नारी सप्ताह -मृत्युलाई जितेकी कल्पनाको हिमाल यात्रा !

पर्यटन बजार२७ फाल्गुन २०७७, बिहीबार मा प्रकाशित

नारी सप्ताह -मृत्युलाई जितेकी कल्पनाको हिमाल यात्रा !

महिला भएर महिलाकै डाहा गर्छन् त्यही भएर महिला पछि परेका ! यस्ता वाक्यहरू मैले धेरै पटक सुनेको छु जिन्दगीमा। धेरै पटक मैले आफ्नो जिन्दगीमा त्यस्तो महिलाहरू भेटेको छु जसको सङ्घर्ष, सफलता र आत्मसन्तुष्टिको रेखा देख्दा वाह रे महिला नभनी बस्न सक्दिन। तर मैले उनीहरूको सफलता माथि कहिल्यै डाहा गरिन मलाइ उनीहरूको सफलताले इम्प्रेसन पारेको भन्छु म चाहिँ। जल, जमिन, जङ्गल,हिमाल यो मेरो आफ्नो रुचिको क्षेत्र भएर होला यो क्षेत्रमा कुशलता हासिल गरेका हरेक हस्तीहरू मेरा लागि एक उत्तम प्रेरणाको स्रोत हो। त्यही प्रेरणाहरू मध्येको एक महत्त्वपूर्ण पात्र हुन् प्रथम महिला सगरमाथा आरोही पत्रकार कल्पना महर्जन। हँसिलो चेहरा, निडर बोली, सबै सँग घुलमिल हुने स्वच्छ व्यक्तित्व , झट्ट हेर्दा २०/२२ कि फुच्ची केटी देखिने यी महिलाले आफ्नो सङ्घर्षको सफल कथालाई इतिहासको पानामा सुनौला अक्षरले लेखिसकेकी छिन।


सङ्घर्षको सुरुवात
ललितपुर जिल्लाको सिद्धिपुर(ठसी) जन्मिएकी कल्पना महर्जनले नेपालतर्फ र चिन तर्फ दुवै मोहडा बाट एउटै मितिमा सगरमाथा आरोहण गरेर सम्पूर्ण नारीहरु सक्षम भएको साबित गरेकी छिन। नेपाली समाजमा छोरीमान्छेले सानोमा घरको काम गर्न सक्छु म भन्दा छोरीले गर्न सक्ली र ? भनेर सबैको आँखामा प्रश्न वाचक चिन्ह हुन्थे ! हुर्किदै जादा बाहिर एक्लै जान सक्दिन छोरी मान्छे हो आफ्नो सुरक्षा आफै कसरी गर्ली र? बिस्तारै यो तहलाई पनि पार गरिन उनले। फेरी आइपुग्यो महिला सञ्चारकर्मी हुँदा महिला भएकै कारण रिपोर्टिङ गर्दा झेल्नु पर्नेका ती तिता विगत। संघर्ष गर्न नहडबडाउने उनले सबै कुरालाई आत्मसाथ गर्दै एक सफल सञ्चारकर्मीको रूपमा आफूलाई चिनाउन सफल भइन। अब पालो आयो बुहारीको भूमिकामा पास हुन पर्ने। तर यहाँ उनले विभिन्न परीक्षा एक्कै पटक दिनपर्ने भयो। एक असल छोरी, बुहारी, श्रीमति अनि कोमल हृदयकी आमा र एक अटल र दृढ सहासले भरिपूर्ण सगरमाथा आरोहीको यो एक्कै पटक पुर्णाङ्क सहित उत्तीर्ण हुन उनलाई सजिलो थिएन । एक जना महिलाले चाहेमा जुनसुकै जटिल बाटो र परिक्षालाई पार गर्न पनि सक्छ । यो कुराको प्रमाणित गर्ने अन्तिम गन्तब्यको रुपमा सगरमाथाको शिखर सम्मको सफल आरोहण पश्चात प्रमाणित गरेर नै छोडिन । महिला कहिले कमजोर थिएन र छैन । कल्पनाको सफलताले सम्पूर्ण नारीहरुको क्षमता उजागर गरिदिएको छ ।

प्रकृतिले लगाएको मोहनी
आफ्नो सङ्घर्षका पोका फ़ुकाउदै उनी भन्छिन् जब म पर्यटन पत्रकार भएर देशको विभिन्न पर्यटकीय क्षेत्रहरूमा पुगे मलाइ प्रकृतिसङ अझै नजिक हुने चाहाना भयो। म खोला, पाखा, पहरा, हिमाल, बनजंगल, हरियालीलाई पछ्याउन थाले। मलाइ हरेक डाँडा पाखा र हिमालहरूले आवाज दिएर बोलाए जस्तै लाग्थ्यो। अनि म आफूले भ्याएसम्मको ठाउँमा जान्थे र घन्टौँ मुग्ध हुन्थे। उनले सन् २०१८ र २०१९ मा नेपाल र तिब्बतको दुवै मोहडाबाट सगरमाथा चढिन् त्यो पनि एउटै मितिमा।

सुत्केरी अवस्थामै सगरमाथाको बाटो तय भयो
त्यति बेला म भर्खरै ३ महिनाको सुत्केरी थिए। पहिलो पटक मिडिया अन्तर वाल क्लाइम्बिड. प्रतियोगितमा भाग लिदाँ । जरनालिष्ट एशोसिएसन अफ टुरिजम(जाट नेपाल)को आयोजनामा भएको पहिलो मिडिया वाल क्लाइम्बिङ्ग .मा भाग लिन जाँदा दूध खाने बालकलाई माइतिको सावित्री आमाको घर काठमाडौंको ब्रम्हटोलमा छोडेर गएकी थिए । सानो बालकलाई छोडेर हिडेकी भनेर साबीत्री आमाले गाली पनि गर्नु भएको थियो । त्यति बेला घर बाट मलाइ ट्रेनिङमा जनाको लागि अनुमति थिएन। होस् पनि कसरी त्यो टाइम भएको एक सुत्केरी महिलाको लागि आराम गर्ने, तातो कुरा खाने र आफ्नो काखको बच्चालाई समय दिने गरेको पुस्तौँ देखि देख्दै आएको हो। त्यो पुस्ताको मान्छेलाई मेरो क्रियाकलाप बक्वास भन्दा बाहेक केही पनि लागेन।


एउटि महिला त्यो पनि आमा बच्चाको रेखदेख मै थुनिनु पर्ने समाजमा उनले भने आफ्नो उडानको तयारि गर्दै थिइन्। तर उनका वरिपरिका मान्छे हातमा धारिलो हतियार बोकेर टुसाउदै गरेका उनका ति अबोध पखेटा काट्न जाइलग्थ्ये तर उनको आत्मविश्वासको गोरेटोलाइ कहिले पनि काट्न सकेन फलस्वरूप उनि प्रथम भइन्। यो प्रतियोगितामा प्रथम स्थान हासिल गरेर पछि मनमा लाग्यो कि ओहो एक हप्ताको तालिमले मैले वाल क्लाइमिड. प्रतियोगिता जित्न सक्छु भने मैले पनि मौका पाए भने त सगरमाथा नै चढ्न सक्छु होला । यो प्रतियोगिता पछि रकिड. कल्पना भनेर मेरो अन्नपूर्ण पोष्टमा एउटा अन्तरर्वाता छाप्यो । यो लेखलाई मैले लेमिनेसन गरेर आफ्नो कोठामा झुन्ड्याए । झुन्ड्याएको यो लेखले मलाइ नजानिदो तरिकाले याात्रा सुरु गर्नुपर्छ भन्ने सम्झना दिलाइरहन्थ्यो । पोखरामा भएको अन्तर्राष्टिय माउन्टेन म्यूजियम डे मनाउने कार्यक्रममा पत्रकार साथीहरु माझ हामीले पनि कुनै सानो हिमाल आरोहण गर्नुपर्छ भन्ने कुरा उठ्यो।

आज पनि मलाई त्यो दिन याद छ जुन समयमा साथीहरुले सानो तिनो हिामाल आरोहण गरेर हाम्रो पत्रकारीता अगाडि बढाउनु पर्छ भनेको । तर साथीहरुको कुरा कुरामै सिमित भयो । मैले साथीहरुले नगएनि मलाई सहयोग गर्नु हन्छ भने म जान्छु भन्ने कुरा राखे । त्यसपछि तात्कालिन नेपाल माउन्टेनेरिड. एशोसिएनका अध्यक्ष जिम्बा जाम्बु सर र ओम माने श्रेष्ठ सरको सहयोगमा म सगरमाथा आरोहणको तयारीको लागि ६००० मिटरको हिमाल मेरा पिक आरोहणको यात्रामा निस्किए । सगरमाथा चढ्नु अघि हरेक आरोहीले अन्य साना हिमाल चढेर तालिम लिनुपर्छ । त्यही सिलसिलामा मैले छ हजार मिटरको सोलुखुम्बुको मेरापिक चढ्दै थिए । पाँच हजार ३०० मिटरमा पुगेपछि लेक लागेर रेस्क्यूमा परे । सात दिन कोमामा बसे पछि बल्ल होस आयो । डक्टरले पनि भगवान भरोसा भनेर छोडेको सबैले आस मारेका थिए । तर सबैको आर्शिवाद अनि सानो दुई वर्षको छोराको भाग्यको कारण दैवले फर्काइदियो ।

त्यसपछि धेरै दिनसम्म मेरो घरमा हिमालको कुरानै चलेन। म पत्रकारिता गर्दै दक्षिण ललितपुर तिर हाईकिड, ट्रेकिंग . अनि पर्यटनका सम्भावनाहरुको बारेमा रिसर्च गर्न थाले । एक दिन अचानक एकजना पत्रकार साथीले हामी हिमाल आरोहणको तयारीमा छौ भेट्नु पर्यो भन्यो । उनीहरु म हिमाल आरोहणको क्रममा कसरी विरामी परे भन्ने जिज्ञासाका साथ मलाई भेट्न आउँदा कुरै कुरामा म पनि पहिलो महिला पत्रकारको टोलिमा समावेश भएर फेरि हिमालको यात्रामा लाग्ने भइयो । यो तयारी मैले श्रीमान लगायत परिवारबाट लुकाएर नै गरे ।

हिमाल आरोहणको तालिम निस्कनु अगाडि बिहान ४ बजे नै उठेर परिवारले औला ठड्याउन नपाउने गरी एकजना बुहारीको भूमिकामा पर्ने सबै काम सकाएर ७ बजे बालाजुको तालिममा पुगिसक्थे । फेरि बेलुका घर पुगरे घरधन्दामा लाग्दथे । यसरी काठमडौंको तालिममा सरिक भए । अब हिमाल तिरको तालिमको समय नजिकिदै थियो । नोभम्बरको पिक ६००० हजारको हिमाल आरोहणको लागि दोलखा जिल्लाको रोलवालिड. भ्यालीमा पर्ने रामदुड. र यालुड.री हिमाल आरोहण गर्न निक्सन लागेको कुरा सम्मानीय राष्टपतिको विदाई कार्यक्रम पछि समाचार मार्फत श्रीमानले थाहाँ पाउनु भयो । केहि बोल्दै न बोली म दोलखा तिर लागे । जब दोलखाको यात्रामा सफल भयो अनि मात्र घरमा फोन गरेर जानकारी दिए कि मैले ६००० हजारको दुईवटा हिमाल आरोहण सफल गरे ।

पछि काठमाडौं फर्किए पछि घरमा पारिवारिक बैठक बसियो कल्पना के गर्न लागेको अब के गर्ने भनेर । मैले अब यो अन्तिम हो मलाई जान दिनु भनेर अनुरोध गरेपछि परिवारले बल्ल बल्ल मान्यो । तर माइतिको बुवा भने तिमी फेरि हिमाल तिर जान्छौँ भने म तिम्रो लागि मरे भन्ने सम्झिँदा हुन्छ भनेर रिसाउनु भएको थियो । सात दिन कोमामा परेर आएको मान्छे पनि मेरो उही लेभलको हौसला देखेर सबै यता घरको परिवार सबै जनाले मेरै लागि तयारी गर्न थाल्नुभयो। नन्द आमाजूहरूले पनि उता जानको लागि मकै भटमास जस्ता खानेकुराहरू तयार पर्दिने गर्नुभयो। सबैको सहयोग पछि त मेरो आत्मविश्वासको घरले तला हालिसकेको थियो।

सबैको साथ माया र कल्पनाको कठिन प्रयासले पहिलो महिला पत्रकार टोलीमा सफल महिला पत्रकार आरोही बनेर फर्किन । पत्रकार मात्र नभएर अब कल्पनाको पहिचानमा सगरमाथाको सफल आरोही पनि थपियो । सगरमाथा आरोहणको सफलतासँगै पाएको सम्मान र हौसलाले फेरि एक चोट समाज र देशको लागि काम गर्ने उद्देश्यका साथ नेपाली समाजबाट बाल बिवहा निमूल पार्ने उद्देश्यका लिएर सगरमाथाको उत्तरी मोहडाको यात्रा तय गरे । शान्ति शिक्षा अभियान नामको सस्था सँगको सहकार्यमा शिक्षा मार्फत बाल बिवहा रोकथाम भन्ने नारा लिएर फेरि एक चोटि सगरमाथा तर्फ फर्किन । संयोग बन्यो ललितपुर महानरपालिका स्थापना भएको १०० औं वर्ष पुगेको र डा. शताब्दी पुरुष सत्यमोहन जोशिको पनि १००औं वर्षको उपलक्ष्यमा महानगरपालिको लोगो र सत्यमोहन जोशिको फोटोलाई सर्वोच्च शिखरमा फराउने सुनौलो अवसर पनि कल्पना महर्जनले पाइन । बारम्बार मृत्युको मुखमा पुगेर फर्केकि कल्पनाले विधि कठिनाईको बाबजुद पनि यो यात्रा तय गरे ।

आशुले सगरमाथा पखाल्दा
जब म हिलारी स्टेप पुगे मलाइ बाबाले घर बाट हिँड्दा त सगरमाथा जान्छेस् भने फर्केर म सङ कुरा गर्न आउन पर्दैन भनेको सम्झिए । त्यो सुरु देखिको सङ्घर्ष सम्झँदा आँखाहरू आफै रसाए । सबै कुरा जमिदिने त्यो चिसोमा मेरा आसुहरु बगिरहे ,बगिरहे…! बाबाका शब्दहरूमा माया थियो म प्रतिको तर मैले त्यो मायामा बहकिएको भए यो शिखरमा आइपुग्ने रहिनछु । चुचुरोमा पुग्दाको क्षण अझै झलझली याद आउँछन्। चुचुरोमा पुगेपछि आफैलाइ सम्हाल्नै सकिन खुसिले म त्यही घोप्टिए ! तपाइले मलाइ नबोलाउनु भएको भने म आज यहाँ सम्म आइपुग्ने थिइन् भन्दै खुसीले मुर्छा परे म भन्छिन्। त्यो क्षण मलाइ लाग्यो सन्सारको सबैभन्दा अग्लो मान्छे म । सबै मेरो कोसिसमा तगारो हाल्न आउनेहरूलाई चिच्याई चिच्याई भन्न मन थियो हेर मैले जिते। जितेर पुन एक पटक साबित गरे छोरी मान्छेले आँट्यो भने जे पनि गर्न सक्छन्। उनी भन्छिन् अझै त्यहाँ बाट देखिने दृश्य वाउ ! लाग्यो कास आँखाको पनि मेमोरी क्यामेराको जस्तै हुन्थ्यो भने ?

द डेथ बेड
नेपा ल तिरको भन्दा फरक तिब्बती मोहडाबाट सगरमाथाको यात्रा बेसक्याम्पमा भएको उत्साह सम्झिँदै भन्छिन्, जताततै हिउँको संसार थियो, हिउँनै माटो, हिउँनै बाटो, हिउँकै पर्खाल, हिउँकै खोला, झरना, हिउँकै जँघार, त्यो वाह अहिले सम्झँदा पनि त्यो चमकदार श्वेत भूमिले मनमा नयाँ उत्साह पैदा गर्छ । त्यही उत्साहलाई मनमा सपक्क परेर लागिन विश्वकै उच्च स्थानमा आफूलाई उभ्याउन।

निरन्तर उनी अगाडि बढ्दै गइन। बाटाका सफ़्ठ्यारा अप्ठ्यारा जँघारहरूलाई सकेसम्म संयम भएर पार गरिन तर सुन्दर देखिन्छ हिउँ, जति सुन्दर देखिन्छन् हिमाल यात्रा भने उत्तिकै भयानक हुने। निरन्तर अगि बढेको सगरमाथाको यात्रा पहिलेको नै मितिमा बर्ष गाँठ मनाउन तिब्बती मोहडा बाट मे २३, सन् २०१९ को दिन सगरमाथाको शिखर चुमेर चम्न सफल बनिन । यसरी सन् २०१८ मे २३ को दिन वि.सं. २०७५ जेष्ठ ९ गतेका दिन सन् २०१८ मे २३, नेपाली तर्फ दक्षिणी मोहडाबाट सपल आरोहण गरेको थियो । सफल आरोहण गरेर फर्किने क्रममा आठ हजार ३००को उचाइ जस्लाई डेथ जोन भनेर बुझिन्छ । यो ठाउँमा पुगेपछि अक्सिजन सकियो । जिन्दगीको डेथ जोनमा छु झैँ लाग्यो उनलाई। त्यो समयमा पनि हिमालमा जाने मान्छेहरू वास्तवमा कुन स्थितिको सिकार भएर मृत्युको मुखमा पुग्छ थाहा छैन त्यसैले म अब आफ्नो भिडियो बनाउँछु भनेर भिडियो बनाए उनी भन्छिन्। मलाइ अब म मर्दै छु भन्ने लागेको थियो रेकर्ड गर्दा उनले म ८३०० मिटरको अक्सिजन सकेर अरूको टेण्ट्मा बसेको छु मेरो शेर्पा अक्सिजन लिनको लागि गएको आधा घण्टा भइसक्यो उसले अक्सिजन लायो भने मा बाच्छु होला नत्र म मर्छु भनेकी रहिछिन। त्यो समयको कुरा गर्दा अझै प्रस्ट पिडा छचल्किनछ उनको अनुहारमा। करिब ४५ मिनेटपछि शेर्पा आइपुग्यो अक्सिजन लिएर। जसको फलस्वरूप म सफल आरोही बनेर तपाइसामु आफ्नो यात्रा अनुभव पस्कँदै छु। हाँस्दै भन्छिन् उनी।

जब उनले पहिलो पटक जित हासिल गरिन उनलाई त्यतिले मात्र पुगेन उनी पुनः सगरमाथा जान लालायित भइन तर यो पटक भने उनी खालि हात जान चाहिनन्। उनले सानै देखि बुझ्दै आएको नेपाली समाज र यो समाजमा हुने गरेको बालबालिकाको अनैतिक विवाह बारे कदम चाल्ने निर्णय गरिन र यो निर्णयको सुरुवात गर्न सगरमाथा नै रोजिन। आफ्नो सगरमाथा जत्रै, सगरमाथा जस्तै अटल अनि दृढ सपनाको भारी बोकेर पुन एक पटक उनी सगरमाथा तर्फ लम्किइन्। आफ्नो अहिलेको जीवनलाई तेर्श्रो जीवन मान्ने कल्पनाले सगरमाथाको टुप्पोमा पुगेर लिइएको सङ्कल्प ‘शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान’ साकार पार्न थालेकी छन् । जमिन बाट एक्कै पटक हिमालमा छलाङ लगाउन सजिलो छैन, मेरो जित पनि निरन्तरताको सफल उदाहरण हो उनी भन्छिन्।

महिला हुनु समस्या हैन
म पनि नेपालको एउटा आम महिला। मेरा पनि गाउँले छन्, साथी सङ्गी, नाता, इष्टमित्र। जब म सङ्घर्षको सुरुवाती चरणमा थिए मेरो जीवनमा एकदमै हस्तक्षेप हुन्थ्यो। सानैदेखि चन्चले प्रकृतिको केटी यो काम चाहिँ छोरा मान्छेको मात्र भनेर मैले कहिल्यै बसिन। मन लागेको काम गर्दथे, कपडा लगाउँदथे साइकल चलाउँथे । मेरो गाउँमा साइकल लिएर काठमाण्डौं हिड्ने म नै पहिलो केटि थिए । त्यसैले कति मेरा साथीका आमाहरूले त उनीहरूलाई म सँग हिँड्न पनि दिनु हुन्न थ्यो। छोरी बिग्रिन्छे भनेर तर मैले मेरो परिवारले दिएको स्वतन्त्रतालाई कहिल्यै गलत प्रयोग गरिन। परिवारले म प्रति गरेको विश्वासलाई अझै उच्च बनाए भन्ने महसुस हुन्छ। मेरो आफ्नो परिवारले मलाइ कहिल्यै मेरो सपना र स्वतन्त्रतामा बन्देज लगाएन । म सफल हुनुमा उहाहरुको उत्तिकै हात छ। अझै मेरो सासु आमाको ठुलो योगदान छ। मैले सानो बच्चा घरमा छाडेर जाँदा मेरो अभाव हुन दिनु भएन सासू आमा सँग बच्चा हुँदा मलाई ढुक्क लाग्छ।

महिलाहरू बहाना बनाउँछन् !

मैले धेरै छोरी मान्छेहरू भेटेको छु जसको बिहे भन्दा अगाडि थुप्रै सपनाहरू हुन्छन्। ती सपना कै लागि उनीहरू हरेक दिन दौडिरहेका र सङ्घर्ष गरिरहेका हुन्छन् तर जब बिहे हुन्छ उनीहरू त्यही फ्रिज हुन्छन्। जब मैले उनीहरूलाई प्रश्न सोध्छु उनीहरूको उत्तर हुन्छ बिहे भएपछि आफ्नो सपना भनेर दौडिन नमिल्ने रहिछ। परिवार, बच्चा, घर, श्रीमान् सबैलाई समय दिँदा आफ्नो सपनाको लागि समय नै नपुग्ने रहिछ अथवा कतिपयले श्रीमानले नगर भन्नुभयो अथवा सासू ससुराले मान्नुभएन आदि इत्यादि। मलाइ यो उत्तरहरू कहिल्यै चित्त बुझेनन् र बुझ्दैनन् पनि। म पनि एउटी श्रीमती हुँ, बुहारी हुँ र आमा हुँ। मैले मेरो सपना पुरा गर्न सबैलाई कन्भेन्स गर्न पर्यो। आफूले स्पष्ट रूपमा आफ्नो धारणा राखेपछि परिवार आफै बाध्य हुन्छन् साथ दिन र जायज कुराको लागि परिवारले साथ दिन पनि पर्छ। त्यसैले पहिला आफ्नो आत्मविश्वासको गोरेटोलाई मजबुत बनाऊ, हामी महिला भएर आफूले गर्न सक्ने कामलाई बहाना बनाएर पछाडि हट्ने प्रथा छाड्ने हो धेरै महिलाहरूलाई घर बाट साथ मिल्छ।

महिला हुनुको परीक्षा उत्तीर्ण हुँदा
मैले भनिसके जतिसुकै आत्मविश्वासी भएर आफूलाई अगाडि बढाए पनि भिडहरूमा यस्ता धेरै मानिस भेटेको छु जसको अगाडी मैले आफूलाई धेरै पटक म सक्छु गर्न भनेर साबित गरिसकेको छु र मैले आफू बुहारी भएर निभाउनु पर्ने कर्तव्य पनि निभाएकै छु। समय कम दिए पनि मेरो श्रीमान् प्रतिको मोहमा कमी छैन र छोरो म माथि गर्व गर्छ। तर दुख त्यति बेला लाग्छ जब सबै कुरामा महिला भएकै कारण मैले पनि सक्ने रहिछु है भनेर प्रमाणित गरिराख्नु पर्यो। म आफ्नो नजरमा हरेक पटक महिला भएरै समाजले लिने गरेको सबै परीक्षामा पास भएको छु। तर अब लाग्छ महिला भएकै कारण अबका महिलाले आफूलाई साबित गर्न नपरोस्। हरेक पटक परीक्षा दिन नपरोस्।

अबको समय शान्ति शिक्षा अभियानलाई
महर्जन सगरमाथा टुप्पोमा पुग्दा जति खुसी थिइन् , अहिलेको बालविवाह रोकथाम अभियान थाल्दा उत्तिकै खुसी भएको बताउँछिन्। उनलाई नेपालमा बालविवाह अझै सम्मको मौलाउँदो डरलाग्दो स्वरूप देखेर यो क्षेत्रमा काम गर्न मन लागेको बताउँछिन्।

विश्वकै अग्लो शिखर सगरमाथालाई साक्षी राखेर लिएको सङ्कल्प शिक्षामार्फत बालविवाह रोक्ने उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण यो सङ्कल्पमा उनलाई साथ दिइरहेका छन् रवीन्द्र महर्जनले। उनी भन्छिन् यो अठोट सगरमाथा जस्तै उच्च छ, अटल छ सहाशी छ र निडर छ । यो साहसमा तबसम्म कमी आउने छैन जबसम्म हाम्रो अभियान सकारात्मक नतिजा ल्याउँदैन। अहिले हामी अभियानको सुरुवातमा छौ। बारम्बार मृत्युको मुखबाट बाचेर फर्केकि म मेरो बाकि जिवन अब नेपालबाट बाल बिवाह हटाउने अभियानमा सर्पित गर्दछु ।

#नारी सप्ताह

Facebook Comment

छुटाउनुभयो कि?