पाल्पाको रामपुरमा रहेको तालपोखरामा ताल सुकाएर निर्माणकार्य हुँदै

पर्यटन बजार१ चैत्र २०७७, आईतवार मा प्रकाशित

पाल्पाको रामपुरमा रहेको तालपोखरामा ताल सुकाएर निर्माणकार्य हुँदै

चैत १,तानसेन । पाल्पाको रामपुरमा रहेको तालपोखराको ताल सुकाएर अहिले निर्माणको काम भइरहेको छ । रामपुर नगरपालिका–६ मा रहेको तालपोखरा पर्यटन विभागबाट प्राप्त ५० लाख र जनसहभागिताबाट गरी करिब ५८ लाख लागतमा निर्माणको काम भइरहेको तालपोखरा संरक्षण समितिले जनाएको छ ।

सरकारले पर्यटकीय गन्तव्य सूचीमा राखेको पर्यटकीय गन्तव्य तथा धार्मिकस्थलका रूपमा विकास हुँदै आएको तालपोखरामा ३०० मिटर भित्ता ढलान र दुईवटा बगैँचामा पर्खाल निर्माण भइरहेको समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिए । 

तालपोखरा क्षेत्रको विकासका निम्ति अझै पनि कार्यालय भवन निर्माण, बालउद्यान निर्माणलगायतका काम बाँकी रहेको समितिले जनाएको छ । कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटक आगमन अहिले निर्माणको कामले गर्दा पनि ठप्प भएको छ । तालपोखरामा डुङ्गा सयर गर्न, घुम्न, फोटो खिचाउन, तालमा माछा हेर्न तथा जलेश्वर महादेवको पूजा आराधना गर्न शनिबार तथा बिदाका दिनमा ५०० को हाराहारीमा पर्यटक आउने गरे पनि अहिले प्रभावित बनेको छ । रासस

Facebook Comment

छुटाउनुभयो कि?