नेपाली खानाको इज्जत गरौँ , ब्रान्ड बनाऔँ – सेफ सन्तोष शाह

पर्यटन बजार१८ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

नेपाली खानाको इज्जत गरौँ , ब्रान्ड  बनाऔँ – सेफ सन्तोष शाह

फागुन १८ ,काठमाडौँ। विश्वका धेरै देशका खानालाई टक्कर दिँदै नेपाली खाना खुवाएकै भरमा ‘बिबिसी मास्टर सेफ प्रोफेसनल युके २०२०’का उपविजेता बनेका सन्तोष शाह सम्मानित भएका छन्। नेपाल टुरिजम बोर्डले सन्तोषलाई मङ्गलवार सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै नेपालले स्वच्छ खानामा बढी जोड दिनुपर्ने सेफ सन्तोष शाहले आग्रह गरे । भान्सेलाई नेपालले गरेको माया र सत्कार  देखेर नेपाल साँच्चै नै नयाँ नेपाल भएको आभास भएको उनले बताए। आफू विदेश जाँदाखेरिको भान्सेको इज्जत भन्दा अहिले फर्किँदाको समयमा  धेरै भिन्नता महसुस भएको र आफूलाई  एयरपोर्टमा २०० जना सेफहरू लिन पुगेको देख्दा खुशी लागेको सेफ शाहले बताए।

हामी अर्थात् नेपाल र नेपाली गरिब नभएको बताउँदै उनले नेवारी खाना कै १०० ओटा भेराइटी हुने र हरेक जातजाति सबै आफ्ना खानाका लागि धनी र उत्कृष्ट  रहेको तर त्यसलाई बुझ्न  नसक्दा पछि पर्नु परेको उनले गुनासो गरे।
 

नेपालमा पनि छिट्टै कुकिङ सो आउने आस गर्दै उनले अब हरेक भान्सेले इज्जत पाउनेमा आफू विश्वस्त रहेको समेत बताए।त्यस्तै टुरिजम बोर्डका अध्यक्ष धनञ्जय रेग्मी ले सेफ सन्तोष शाह ले सिङ्गो देशलाई नै गौरवान्वित बनाएको बताए। “प्राकृतिक र साहसिक क्रियाकलाप बाट  नेपाल चिनिन्थ्यो भने अब विश्व ले नेपाललाई खानको विविधताबाट पनि चिन्ने छन् ” रेग्मीले बताए। नेपालमा गेस्ट्रोनोमी टुरिजमको सम्भावना र त्यसको महत्त्व लाई दर्शाउंदै अब नेपालले पनि फरक फरक कुरालाई प्रवर्द्धन गर्नुपर्ने अध्यक्ष रेग्मीले बताए। 

बोर्डका सदस्य तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले कार्यक्रममा बोल्दै सेफ सन्तोष ले मान्छेको कर्मले मान्छेलाई चिनाउँदो रहेछ भन्ने कुरा सिकाइ दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो। विदेश गएर पनि सन्तोषले आफ्नो मातृभूमि प्रति गरेको माया र नेपालको खानालाई विश्वव्यापी गरेकोमा हामी सबै नेपालीले आभारी हुनुपर्ने सचिव कोइरालाले बताउनु भयो ।

आगामी दिनमा पनि नेपालको साख बढाउने कार्य गरिरहन समेत उहाँले शुभकामना दिनुभयो।

नेपाली खानाको समेत ब्रान्ड बनाएर अब एक कदम अघि बढेर उचित मेनु बनाउन कोइरालाले हान र रेवानलाई आग्रह गर्नुभयो। त्यसैगरी होटेल एसोसिएसन नेपालकी अध्यक्ष सिर्जना राणाले सेफ सन्तोषलाई दोसल्ला ओढाइ सम्मान गरेकी थिइन्।

Facebook Comment

छुटाउनुभयो कि?