सगरमाथा आरोहण खुला , परेन आवेदन !

पर्यटन बजार१८ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

सगरमाथा आरोहण  खुला , परेन आवेदन !

फागुन १८ ,काठमाडौँ । कोरोना महामारीका कारण अलमलमा परेका पर्यटकहरुले अब भने नेपालका हिमाल आरोहण गर्न सक्ने भएका छन्। पर्यटन विभागले वसन्तयामका लागि हिमाल आरोहण खुला गरेको छ ।

सगरमाथा लगायतका हिमाल आरोहण खुल्ला गरेको भएतापनि हालसम्म कसैको पनि आवेदन नपरेको विभागले जनाएको छ ।

‘यो सिजनमा करिब ३ सय हाराहारी विदेशी आरोही सगरमाथा आरोहणमा जान सक्ने प्रक्षेपण गरेका छौं,’ विभाग निर्देशक मीरा आचार्यले भनिन्, ‘१५ जना नेपालीसमेत उक्लने तयारीमा छन् ।’

विभागले सगरमाथा आधार शिविरमाथिको खुम्बु आइसफल हुँदै पहिलो शिविर (६१ सय मिटर उचाइ) सम्मको बाटो बनाउने जिम्मा सगरमाथा पोलुसन कन्ट्रोल कमिटी (एसपीसीसी) लाई दिएको छ ।

डोरी टाँग्ने जिम्मा एक्सपिडिसन अपरेटर्सलाई

निर्देशक आचार्यका अनुसार आइतबार ८ जना आइसफल डाक्टर लुक्ला हुँदै सगरमाथा आधार शिविरतर्फ लागेका छन् । उनीहरूले भर्‍याङ राखेर आरोहीका लागि बाटो बनाउनेछन् । दोस्रो शिविरदेखि चुचुरोसम्म डोरी टाँग्ने जिम्मा एक्सपिडिसन अपरेटर्स एसोसिएसनले पाएको छ । एसोसिएसन अध्यक्ष डम्बर पराजुलीका अनुसार सो कार्यका लागि चैत पहिलो साता ८ जना हाई–अल्टिच्युट गाइड त्यसतर्फ जानेछन् ।

Facebook Comment

छुटाउनुभयो कि?