नारी सप्ताह- ‘प्रथम महिला फ्रान्सेली दोभासे गाइड भगवती उप्रेती’

पर्यटन बजार२४ फाल्गुन २०७७, सोमबार मा प्रकाशित

नारी सप्ताह- ‘प्रथम महिला फ्रान्सेली  दोभासे गाइड भगवती उप्रेती’

फागुन २४, काठमाण्डौ -ठुलो निधार, गम्भीर आँखाहरू, तन्दुरुस्त र फुर्तिलो ज्यान, मिठ्ठो तर  निडर बोलि, टमक्क मिलेका दाँत, मुहारमा सदैब अडीइरहने स्थिर मुस्कान, मुस्कान संगै झल्किएको बडेमानको विगत  र  ८३ वर्षको उमेरै पनि अझै नओइलाएको उनको त्यो चञ्चलता ! सरसरती हेर्दा कतै बाट पनि उमेरले ८३ वर्षको नदेखिने यी महिला हुन् प्रथम महिला फ्रान्सेली दोभासे भगवती उप्रेती।

नारी दिवसमा पर्यटन क्षेत्रमा योगदान पुर्याउदै आउनुभएको केही महत्त्वपूर्ण महिला हस्तीहरूको विगत, वर्तमान र भविष्यको केही अंश पर्यटन बजारद्वारा आम नारीहरूमा पुर्‍याउने हाम्रो प्रयासको प्रथम पात्र भगवती उप्रेतीलाई भेट्ने योजना बनाइरहँदा कसरी वहाँ समक्ष पुग्ने अलमलमै थियौ।  हजुरमाको कथाको रचनाकार अमृता लम्सालले उनको सम्पर्क ठेगाना उपलब्ध गराइदिनु भएपछि मन नै फुरुङ्ग भएको थियो।  खै किन हो मलाइ अच्युत घिमिरे द्वारा बाचित हजुरमाको कथाहरूमा भगवती उप्रेतीको कथा सुनेपछि उनी प्रति म भित्र बेग्लै खाले सम्मान र आत्मीयताको रेखा कोरिएको थियो। उनको कथा सुनेपछि  धेरै प्रश्न वाचक चिन्ह लागेको थियो यो प्रश्न आफू माथि थियो कि आफ्नै अस्तित्व माथि थाहा छैन तर आजको युगको हिस्सा बनेर अझै पनि महिला भएरै आफू पछि परेको हो भनेर आफैलाई ‘बिचरा’को कठघरामा उभ्याइरहँदा मेरो भन्दा ६० वर्ष (सङ्घर्ष गरेको समयलाई मात्र लिँदा)अगाडिको समयमा भगवती उप्रेती ‘हजुरआमा’ले आफूलाई कुन रूपले प्रस्तुत गरिन्  ? त्यो समयको समाज कस्तो थियो होला ?  सङ्घर्ष गरेर सफल हुनैकै लागि वहाँ कति पटक विफल हुनुभयो होला ?  आफ्नो प्रोफेसनल जिन्दगीमा जित्दै गर्दा बुहारीको भूमिकामा उ हारिन होला ?

हो यी सबै उत्तर  मैले उनलाई भेटे पछि मात्र पाउन सक्थे।  त्यसैले हाम्रो टिमले उनलाई फोन गर्‍यो।कालिका स्थानमा बस्छु म भनेर स्पष्ट लोकेसन दिनुभएपछि फोन राख्दै  साथीले  ८३ वर्षको हैन होला भगवती उप्रेती बोली सुन्दा त लागेन है भनेपछि म फेरी एक पटक  उनको  बारेमा लेखिएका पुराना लेखहरू पढ्न बाध्य भएकी थिए ।  

सफलताको सङ्ग्रहालय

चिटिक्क परेको साढे दुइ तले घर, सफा बगैँचा र थरी थरीका फुल, मूल ढोका देखिकै पुस्तक सङ्ग्रहालय, छेवैमा बैठक कोठा, भित्ता भरी सजिएका सङ्घर्षका  कथाहरू र तस्बिरहरूलाई जीवन्त बनाउँदै पुरानै युगमा फर्किएर एक एक तस्बिरहरूको वर्णन गर्दै गरेकी उनी अर्थात् भगवती उप्रेती “हजुरआमा”। हरेक तस्बिरको बारेमा बोल्दा उनी उत्तिकै उत्साहित हुन्थिन, उनको मुहारमा छल्किएको त्यो छरपस्ट विगतलाई कलात्मक तरीकाले, भाव सहित सपक्क पारेर   प्रस्तुत गर्थिन। घरी एउटा तस्बिर देखाउँथिन घरी अर्को र त्यसको सक्किन नपाउँदै अर्को तस्बिर देखाउन हतार भएजस्तो गर्थिन। मानौँ, उनलाई सबै कथा एक्कै पटक भनिसक्नु छ।  म चाहिँ  उनको यो व्यवहार मा मुग्ध थिए । खै उनको सफलता देखेर मुग्ध थिए कि, उनको उदार व्यक्तित्व देखेर तर यति चाहिँ ठोकुवा गरेर भन्न सक्छु आज सम्म मैले ८३ वर्षको उमेरको मान्छेमा यो स्फूर्ति, जोस ,जाँगर र चञ्चलता  देखेकै छैन। 

आफ्नै श्रीमान नचिन्दा

काठमाण्डौको  ठमेलमा १९९४ मङ्सिर ९ गते जन्म भएको  भगवती उप्रेतीको बिहे  १८ वर्षका  डिल्लीराज उप्रेती सँग उनी जन्मेको एक दशक ननाघ्दै भएको थियो।  यति सानैमा बिहे गर्दा तपाईँलाई कस्तो अनुभव भयो भन्ने प्रश्नमा उनी भन्छिन् मलाइ त रमाइलो लागिरहेको थियो, आफ्नो बिहेमा, नयाँ नयाँ कपडा गहना, पाउजु लगाउन पाउँदा म त दङ्ग परेकी थिए । आफ्नो बिहे सम्झिँदै चाउरिएका गाला अझै चाउर्याउदै मज्जैले हास्छिन। सानै उमेरमा  विवाह भए पनि बिहे हुने बित्तिकै उनलाई घर आउन परेन श्रीमानले पढाइ नछुटाउने भनेपछि उनले कक्षा ९  सम्मको पढाइ आफ्नो माइतीमा नै बसेर पुरा गरिन।  जब ९ कक्षा पढ्दै थिइन तब घर आउने भइन । आफ्नो विगतलाई हामी सामु पस्कँदै गर्दा केही सम्झे झैँ केही रमाइलो माने झैँ भन्छिन् घर आउँदा धेरै डर लागेको थियो।  मैले त आफ्नो श्रीमान् नै नचिनेकी, सासुलाइ आफ्नो श्रीमान् कुन हो भनेर सोध्न पनि नमिल्ने, आफ्नो घर भित्रेको पहिलो दिन उनको जिन्दगीको महत्वपूर्ण दिन भए पनि उनले त्यो दिनलाई अत्यासलाग्दो तर रमाइलो दिनको रूपमा सम्झिन्छिन। घर आएपछि नै १० कक्षा सम्म पढाइलाई निरन्तरता दिइन।  त्यसपछि उनको पढाइमा पुर्णबिराम लाग्यो। आफूलाई एस एल सी सम्म पढ्न मन भएको तर कारणवश  पढाइ रोकिए पनि आज भन्दा ६० वर्ष अगाडि १०  कक्षा सम्म पढ्न पाउँदा भगवती आफूलाई भाग्यमानी सम्झन्छिन्। 

घर आएको ४ बर्सपछि पहिलो सन्तानको रुपामा भगवतीको कोखबाट छोरीले जन्म लिइन। बिचमा अर्को छोराले पनि जन्म लिई सकेको थियो। श्रीमान् त्रिचन्द्र कलेजमा पढाउदै  गर्दा यूनेस्को प्यारिस फ्रान्स बाट काम गर्नको लागी आउनुस् भन्ने  चिठी आयो। ट्रेनिङमा जाँदा वहाँले पहिला आफैले निवेदन दिनु भएको थियो। परिवारमा सबै जना खुसी भयौ तर त्यो समयमा देशमा धेरै पढेलेखेको मान्छे हुँदैन थिए, सरकार सँग अनुमति नलिई विदेश काम गर्न जान मिल्दैन थियो।  सरकारमा कुरा राख्दा  सरकारबाट अनुमति नमिलेपछि दोधारमा परेनछ भगवतीका श्रीमान्।  एक दिन आफ्नो मामा समक्ष  (तत्कालीन मन्त्री शिवराज पन्त)  आफ्नो आफ्नो कुरा राखेपछि मामाले यस्तो राम्रो ठाउँ बाट काम गर्नको लागि बोलाउँदा जानुपर्छ भनेपछि उनकै पहलमा पासपोर्ट र अन्य कागजी कामहरू सकेर श्रीमान् जानुभयो।

जिन्दगि फेरी एक पटक सुरुदेखि

काठमाण्डौमा जन्मेर काठमाण्डौमै हुर्किएकी भगवती उप्रेतीले थानकोटको डाँडा भन्दा बाहिर आफ्नो पाइला टेकेकी थिइनन्।  पहिलो पटक काठमाण्डौ बाहिर निस्कन लाग्दा देशै बाहिर पुग्छु भन्ने कुरा कल्पना सम्म गरेकी थिइनन् उनले , त्यो पनि हवाईजहाजमा।  पहिलो जहाज अनुभव सुनाउँदै भन्छिन्  डर मिश्रित रोमाञ्चकता भन्नु कि के भन्नु खै कस्तो अनुभव अनुभव म बयानै गर्न सक्दिन ऐले त।  उनाइ देशै छाडेर पहिलो पटक विदेशी भूमिमा जान लागेको भए पनि डर कतै थिएन रे।  मलाइ मेरो श्रीमान् भएको ठाउँमा जान लागेको हु म भन्ने थियो।  त्यसैले मलाइ के, कस्तो, कहाँ भन्ने कुरा धेरै सोचिराख्न पर्छ भन्ने नै लागेन।  अझै साथमा छोरी पनि थिई।  २२ वर्षको उमेरमा भगवती फ्रान्स पुगेकी थिइन्।

सुरुसुरुमा त्यहाँको रहनसहन देखेर छक्कै परिन उनी।  केटा केटीहरू एक अर्का सङ्ग धेरै घुलमिल हुँदा, हात समातेर हिँड्दा, त्यहाँका मान्छेहरूले लगाएका कपडा देखेर नहुने ठाउँमा आएछु भन्ने लागेको  थियो ।  फरक देशमा आफ्नो फरक खाले सङ्घर्ष सुरु गर्न सबैभन्दा महत्त्वपूर्ण कुरा भाषा थियो।  अङ्ग्रेजी अलि अलि आए पनि फ्रेन्च उनलाई एक शब्द पनि आउँदैन थियो ।  त्यति बेलाको तितो अनुभवलाई थोरै तिक्तता सहित सुनाउँछिन् त्यहाँका मान्छे साह्रै ज्याद्रा अङ्ग्रेजी बाट  त एक शब्द पनि कुरा नगर्ने, अङ्ग्रेजी बोल्ने मान्छेलाई त साह्रै हेप्थे त्यसैले मैले पनि बिस्तारै धेरै साथीहरू बनाउन थाले, सकेसम्म धेरै मान्छेहरू सँग कुरा गर्न थाले।  श्रीमान् दिन भरि अफिस जानुहुन्थ्यो म घर दिन भरि त्यहीँको ग्रामोफोनजस्तो रेकर्ड प्लेयर ल्याएर सुन्न थालेँ। हरेक दिन म त्यैको भाषा सिक्ने प्रयास गर्थे।  रेकर्ड प्लेयर सुन्न थालेपछि मलाइ २०० पेज भएको किताब सबै कण्ठै भएको थियो त्यो क्षणलाई आफ्नो जिन्दगीको ठुलो सफलता मन्छिन भगवती ।

त्यतिले पनि नपुगेपछि उनी भाषा स्कुल जान थालिन ,खै किन हो म मा त्यहाँको भाषा सिक्ने धेरै लगाव थियो त्यसैले मेरो श्रीमानले पनि मलाई त्यहाँको भाषा सिक्न प्रेरणा दिनुभएको थियो।  ठुली छोरीलाई स्कुल पठाएपछि सानो नानीलाई  खाना खुवाएर त्यहाँ तल्लो तलामा काम गर्न आउनेलाई एक छिन हेर्दिनुस् है भनेर उनी पढ्न जान्थिन ।  मैले भाषा सिकेर नयाँ नयाँ कुरा थाहा पाएपछि घर आएर श्रीमान् सँग कुरा गर्थे श्रीमान् त आफै दङ्ग परेर सुन्नुहुन्थ्यो पछि त वहाँले म पनि तिमीले पढेकै स्कुलमा फ्रेन्च पढ्न पर्‍यो है भगवती भनेर त्यही भर्ना लिनुभयो तर श्रीमान् चाहिँ अफिस सकेर जानुहुन्थ्यो म दिउसो जान्थे। 

म मान्छे पहिला बाट नै आत्मविश्वासी भाषा सिकेपछि त मैले गाडीको लाइसेन्स पनि निकाले त्यो पनि श्रीमानले भन्दा पहिला भन्दै आफ्नो आत्मविश्वासको जितलाई मुस्कानमा उतारिन। सबै कुरामा फ़र्वाड देखिने भगवतीले आफ्नो गेट अप कहिल्यै परिवर्तन  गरिनन्।  उनलाई नेपाली साडी चोलोले कहिल्यै पनि अप्ठ्यारो बनाएन ।  अझै  मेरो कपडालाई राम्रो मानेर साथीले, शिक्षकले सधैँ अगाडि बस्न लगाउनु हुन्थ्यो म पनि गमक्क पर्दै बसिदिन्थे, फोटो देखाउँदै यो त्यतिबेलैको फोटो हो उनी भन्छिन्। मैले  श्रीमानको कारण देशको जिम्मेवार महिलाको नेतृत्व समेत गर्नुपर्थ्यो ।  सायद त्यही भएर पनि होला कपडा परिवर्तन गर्नुपर्छ भन्ने सोच कहिल्यै आएन म मा।

प्रथम महिला फ्रान्सेली दोभासे

१२ वर्ष फ्रान्समा बिताइसकेकी उनिले  देश भन्दा धेरै टाढा रहेर पनि देशलाइ कहिल्यै बिर्सन सकिनन्।  अझै राजा महेन्द्रले यतिको पढेलेखेको मान्छेले देश मै बस्नुपर्छ भनेपछि सबै परिवार सहित देश फर्किए । भगवतीका श्रीमानले  सरकारी काम गर्न थाले भने  उनी भने  खालि नै बसिरहिन् । तर केही समय पछि भगवतीको श्रीमानले भगवतीलाई दोभासेको रूपमा काम गर्छौ भने गर मेरो साथीको कम्पनीमा फ्रेन्च बोल्ने मान्छे चाहिएको छ भनेपछि भगवतीले श्रीमानको अनुरोधलाई नकार्न सकिनन्।  ‘थर्ड आइ टुर’ नामक संस्थामा आएको फ्रान्सेली पर्यटकहरुलाइ दोभासेको रूपमा पहिलो पटक नेपाल घुमाएपछि अन्य धेरै ठाउँहरूमा दोभासे गाइड भएर काम गरिन। 

श्रीमानले  एकदमै सपोर्ट गर्ने उनलाई समाजले भने सजिलै सपोर्ट गर्न सकेन रे।  आजको जमाना त अझै कोही नयाँ मान्छे सँग एउटा छोरी/ बुहारी/ आमालाइ सँगै देख्यो भने प्रश्न उठाउने समाजले आज भन्दा ५० वर्ष अगाडि मलाइ छि छि दूर दूर गर्नु नौलो कुरा त हैन तैपनि मान्छेलाई अरु मान्छेको हेराइले प्रत्यक्ष असर नगरे पनि मानसिक तनाव दिँदो रहिछ।  टाढाको मान्छे त टाढाको भए आफ्नै देवर/देबरानीहरुले समेत नराम्रो दृष्टिले हेर्दा आफू सही नै भए पनि हड्बडाउथ्ये तर श्रीमानले सबैको अगाडि मेरो साइड लिँदा , तिमि सक्छौ भने गर म रोक्दिन भन्दा, आफ्नो श्रीमान् को म प्रतिको विश्वास देखेर सबै सँग लड्ने साहस जुटाउदथ्ये।  यति सम्म कि घरमा अफिसको गाडी लिन आउँदा ७५ प्रतिशत छिमेकीहरू झ्यालमा चाहिएर  हेर्थे तर मैले सबैलाई मतलब नगरी आफ्नो कामलाइ यथाबत राखे। 

सबैभन्दा महत्त्वपूर्ण काम सम्झिनु पर्दा जब उनका श्रीमान् ‘डाइरेक्टर अफ जनरल टुरिजम’ थिए  भारत, दिल्लीस्थित मोरक्को दूतावासबाट फोन  आयो।  मोरक्को दूतावासले आफ्नो राष्ट्रिय दिवसका अवसरमा नेपालमा पनि भोज गर्दै आएको रहेछ। यही क्रममा मलाइ उक्त पार्टी सहजीकरण गर्ने प्रस्ताव आयो। मोरक्कोका मान्छेहरू पनि फ्रेन्च नै बोल्थे अङ्ग्रेजी बोल्ने कोही कोही मात्र हुन्थे।  सो पार्टीमा राजदरबार बाट  पनि सहभागी हुनको लागि मान्छेहरू आउने गर्दथ्ये।

दिउसो दूतावासको काम सकेपछि राति उनी पार्टीमा गइन उनको श्रीमान् डिल्लीराम उप्रेती पनि पार्टीमा बोलाइएका थिए।  अन्तिम अवस्थामा मलाइ मञ्च मै काम गर्न लगाइयो। त्यो पनि उनले सहजै गर्न सकेको देखेर मेरा श्रीमान् त दङ्ग /छक्कै पर्नुभयो। त्यसपछि मैले धेरै कम्पनीसँग फ्रीलाइन्सर भएर काम गरे उनी भन्छिन।  पोखरा, नगरकोट, ककनी, चितवन जस्ता धेरै ठाउँमा उनी गाइड बनेर पर्यटकलाई आफ्नो देश देखाइन। आफ्नो देशको सौन्दर्यता देखेर उनी आफै मोहित हुन्थिन रे, त्यसैले जब बिरेन्द्रको पालामा आफ्नो श्रीमान् फ्रान्सका लागी नेपाली राजदूत भए उनी श्रीमान् सँगै फ्रान्स गइन।  राजपरिवार सँग एकदमै राम्रो सम्बद्ध थियो हाम्रो वीरेन्द्र र हामी एउटै गाडिला फ्रान्स  घुमेको छौ। उनले  श्रीमान् राजदूत हुँदा  नेपालको पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने निधो गरिन र फ्रान्सका विभिन्न ठाउँमा गएर नेपालको पर्यटकीय स्थलहरू झल्काउने स्लाइडर बनाएर प्रदर्शन गर्न थालिन। जसले गर्दा धेरै फ्रान्सेलीहरूलाई नेपाल घुम्न उत्प्रेरित गर्‍यो।  उनलाई यो इभेन्टको लागि उतैका धेरै साथीहरूले पनि सहयोग गरेको बताउँछिन्। अझै पनि मलाइ चिन्ने  फ्रान्सको पर्यटकहरू घुम्न आए भने मलाई नभेटी जाँदैनन्।  

त्यति बेला नेपालमा थुप्रै फ्रान्सेली पर्यटक आएको र कतिपय पर्यटकले त मैलाई दोभासे बनिदिनुहुन अनुरोध पनि गर्दथे। अहिलेको भन्दा धेरै राम्रो थियो  नेपाल पर्यटनको लागि।  सफा थियो, थोरै मात्र आर्टिफ़िसियल कुराहरू देख्न पाइन्थ्यो।  जो पनि नेपाल आउँथ्यो सन्तुष्टिको रेखा झल्किरहेको देखिन्थ्यो अनुहारमा तर अहिले पर्यटनमा विकृति आइसक्यो। पर्यटकीय क्षेत्रहरूमा बिस्तारै निर्माणका कार्यहरू भैरेका छन् यो हुनु भनेको पर्यटकीय क्षेत्रले आफ्नो मौलिकपन गुमाउनु हो।  विदेशीहरू किन नेपाल आउँछन् त भन्दा यहाँको हिमाल, स्वच्छ वातावरण र नेपाली संस्कृति, मौलिकताको अनुभव लिन।  आर्टिफ़िसियल कुराहरूको कमी भएर नेपाल आएका हैनन् त्यसैले समयमै पर्यटक व्यवसायी र सरकारले चासो देखाउन जरुरी छ गम्भीर हुँदै उनी गहकिलो कुरा गर्छिन्।

जीवनको काल रात्रि

काठमाण्डौमा जन्मिएर यही  हुर्किएकी भगवती भन्छिन् म त सुखैमा बुढी भएकी।  मैले जिन्दगीमा ज्ञानको भन्दा अरू कुराको अभावमा बाच्न परेन।  पहिलो पटक दुख त्यति बेला अनुभव भयो जब मेरो हरेक गोरेटोहरूलाई सडकको रूपमा रूपान्तरण गर्न सिकाउने, सुख दुखको साथी, मेरो देश विदेशको सहयात्री मेरो श्रीमानको देहान्त भयो।मैले जिन्दगीमा कहिल्यै वहाँ बिना बाच्नुपर्छ भनेर कल्पना नै गरेको रहेनछु , उहाँ बित्नुभएको दिन सम्झदा अझै अत्यास लाग्छ मलाइ।  केही भएकै थिएन वहाँलाई भाइटिकाको दिन थियो वहाँ टिका लगाउन दिदी/बैनीकोमा गएर आउनुभयो मैले मेरो भाइको लागि भनेर खानेकुराहरू बनाएको थिए।

आफ्नो भाइलाई त मिठ्ठो खानेकुरा बनाएछौ नि है भगवती भन्दै सबै खानेकुराहरू चाख्नुभयो।  त्यही बेलुकी बाट बान्ता हुन थाल्यो फुड प्वाइजन हो कि भनेर आत्तिएर अस्पताल पुरायौ। त्यो रात मेरो लागि कालरात्रि थियो।  डक्टरहरुले  नआत्तिनु है भगवती हामि सक्दो कोसिस गर्छौ भनेर  दिलासा दिई रहे तर अफसोस वहाँ भोलि पल्ट साँझ  तिर बित्नु भयो । वहाँसङै बिते वहाँकै लागि भनेर साँचेको बाकीको सहयात्रा।पहिलो पटक जिन्दगीमा मैले अब वहाँ बिना एक्लै गन्तव्य तय गर्नु छ भन्ने सोच आयो। परिवार भएरै पनि एक्लो भइने रहिछ श्रीमान् नउद्या उनी भाबशुन्य आखाहरुले हेर्छिन्। 

विगत सम्झिँदै भन्छिन् मेरी सासू साह्रै जाति हुनुहुन्थ्यो। कसैले पाउँदैन त्यस्ती माया गर्ने सासू त।  घुम्न जाने कुरामा कहिल्यै नाइनास्ती नगर्ने।  तिमीहरू घुम्न जान्छौ भने जाऊ भन्ने अझै मन्दिर जान भनेपछि आफै सामाग्री तयार पारिदिने।  तर मलाइ साह्रै सिनेमा हेर्न मन लाग्ने मन्दिर जाने भनेर सिनेमा हेर्न जान्थ्यौ हामी श्रीमान् श्रीमती घर आउँदा टिका त लगाउनु पर्‍यो कति पटक त हामी यही कालिका स्थान बाट निधारमा अबिर लगाएर  आउँथ्यौ।  हाँस्दै आफ्नो जीवनको सबैभन्दा  उटफट्याङ्ग काम यही भएको बताउँछिन्। 

महिलाको सफलतामा पुरुषको साथ

म कति सफल भए आज सम्म मैले केही लेखाजोखा गरेकी छैन तर जति सफल भए मेरो श्रीमानको उत्तिकै महत्त्वपूर्ण भूमिका छ।  म एक्लैले आट गरेकी भए सायद म यो स्थानमा पुग्दिन थिए होला। हुन त महिला मान्छे आफैमा हिम्मतिलो मान्छे हो चाहेको खण्डमा  एक्लैले जे पनि गर्न सक्छ तर जब एउटा पुरुषले (श्रीमान्/बाबु/छोरा/साथी) हौसला प्रदान गर्छ महिलाले अझै गतिलो पखेटा हाल्न सक्छे।  त्यसैले जायज कुरामा महिलालाई कहिल्यै पनि रोक टोक नगरौँ।  र महिला आफैले पनि आफ्नो आत्मविश्वास नघटाऊ।सबै ठाउँमा हामीलाई साथ दिने पुरुष मान्छे उपलब्ध नहुन सक्छन्।  म यो केशमा पनि साह्रै भाग्यमानी थिए उनी गमक्क पर्दै भन्छिन्। 

उनका चार सन्तान छन्। तीन छोरी सोमा, लिली, ब्रिजित र छोरा किशोरमध्ये जेठी छोरी सोमाले प्रारम्भिक शिक्षा फ्रान्सबाटै गरेकी हुन्। उनी फ्रेन्च भाषा शिक्षकसमेत हुन्। उनको छोराबुहारी बुहारी अमेरिकामा छन्।  उनी एक्लै कालिका स्थान स्थित घरमा बस्छिन्।  काम गर्ने मान्छे छदै छन् न्यास्रो लागे म आफै पुग्छु छोरा ,बुहारी, छोरी, नातिनातिनाहरू भएको ठाउँमा।  म लकडाउनमा नातिनी सँग थिए जोर्डनमा ४ महिना भयो म आएको।  मलाइ एक्लोपना को अनुभव नै हुँदैन।  मन लागे फोनमा कुरा गर्छु सरल भावमा प्रस्तुत हुन्छिन् उनी।  

आफ्नो पुस्तामा पनि आफूले क्षमता भन्दा धेरै काम गरेको बताउने भगवती अबका पुस्ताले गर्न नसक्ने केही पनि  नभएको बताउँछिन्।  म यसो गर्न सक्थे  होला महिला भएकै कारण मैले  गर्न पाइन् भनेको उनलाई पटक्कै चित्त बुझ्दैन रे।  उनि भन्दिन्छ म अहिलेसम्म काम नगरी बसेकै छैन अझै पनि म आफ्नो बगैँचामा भएका बोटबिरुवाको स्याहार गर्छु, बिहानै उठेर १ घण्टा जति हिँड्छु। उठ्नासाथ एक चम्चा आलस र एक केस्रा काँचो लसुन खान्छु। त्यसपछि दुई गिलास पानी र दूध चिया खान्छु।  मान्छेहरू दूध चिया नखानु भन्नुहुन्छ तर मलाइ आज सम्म दूध चियाले असर गरेको छैन।  मलाइ मधुमेह र उच्च रक्तचाप छ यो त जसलाई पनि हुन्छ। अब नभएको  कैले हुने ?  ८३ वर्ष भई सके  नाति, नातिनी  मात्र हैन पनाति, पनातिनी पनि भरसके मेरा।   उनी र  म सँगसँगै  उनको सफलताको प्रत्यक्षदर्शी त्यो कोठा  उनको हाँसो गुन्जिन्छ। 

Facebook Comment

छुटाउनुभयो कि?