हिम्मत गरे ,सबै महिलाहरु पाइलट बन्न सक्छन – प्याराग्लाइडर शर्मिला शर्मा

पर्यटन बजार२५ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित

हिम्मत गरे ,सबै महिलाहरु पाइलट बन्न सक्छन – प्याराग्लाइडर शर्मिला शर्मा

बिनिता सिवाकोटी , फागुन २५ , पोखरा।

नाम – शर्मिला शर्मा
उमेर – २९
पेशा – प्याराग्लाइडिङ पाइलट, व्यवसायी

जब पोखराको आकाशमा प्याराग्लाइडिङ उड्थे, उनी सडकमा पाइला गन्दै मनमनै सोच्थिन यो कसरी उड्छ होला , भनेकै ठाउँमा कसरी रोकिन्छ होला , अझै यसको पाइलट त झन् कस्तो खतरा होला ?

उनले बर्षौ आकाशमा नियालिन तर उनको लक्ष्य आकाशमै उड्ने कहिले भएन । कहिले काहीँ नसोचेको कुरा भइदिन्छ भने जस्तै उनको जीवनमा पाइलट ले नै प्रवेश गरे, त्यो पनि प्याराग्लाइडिङ पाइलट ।

सामान्यतया भन्ने गरिन्छ , विवाह गरेपछि महिलाको भविष्य सकियो , उसले पढेको खेर गयो, उसको जीवन नै घरधन्दा मा बित्छ । तर विवाहपछि नै सफलता हासिल गरिन् शर्मिलाले ।

श्रीमान् प्रज्वल रञ्जित सँग विवाह पश्चात् एक छोरीलाई जन्म दिएपछि पाइलट बन्ने सपनाको पछि लागिन् उनी । प्याराग्लाइडिङ पाइलट बन्ने सपना उनको जन्मजात भने होइन, सानोमा त कहिले नर्स कहिले इन्जिनियर त कहिले के ? उमेर सँगै परिवर्तनशील भए उनका भाँडा कुटी खेल्दाको इच्छाहरू ।

विवाह भयो , बच्चा पनि , काँधमा बच्चा र परिवारको जिम्मा त छदै थियो त्यो सँगै उनले प्याराग्लाइडिङ कम्पनीलाई पनि सम्हाल्नुपर्ने थियो । “सुरुमा त प्याराग्लाइडिङ कम्पनी दर्ता गरेर चलाउन सुरु गरें , पछि क्लाइन्टहरुले लेडिज पाइलट को धेरै खोजी गर्नुहुन्थ्यो ” शर्मिलाले सुनाइन् ।

पछि बारम्बार विदेशी पर्यटक र नेपाली पर्यटकहरूले आग्रह गरिरहेपछि एक दिन आफै पाइलट बन्ने आँट गरेको र एक वर्षको बच्चालाई आमाको भरमा छाडेर तालिममा सहभागी बन्न गएका दिनहरू आज पनि उनलाई उतिक्कै राम्ररी याद छ ।

उनी पाइलट बन्दा पोखरामा जम्मा ५ जना महिला पाइलट थिए उनी छैटौँ पाइलट का रूपमा चिनीन्थीन ।हाल भने पोखरामा १२ जना महिला पाइलट रहेको र विदेशी पाइलटलाई नेपाली पाइलटले विस्थापित गराएको उनको अनुभव छ ।

“तालिमको सुरु दिन , निक्कै मुटु ढुकढुक गरेको थियो तर पहिले देखि नै प्याराग्लाइडिङ लाई नजिक बाट नियाल्न पाएकोले आफूले आफैलाई म सक्छु भनेर सान्त्वना सँगै हिम्मत दिए” खिस्स हाँस्दै उनले आफ्नो पहिलो अनुभूति सुनाइन् ।

त्यति मात्र कहाँ होर पहिले पहिले प्याराग्लाइडिङ उडेको देख्दा बनाइने धारणा र सिकेपछिको दिन सम्झेर बेला बेलामा हाँसो लाग्छ उनलाई ।

श्रीमानको सहयोग नि ?

हामीले सोध्यौँ उनले मक्ख परेर उत्तर दिइन् । आज म यहाँ छु त वहाँको साथ सहयोग र हौसलाले । तिमी सक्छौ, हिम्मत गर भनेर सधैँ श्रीमानले मलाई अघि बढ्न सहयोग गर्नुभयो। मैले पनि आफू माथि भरोसा गरे । मैले नभ्याउँदा खाना बनाउने नानी हेर्ने लगायतका सम्पूर्ण काममा सहयोग गर्नुहुन्थ्यो साथै घरमै पनि मैले दोस्रो चरणको तालिम पाइरहेको हुन्थे उनले भनिन् ।

एक दुई पटकको हारमा रुन थालियो भने , निराश बनेर बसियो भने कहिले सफलता नमिल्ने उनी बताउँछिन्। तालिमका क्रममा एक पटक उनको दुर्घटना पनि भयो तर उनले डराएर प्रयास गर्न छाडिनन् । निरन्तर लागिरहिन महिला पाइलट बन्ने र हजारौँ लाई हावामा उडाउने सपना बोकेर ।

लक्ष्मी प्रसाद देवकोटाको कविता सम्झिन्छिन् उनी सपना के लिनु , उडी छुनु चन्द्र एक । सपना सानो होस या ठुलो तर त्यसलाई पूरा गर्ने अठोट चाहिँ ठुलै हुनुपर्छ । सपना त सपना हुन्छ , सानै सपनालाई पनि ठुलो सोच्नुपर्छ र अघि बढ्नुपर्छ त्यसको प्राप्तिको लागि ।

समस्या आएनन् ?

हाहा…… समस्या नहुने त कुनै काम नै हुँदैन नि । त्यही पनि काम गर्दा समस्या र बाधा आएन भने काम गर्न मजा पनि आउँदैन । समस्या आउँछ समाधान गर्दै अघि बढ्ने । व्यवसाय सुरु गरेको केही समय धेरै उल्झन हरू आएको शर्मिला बताउँछिन् । “सुरुमा खासै आइडिया पनि नहुने के गर्ने कहाँ जाने पनि थाहा नहुँदा गाह्रो भयो तर अहिले गर्दै गएपछि बानी भयो थाहा हुँदै गयो ” उनी भन्छिन् ।

बोर लाग्दैन ?

प्याराग्लाइडिङ कहिले बोर नलाग्ने पेशा समेत रहेको उनको बुझाइ छ । दिनहुँ नयाँ क्लाइन्ट को अनुभव सुन्न पाइन्छ , कोही खुसी ले चिच्याउनु हुन्छ , कोही आत्तिनुहुन्छ त कोही डरले रुनु नै हुन्छ , उहाँहरूलाई शान्त गराउँदै हावामा उड्दै मनोरञ्जन दिलाउन पाउँदा धेरै आनन्द लाग्ने शर्मिलाले बताइन् ।

अझ पहिला पहिला महिला पनि पाइलट हुन्छन् , सुरक्षित यात्रा नि गराउँदैनन् होला भनेर यात्रा गर्न नमान्ने मानिसहरू अहिले महिला पाइलटको भर पर्न थालेका छन् , यो देख्दा सारै खुसी लाग्ने उनले सुनाइन् ।

परिवारको साथ

म स्याङ्जा मा जन्मिए पछि हामी सिफ्ट भयौँ पोखरा । स्नातक सम्म पोखराकै जनप्रिय क्याम्पस मा पढेँ। हामी २ छोरी मात्र , मम्मी ले सधैँ कान्छी छोरी भने पनि छोरा भने पनि तिमी हौ र तिमीले अघि बढ्नुपर्छ भनेर हिम्मत दिनुहुन्थ्यो।

तर केही गर्नु अघि नै उनको विवाह भयो र सुरु भयो नयाँ जीवन अर्थात् शर्मिला बाट व्यवसायी शर्मिला र प्याराग्लाइिङ पाइलट शर्मिला बन्ने उनको यात्रा ।

सफलताको उडान

शर्मिलाको कम्पनी ओपन स्काई र फ्लाई जी टी अहिले पोखराका प्याराग्लाइडिङ कम्पनीहरू मध्येकै चर्चित र प्रख्यात छ । उनले ३ हजार भन्दा बढी उडान गरिसकेकी छिन् ।

बिजनेस वुमन सँगै पाइलट बन्न पाउँदा गर्व महसुस गर्ने उनी आफ्नो छोरीलाई यही बन्नुपर्छ भनेर दबाब नदिने बताउँछिन्। उसलाई जे इच्छा लाग्छ त्यसमै हाम्रो समर्थन छ यद्यपि मलाई देखेर होला , ममी म पनि पाइलट बन्छु भन्छिन् , मन्द मुस्कानका साथ उनले छोरीको वर्णन गरिन् ।

८ वर्ष भयो कम्पनी सुरु गरेको अनि ५ वर्ष भयो पाइलट बनेको आज पनि मेहेनत त्यतिकै छ , संघर्ष जारी नै छ । जन्मे देखि नमरिन्जेल सम्म नै मानिसले निरन्तर मेहेनत गरिरहनु पर्ने कुरामा शर्मिलाले जोड दिइन् ।

महिला दिदीबहिनी लाई के भन्न चाहनुहुन् ?

विवाह हुँदैमा जिन्दगी सकिँदैन, बरु नयाँ कुरा सिकिन्छ। नयाँ परिवारको साथ पाइन्छ। परिवार र कामलाई ब्यालेन्स मिलाएर लिएर जान सकियो भने कुनै पनि क्षेत्रमा स्थापित हुन सकिन्छ ।

हिम्मत ठुलो कुरा हो , कुनै पनि चिजमा बहाना नखोजी अघि बढ्नुभयो भने सफल हुन सकिन्छ । प्याराग्लाइडिङ को कुरा गर्ने हो भने यो क्षेत्र पनि महिलाको लागि राम्रो छ ।

साधरणतया महिलाले भोग्नुपर्ने महिनावारीको समयमा पनि प्याराग्लाइडिङ मा कुनै समस्या नहुने उनको अनुभव छ । यो टेक्निकल कुरा हो त्यसैले भार बोक्नुपर्दैन केवल मन र मुटु दर्हो पारेर काम गरे अवश्य लक्ष्य मा पुग्न सकिन्छ , उनले बताइन् ।

#नारी सप्ताह

Facebook Comment

छुटाउनुभयो कि?