सम्पन्न भयो ५ दिने अनलाइन पत्रकारिता तालिम

पर्यटन बजार१६ फाल्गुन २०७७, आईतवार मा प्रकाशित

सम्पन्न भयो ५ दिने अनलाइन पत्रकारिता तालिम

 फागुन १६ ,धुलिखेल। सञ्चार रजिष्ट्रारको कार्यालयले आयोजना गरेको ५ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ।  बाग्मती प्रदेशमा क्रियाशील १९ जना पत्रकारलाई काभ्रेको धुलिखेलमा मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम गराइएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै बाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले प्रशिक्षार्थी साथीहरूलाई  शुभकामना दिँदै तालिम अवधिमा धेरै आवश्यक र समय सापेक्ष ज्ञान लिने अवसर पाउनु भयो भन्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो।

यस तालिममा सिकेका सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानलाई आजैबाट  व्यवहारमा लागु गर्न उपसभामुख तामाङले सुझाव दिनुभयो। पत्रकारको बौद्धिक क्षमता  वृद्धि गर्न आगामी दिनमा पनि यस्ता खालका तालिमहरू हुन् जरुरी रहेको बताउँदै आफ्नो तर्फबाट हुन् सक्ने सबै सहयोग गर्न समेत आफू प्रतिबद्ध रहेको उहाँले जानकारी गराउनु भयो। 

त्यसैगरी सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले कुनै पत्रकार लोकल नहुने ग्लोबल हुने कुरालाई मध्यनजर गर्दै आफूलाई कमजोर नसम्झिन आग्रह गर्नुभयो। १९ जना पत्रकार प्रशिक्षार्थी सबैले इमानदार, दत्तचित्त र उत्सुक भएर सिकेको कुरालाई आफूले नजिकैबाट नियालेको र त्यसले धेरै खुसी प्रदान गरेको उहाँले बताउनुभयो। पत्रकारलाई कस्तो किसिमको तालिम दिँदा उपयोगी हुने बारेमा धेरै खोजी र छलफल गरेर मात्र तालिमको आयोजना गरिएको रजिस्ट्रार  सापकोटा ले जानकारी गराउनुभयो।  

कार्यक्रममा प्रशिक्षार्थीहरुले  तालिमको ५ दिनको समयमा सिकेको कुराहरूको बारेमा रिभ्यु गर्दै फिडब्याक फारम समेत भरेर कार्यक्रमलाई पूर्णता दिएका थिए। साथै तालिममा सहभागी सबै पत्रकारलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो। 

तालिममा बाग्मती प्रदेशका सिन्धुली,रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौ, भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुरका २६.३ प्रतिशत महिला र ७३.७ प्रतिशत पुरुष पत्रकार सहभागी रहेका थिए । सहभागीहरूलाई प्रवेश सुवेदी र उमेश श्रेष्ठले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?