बुढानिलकण्ठ नगरपालिका -धार्मिक संगै पर्यावरणीय वातावरणको धनी !

पर्यटन बजार२७ फाल्गुन २०७७, बिहीबार मा प्रकाशित

बुढानिलकण्ठ नगरपालिका -धार्मिक संगै पर्यावरणीय वातावरणको धनी !

फागुन २७ , काठमाडौँ। धार्मिक कार्यमा रुचि हुनेलाई होस् या  हरियालीमा रम्नेलाई, चराचुरुङ्गीको चिरबिरमा खुसी हुने मनलाई होस् या पहाडमा बसेर काठमाडौँ नियाल्न इच्छुक सर्वसाधारणलाई , कलकल खोला होस् या चट्टान मा ठोकिएर झरेका झर झर झरना,पदयात्रामा भेटिने आनन्दपनलाई होस् या बुद्ध कै वाणीमा शान्ति खोज्ने अनुयायीका लागि होस् , बुढानीलकण्ठ नगरपालिका सम्पूर्ण कुरामा धनी छ। 

बुढानीलकण्ठ नगरपालिका एउटा प्रसिद्ध धार्मिक सम्पदाको नामबाट नामकरण भएको देशकै महत्त्वपूर्ण स्थानीय सरकार हो ।आवासीय क्षेत्र धेरै रहेको यस नगरलाई १३ वडामा विभाजन गरिएको छ ।

उत्तरतर्फ शिवपुरी पर्वत शृङ्खला, हरियाली जङ्गल करिब ३ कि।मी दुरीमा फैलिएको भिराला भूभाग रहेको छ । दक्षिण तर्फ समथर उर्वर भूभाग रहेकोमा धेरै ठाउँ बाक्लो बस्तीले ढाकेको र केही खाली क्षेत्रहरूमा समेत क्रमशः नयाँ बस्तीहरू निर्माण हुने क्रममा रहेको छ । यस क्षेत्रबाट विष्णुमती, रुद्रमति, धोवीखोला, यज्ञमती जस्ता नदी, खोलाहरू प्रवाहशील छन् ।

स्वच्छ शान्त , समृद्ध  पर्यटकीय नगर बुढानीलकण्ठ धार्मिक पर्यटनको अथाह सम्भावना बोकेको क्षेत्र हो।  काठमाडौँ उपत्यकाको उत्तर तर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ बुढानीलकण्ठ मन्दिर । यसलाई स्थानीय नेपाल भाषामा भुइज:सि नारायण भनिन्छ। 

भगवान् नीलकण्ठको प्रस्तुत शेषशायी पोखरी परिसरमा अन्य देवीदेवताका मूर्तिहरू एवं शिव लिङ्गहरूका साथै सत्तल, पाटीहरूका साथ यज्ञ शाला, होम कुण्डहरू पनि छन्। भगवान्को दर्शन पूजन गर्नाले धन धान्यादिले परिपूर्ण हुनुका साथै स्त्री पुत्रबाट सुख सन्तोष भई अन्तमा नारायण गति प्राप्त हुन्छ भन्ने नेपाल माहात्म्य, हिमवत्खण्डमा उल्लेख गरिएको छ।

भगवान् बुढानीलकण्ठको मूर्ति निकै पुरानो हो। यो कुन समयमा, कसले बनाएका हुन् सो कुरा कसैलाई ज्ञात छैन। किंवदन्ती अनुसार एक जना किसानले आफ्नो खेत खन्दा उक्त मूर्तिको खुट्टाको औँलामा चोट लाग्न गई रगत समेत देखिएकाले पछि सो स्थानमा उत्खनन गरी हेर्दा उक्त विशाल मूर्ति भेटिएको हो। त्यसै गरी देवमाला वंशावलीमा राजा श्रृषभदेवले बुढानीलकण्ठको स्थापना गरेका हुन् भन्ने कुरा पनि उल्लेख छ तर उनले उत्खनन गरी जमिनमुनिबाट पाएको वा कुनै शिल्पीद्वारा बनाउन लगाई प्रतिष्ठित के गरेका हुन् स्पष्ट लेखिएको छैन।

राजा प्रताप मल्ल बुढानीलकण्ठको उक्त भव्य मूर्तिलाई त्यहाँबाट हनुमानढोका दरबार लगी चोकमा राख्न एवं प्रतिष्ठापन गर्न चाहन्थे। यत्तिकैमा राजालाई सपनामा यो मूर्ति यहाँबाट कहीँ नलग्नु, स्थानान्तरण नगर्नु र तिमी र तिम्रा उत्तराधिकारीहरूले यो मूर्तिको दर्शन पनि नगर्नु, गरेमा अनिष्ठ हुनेछ भन्ने किंवदन्ती छ।

यसैले उनले हनुमानढोका दरबार परिसरमा बुढानीलकण्ठकोको प्रतिमूर्ति बनाउन लगाए र सो मूर्ति आज सम्म हनुमानढोका दरबार परिसरमा रहेको छ। यसै बेलादेखि नेपालका गद्दिनसिन राजालाई बुढानीलकण्ठको दर्शन वर्जित रहेको थियो। यस मन्दिरमा दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लाग्ने गर्दछ।

बुढानीलकण्ठ मन्दिर पश्चात् बुढानीलकण्ठ नगरपालिकामा ऐतिहासिक स्थल भनेको धरमपुर हो। लिच्छवी कालिन समयमा लिच्छवीहरूले राज्य बिस्तार गर्ने क्रममा धरमपुर पनि निर्माण गरेको इतिहासमा उल्लेख गरेको पाइन्छ। बुढानीलकण्ठ नगरपालिका वडा-६  मा पर्ने धर्मपुर गाउँको इतिहास इ.सं ५२० वर्ष  पुरानो मानिँदै आएको छ जुन लिच्छवीको शासन समयदेखि चलिआएको मानिन्छ।

किंवदन्ती

यस स्थानमा एक धर्म नामका राजा रहेको बताइन्छ। उनी धेरै धार्मिक व्यक्ति रहेको पनि  इतिहासमा पाइन्छ। यहाँका एक स्थानीयसँगको कुराकानी अनुसार राजा धर्म हरेक दिन नजिकैको मन्दिर बुढानीलकण्ठमा दर्शनका लागि जाने गर्दथे। हरेक दिन उनी विष्णु भगवान्को दर्शन पश्चात् मात्रै जल तथा खानपिन गर्दथे।

तर दिन बित्दै जाँदा केही दिनसम्म राजा आफ्नो बिमारी अवस्था भएका कारण भगवान् विष्णुको पूजा तथा दर्शन गर्न जान सकेनन् र सधैँ दर्शनका लागि आउने गरेका राजा नआउँदा भगवान् विष्णु आफै किन आएनन् भनी कारण बुझ्न गए। र राजाको कमजोर स्थितिको ज्ञान प्राप्त भए पश्चात् विष्णुले राजाले आफ्नो दर्शन गर्नका निम्ति लामो दूरी यात्रा गर्न नपरोस् भन्दै  यसै ठाउँमा विष्णुले आफ्नो मूर्तिको स्थापना गरिदिएका थिए  र  तिनै राजाको नामले यस गाउँको नाम धर्मपुर रहन गएको स्थानीयको भनाई र विश्वास रहेको छ।

धर्मपुर

धर्मपुर गाउँ एक नेवारी टोल तथा समुदायको बस्तीको रूपमा परिचित थियो चिनिन्थ्यो र प्राय यहाँ नेवारहरूको जनसङ्ख्या रहेको यहाँको इतिहासमा पाइन्छ।

तर समय सँगै यस ठाउँमा भएका उक्त समुदायहरूको विभिन्न प्राकृतिक प्रकोप लगायत अन्य विभिन्न कारणले समुदायमा रहेका व्यक्तिहरू विस्थापित हुँदै अन्य स्थानहरूमा छरिएर बस्न बाध्य भएका थिए र हालसम्ममा यो स्थानमा अन्य जाति त्यसमा पनि खड्का जातिका मानिसहरूको बसोबास धेरै मात्रामा पाउन सक्छौँ। सोही कारण यस स्थान अथवा ‘पुर (सहर) लाई खड्का भद्रकालीका नामले चिनिने गरिन्छ। 

भद्रकाली

बुढानीलकण्ठ नगरमा दुई वटा भद्रकाली मन्दिरहरू रहेका छन् ।ती हुन् खड्का भद्रकाली र नौलिन अर्थात् नौलिङ्गेस्वरी भद्रकाली !

बुढानीलकण्ठ नगरपालिका क्षेत्र भित्र वडा नं. २,३,४,६,७ र १३ मा बुद्ध जयन्तीको दुई दिन अगाडी देखि भगवान् अजिमा(नौलिन भद्रकाली), गणेश भगवान्, महादेवको रथको लगायतको बिस्केट जात्रा हुने गरेको पाइन्छ ।   करिब २,३ सय वर्ष अगाडी देखि सुरु भएको यो जात्रामा तत्कालीन धार्मिक व्यक्तित्वहरूले स्थापित भएको मठ मन्दिरहरू प्रति आफ्नो मनको भावना र मनको इच्छा कामना पुरा भए पश्चात् रथ बनाई भाकल पुरा गर्न जात्राको रूपमा बिस्केट जात्रा सञ्चालन गरिएको पाइन्छ । यसरी जात्रा सुरु भएपछि सबै रथहरूमा प्रत्येक टोलहरूमा आ-आफ्नै गुठियारहरूबाट रथलाई सजी सजावट  गरी  विभिन्न दिनहरूमा विशेष पूजाआजा गरी रमाइलो नाचगानका साथ भोज खाई भजन कीर्तन गर्ने  र रथलाई बाजा गाजा सहित सिन्दुरे जात्रा गरी टोल परिक्रमा गर्ने चलन चलीआएको पाइन्छ ।

यी बाहेक बुढानीलकण्ठ नगरपालिका मा पञ्चकन्या मन्दिर , रुद्रेस्वर महादेव ,चण्डेश्वरी मन्दिर, शिव मन्दिर ,राधा कृष्ण मन्दिर लस्कन लगायतका चर्चित धार्मिकस्थल हरु रहेका छन्। कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज (ईस्कन) एउटा अन्तर्राष्ट्रिय कृष्ण सचेतता समाज हो।

जसलाई हरे कृष्ण र गौडिय वैष्णव भनिन्छ। यो एउटा हिन्दु धार्मिक समूह हो।विश्वव्यापी सिद्धान्त, आध्यात्मिक समझ, एकता, शान्ति र धार्मिक सचेतताको उद्देश्य बोकेर स्थापना भएको लस्कन पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ।

त्यसै गरी हिन्दु सँगै  बौद्ध धर्मका अनुयायीहरू पनि प्रशस्तै भेटिन्छ यस नगरपालिकामा कपन गुम्बा ,  फुलारी गुम्बा , जामछेन विजया चैत्य , नागी गुम्बा लगायतका गुम्बाहरू रहेका छन्।

बागद्वार

बुढानीलकण्ठ नगरपालिका जति धार्मिक पर्यटनका लागि चर्चित र धनी छ त्यति नै पर्यावरण पर्यटनका लागि पनि विशेष छ। बुढानीलकण्ठ हुँदै पदयात्रामा जाने धेरै स्थानहरू समेत रहेका छन्।

काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध हाइकिङ रुटहरूमध्येको एक महत्त्वपूर्ण तथा रमणीय रुट हो  बुढानीलकण्ठ-शिवपुरी-बागद्वार।  यो रुटको धेरै हिस्सा शिवपुरी राष्ट्रिय निकुञ्जले ओगट्दछ।  यो राष्ट्रिय निकुञ्ज   नेपालको मध्य पहाडी इकोसिस्टम प्रतिनिधित्व गर्न एक्लो पार्क हो। यो विश्वव्यापी जोखिमपूर्ण वन्यजन्तुहरू, चराहरू, र पुतलीहरूको लागि प्रसिद्ध छ।

यो समशीतोष्ण वन र सम्बन्धित वनस्पति subtropical छ। पार्क वरपरका मानिसहरू हिन्दु र बौद्ध संस्कृति अनुसरण गर्दछन्। आगन्तुकले आर्य र मंगोलियन संस्कृतिबाट आनन्द लिन सक्दछन्। अध्ययनको लागि राम्रो साइट हो।बुढानीलकण्ठ देखि  पहाडी शृङ्खलासम्मको उतारचढाव अनुभूति गर्नु जीवनको सम्झन लायकको यात्रा हुनेछ।

मनमा केही रोमाञ्चकता, केही नौलो प्रकृति सँगको संसर्गसहित थकानको भाव पलाए पनि त्यहाँको वातावरण, स्वच्छता, चराचुरुङ्गीको मधुर आवाजले  सबैको मुहारमा सन्तुष्टिको रेखा कोरिन्छ . धार्मिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने बाग द्वार ठाउँको उत्पत्तिका बारेमा थुप्रै मिथकहरू पनि छन् । किंवदन्ती अनुसार शिवजीले तपस्या गर्ने क्रममा बाघले सुरक्षा दिएकाले यस स्थलको नाम बाघद्वार रहन गएको हो । बाघद्वारलाई यस कारण पनि महत्त्वपूर्ण मानिन्छ किनभने यो बागमती नदीको उद्गमस्थल हो ।

बिष्णुद्वार

  बुढानीलकण्ठ-शिवपुरी- बिष्णुद्वार  अर्को पदयात्रा को उत्कृष्ट गन्तव्य हो। गन्तव्य पुरानै भएता पनि हाल यसको चर्चा दिनप्रतिदिन बढ्दो छ। विष्णुमती नदी को उद्गमस्थल रहेको  विष्णु द्वारसँग हिन्दु धार्मिक महत्त्व रहेको छ ।

वैशाख १ गते बागद्वारमा स्नान गरेर आउने भक्तजन विष्णुद्वारमा आएर फेरी स्नान तथा पूजा अर्चना गरेर सपनतीर्थ ओर्लिने पुरानो धार्मिक परम्परा अझै रहेको छ ।आजभोलि बिदाका दिनमा विष्णुद्वारसम्म हाइकिङ गर्ने वा पदयात्रा गर्नेहरूको लर्को पनि धेरै नै बढेको छ । विशेष गरी विष्णुद्वारको भित्री जङ्गली दृश्य, झरना, ढुङ्गाहरूबिच लुकामारी खेल्दै बग्ने पानीमा रम्न कै लागि भनेर टाढा टाढा देखि आगन्तुकहरू आउने गरेका छन्।

बाग द्वार , बिष्णुद्वारसंगै राष्ट्रिय निकुञ्ज हुँदै  नागी गुम्बा , शिवपुरी ,चिसापानी , सुन्दरीजल मुलखर्क , तारेभिर , देउराली जामाचो ,लगायतका स्थानमा पुग्न सकिन्छ।

धार्मिक , पर्यावरण सँगै आध्यात्मिक क्षेत्रमा पनि अब्बल छ बुढानीलकण्ठ नगरपालिका ! पर्यटकहरू देश विदेशबाट ध्यान गर्नकै लागि समेत यहाँ आउने गरेका छन्। हरियाली वातावरण , स्वच्छ हावा पानी ,सुद्ध भोजन र आफूले आफूलाई चिन्ने एक मौका ! यो सबै पाइने स्थान हो  बिपस्यना ध्यान केन्द्र।विपश्यना आत्म-निरीक्षण द्वारा गरिने आत्म शुद्धिको साधना हो। 

पर्यटकीय क्षेत्रको विस्तार गर्ने क्रममा यस नगरपालिकामा  “आइतबारे पार्क ” पनि निर्माण हुने भएको छ।  बुढानीलकण्ठ नगरपालिकाको उच्च भागमा रहेको करिब ३ सय रोपनी क्षेत्र फलमा बन्ने पार्कमा  “तामाङ सङ्ग्रहालय” को मुख्य आकर्षण रहनेछ।  सो सङ्ग्रहालयमा तामाङ संस्कृति र रहनसहनसङ सम्बन्धी विभिन्न सामग्रीको सङ्ग्रह गरिनेछ ।

प्रकृति मा हराउने , ध्यानमा रमाउने , आस्था राख्दै मन्दिर परिक्रमा गर्ने ,उकाली ओराली गर्दै थकाई का सुस्केरा हाल्दै ,थोरै गर्मी थोरै पसिना अनि धेरै सम्झनाका पलहरू कैद गर्न सकिने उत्कृष्ट नगरपालिका हो बुढानीलकण्ठ नगरपालिका।

Facebook Comment

छुटाउनुभयो कि?