पर्यटकको रोजाइमा पश्चिम चितवन

पर्यटन बजार१ चैत्र २०७७, आईतवार मा प्रकाशित

पर्यटकको रोजाइमा पश्चिम चितवन

चैत १, काठमाडौं।नेपालमा जंगल सफारी पर्यटन सुरुवात मेघौलीलाई मानिन्छ । मेघौली पर्यटनको लागि विश्वमै ख्याति कमाएको ठाउँ हो । २०२२ सालमा चितवन राष्ट्रिय निकुञ्ज भित्र टाइगर टप्स सुरु भएको थियो । 

प्राकृतिक सम्पदाले भरिपूर्ण मेघौलीमा आठवटा सामुदायिकवन छन् । नदी, ताल, सिमसार, वनजंगल, घाँसे मैदानभएकाले वन्यजन्तुको बाक्लो उपस्थिति छ ।यहाँ घुम्ने पर्यटक लोभिने गर्छन् । पछिल्लो समय पर्यटक पश्चिम चितवनमा केन्द्रीत हुने गरेका छन् ।

मेघौलीमा पर्यटकीय चहल पहल बढ्न थालेको छ । यहाँ स्तरीय होटलहरु धेरै छन् ।मेघौलीमा बहुराष्ट्रिय ब्रान्ड ताज सफारीले व्यवस्थापनमा चौधरी ग्रुपले ‘मेघौली सेराई’ संचालन गरेको छ । 

होटल बाराही , साराङ वाइल्डलाइफ स्याङ्चुरी , मेघौली रिसोर्ट ठूला होटल हुन् । मेघौली क्षेत्रमा ठूलास्तरीय चारवटा होटल छन् । करिब एक दर्जन होमस्टे छन् । साना र मध्यमखालका आठ वटा होटल छन् ।

नारायणी र राप्तीको दोभानमा रहेको गोलाघाट सूर्यास्त अवलोकनका लागि पनि मेघौली उत्कृष्ट छ। र्‍याफ्टिङ, डुंगा सयर, हात्ती सफारी, थारु सांस्कृतिक संग्राहलय, सांस्कृतिक कार्यक्रम, बाघ, गैंडाजस्ता दुर्लभ वन्यजन्तु अवलोकनका लागि पनि मेघौली चर्चित छ। महङ्गो हुँदा पनि पर्यटकहरु गुणस्तरीय खोजेर आउने गरेको होटल साराङ वाईल्ड लाईफ स्याङ्चुरीका संचालक सुवोध प्रधानले बताए । ‘ सौराहामा हुने सफारी जन्ति गए जस्तो हुन्छ यहाँ त्यस्तो छैन । शान्त छ ’ ,प्रधानले भने ‘ महङ्यो हुँदा पनि बढी आउने गर्छन् । नेपाली नै पैसा भन्दा गुणस्तर खोज्न थालेका छन्।’ 

त्यस्तै चितवन राष्ट्रिय निकुञ्जको काख अनि शान्त बग्ने राप्ती नदीको किनार । राप्तीनदीमा डुंगा सयर गर्दै चरा अवलोकन, नदी किनारमा घाम ताप्दै गरेका गोहीको दृष्य। साँझपख सूर्यास्तको मनमोहक दृष्यले जोकोही पर्यटक पनि लोभिने गर्छन् । शान्त वातावरणमा रहेको पटिहानी अर्को पर्यटकीय आकर्षणको केन्द्र हो ।

पर्यटक घुम्नका लागि छितामाई, विक्रमबाबा, लामिताल, तमोर ताल, थारु बोटे समुदायको बस्ती, कमलपोखरी छन् । स्थानीय सांस्कृतिक कार्यक्रम र भेषभूषाले पर्यटक लोभ्याउँछ। वडा नम्बर २२ का अध्यक्ष विष्णु महतोले पपटहानीको परिचय फेरिएको बताए ।’ स्तरीय र महङ्गो खालका पर्यटक हामीकहाँ छन् । त्यसमा पनि अब पटिहानी जगतपुरको तुलना सौराहासँग गर्न थालिएको छ यसले हाम्रो गुणस्तरीयता प्रष्ट छ ,’ महतोले भने ,‘ जैविक विविधता र एकान्तवासमा बस्न चाहनेहरु यही आँउछन् । ’ 

मेघौलीका ठूला होटलमा आकर्षक स्विमिङ पुल छन् । पटिहानीमा ठूला स्तरीय आठ होटल छन् । मध्ययम र साना गरी एक दर्जन बढी होटल छन् । जगतपुरमा तीनवटा ठूला होटल छन् । हानीमा चारवटा तीनतारे होटल तथा रिसोर्ट तथा चार पर्यटकीय होटल छन्। करिब एक दर्जन साना होटल छन्। पटिहानीमा उच्चस्तरका पर्यटक आउने गर्छन्। 

पटिहानीमा ‘अम्रेला स्ट्रिट’बनेको छ । आन्तरीक पर्यटकको संख्या पनि बढाएको छ । पटिहानी–जगतपुर पछिल्लो पटक पर्यटकको रोजाइमा परेको होटल जंगल भिल्लाका सञ्चालक गणेश पौडेलले बताए।

‘हामी साँच्चिकै पर्यटन बेचेका छौं,’ उनले भने, ‘एक पटक यो क्षेत्रमा आउनेहरु अन्यत्र जान मान्दैनन्।’ तेस्रो पर्यटकीय गन्तव्यको रुपमा चितवनलाई चिनिन्छ । वन्यजन्तु अवलोकनका लागि चितवन प्रसिद्ध छ । अहिले पश्चिम चितवनको पर्यटनले सौराहालाई पछि पारेको छ । 

पछिल्लो समय संरक्षणकर्मी अपिल घिमिरेले शान्त मनोरम स्थलको खोजीमा पर्यटक पश्चिम चितवन आउने गरेको बताए । पछिल्लो समय जगतपुर , पटिहानी र मेघौलीमा पर्यटकको आकर्षण बढेको छ । 

यहाँ आउने पर्यटक लोभिने गरेका छन् ।सौराहाभन्दा यी क्षेत्र अब्बल मानिन्छ । चितवन राष्ट्रिय निकुञ्ज, राप्ती र नारायणी नदीको किनारमा रहेको मेघौली, पटिहानी र जगतपुरमा पर्यटकीय केन्द्र प्रख्यात छन् । कुनै बेला पर्यटनका लागि सौराहा प्रख्यात थियो । तर अहिले सौराहा घना बन्दै गएको छ । सौराहामा कोलाहल बढेका कारण पनि अन्यत्र खुलेका होटलमा पर्यटक सर्ने गरेका छन् । एकान्तमा रमाउन चाहने पर्यटकहरु पश्चिम चितवनमा केन्द्रीत हुने गरेका छन् । 

Facebook Comment

छुटाउनुभयो कि?