आहार र वासस्थानको खोजी गर्दै निकुञ्जका गैँडा हिँडे पश्चिमतर्फ

पर्यटन बजार१७ फाल्गुन २०७७, सोमबार मा प्रकाशित

आहार र वासस्थानको खोजी गर्दै निकुञ्जका गैँडा  हिँडे पश्चिमतर्फ

फागुन १७,काठमाडौँ।चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन्। निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशतभन्दा बढी गैँडा केन्द्रित भएका हुन्। पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको खोजी गर्दै गैँडा पश्चिमी क्षेत्रमा केन्द्रित भएका हुन्। 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अनाथ बरालका अनुसार पूर्वी क्षेत्रमा रहेको रापती नदीको पानी धेरै ठाउँबाट सिँचाइका लागि लैजाँदा पानीको अभाव हुने गरेको छ। ‘रापती नदीमा पानीको स्रोत कम हुँदा नदी आसपासमा घाँसे मैदान प्रभावित बनेको छ,’ उनले भने। पानीको अभावमा आहालका लागि पानी कम छ भने सुख्खा भएर घाँस उम्रिन पाएको छैन। रापतीमा पानी कम हुँदा निकुञ्जभित्रका घोलमा पानीको मात्रा कमी आएको उहाँले बताउनुभयो। रापती नदीले बगाएर ल्याएका बालुवा तथा कङ्क्रिटले समथर निकुञ्जका भाग पुरिँदा पनि घाँसे मैदान मासिएको पाइन्छ।

उता पश्चिमी क्षेत्रमा भने नारायणी नदीले बनाएका भङ्गालामा प्रशस्त पानी र घाँसे मैदान बनेपछि गैँडा रमाउने गरेका छन्। पूर्वी क्षेत्रमा बस्तीमा आउनबाट रोक्नका लागि बनाइएका पक्की संरचनाले गैँडा नदी वारपार गरी रमाउन नपाउने गरेको बरालको भनाइ छ। पूर्वमा रमाउन नसकेपछि विभिन्न तरिकाले गैँडा पश्चिम पुग्ने गरेका छन्। उनका अनुसार वर्षाको बाढीले बगाएर गैँडा पश्चिम क्षेत्रसमेत पुग्ने गरेका छन्। 

केही वर्षअघि यसै निकुञ्जबाट राप्ती र नारायणी नदीले बगाएर भारत पुर्‍याएका १० गैँडा जीवितै उद्धार गरी ल्याइएको थियो। अझै केही गैँडा भारतीय क्षेत्रमा रहेको अनुमान गरिएको छ। यसरी नै वर्षात्को समयमा पूर्वका गैँडा बगाएर पश्चिम पुर्‍याउने गर्दछ। त्यहाँ पुगेपछि पर्याप्त खाना, पानी पाएपछि गैँडा पश्चिममै बस्ने गरेका छन्। कतिपय गैँडा आफैँ पनि पश्चिमतर्फ जाने गरेका छन्। 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको कार्यालय कसरालाई आधार मानेर पूर्व र पश्चिम भन्ने गरिन्छ। पछिल्लो समय पूर्वी सेक्टरमा पानीका पोखरी र घाँसे मैदान व्यवस्थापनमा जोड दिइएको छ। उनले चैतमा गैँडा गणनापछि आन्तरिकरुपमा स्थानान्तरण गर्नुपर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

‘पश्चिममा धेरै देखिए पूर्वमा स्थानान्तरण गर्नुपर्छ,’ उनले भने। पश्चिममा बासस्थान सानो र गैँडाको सङ्ख्या धेरै भएको उनको भनाइ छ। एकै ठाउँमा धेरै गैँडा हुँदा जुधेर मर्नेक्रम भने बढेर गएको छ। प्राकृतिक कारणबाट मरेकामध्ये धेरै गैँडा पश्चिमी क्षेत्रमा रहेको उनको भनाइ छ। मरेकामध्ये ६० प्रतिशतभन्दा बढी पश्चिमका रहेका छन्। चोरी शिकारीसमेत पश्चिममा बढी हुने गरेको छ।  

निकुञ्जको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षयता निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा मात्रै  ९२ गैँडा मरेका छन्। तीमध्ये ८८ कालगतिले मरेका हुन्। चार चोरी शिकारीले मारेका छन्। कालगतिले मर्ने गैँडा एकापसमा जुधेर, दलदलमा भासिएर, बुढो भएर र खोलाले बगाएर मर्ने गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले पछिल्लो समय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडा बढी भएको जानकारी आएको बताउँदै यस विषयमा छलफल भइरहेको बताए। गैँडा गणनापछि आवश्यकताअनुसार आन्तरिक स्थानान्तरण गर्न सकिने उनले बताए।

पछिल्लो गणना अनुसार देशैभर ६४५ गैँडा छन्। जसमध्ये यस निकुञ्जमा ६०५ रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गैडा गणनायता चितवनबाट चार गैडा चीन सरकारलाई उपहार पठाइएको र शुक्लाफाँटा र बर्दिया निकुञ्जमा गरी १२ वटा गैँडा स्थानान्तरण गरिएको छ। गैँडालगायतका वन्यजन्तु पश्चिमतर्फ केन्द्रित हुँदा पर्यटक पनि पश्चिमी क्षेत्रतर्फ आकर्षित हुने गरेका छन्। पूर्वी क्षेत्रमा पर्ने सौराहाभन्दा पछिल्लो समय पश्चिमी क्षेत्रको मेघौली पटिहानीलगायतका स्थानमा पर्यटकको आगमन बढेको छ। यस क्षेत्रमा वन्यजन्तु सहजै देख्न पाइने भएपछि पर्यटक यतातर्फ आकर्षित भएका हुन्। 

Facebook Comment

छुटाउनुभयो कि?