ । केबुलकारको पूर्वाधार बनाउन कम्पनीले ‘क्राउड फन्डिङ’ मोडालिटीबाट लगानी जुटाउने तयारी गरेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?