महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ

पर्यटन बजार१ चैत्र २०७७, आईतवार मा प्रकाशित

महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ

चैत १,काठमाडौं।महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणासहित साधुसन्तलाई बिदाइ गरेका हुन् । संस्थानले साधुसन्तलाई छ वर्गमा विभाजन गरी दक्षिणासहित बिदाइ गरेकाे छ ।

९५१ रुपैयाँ,७५१ रुपैयाँ, ५५१ रुपैयाँ, ३५१ रुपैयाँ, २५१ र १५१ रुपैयाँ गरी छ वर्गमा विभाजन गरिएका दुई हजार साधुसन्तलाई दक्षिणासहित शनिवार बिदाइ गरिएको संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिनुभयो । बाँकी साधुसन्तलाई आज पनि दक्षिणासहित बिदाइ गरिने जनाइएको छ ।

नागाबाबालाई भने दक्षिणासहित २०० ग्राम र १०० ग्रामको पेडासहित बिदाइ गरिएको छ । वरिष्ठ नागाबाबालाई २०० ग्राम र कनिष्ठ नागाबाबालाई १०० ग्रामको पेडासहित बिदाई गर्ने परम्परा छ । यस वर्ष पशुपति क्षेत्रमा १०० जना नागाबाबा आएको संस्थानले जनाएको छ ।

दक्षिणासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन कृष्ण एकादशीका दिन शीतलनिवासमा सङ्कल्प गर्नुभएको सामग्रीसमेत वितरण गरिएको छ ।

पशुपतिमा आउने साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थानले खाने, बस्ने, धुनी जगाउने व्यवस्था गर्ने प्राचीनकालदेखिको परम्परा छ । यसैबीच पशुपति क्षेत्र विकास कोषले पनि महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?