बाली जाने नेपाली पर्यटक बढे , इन्डोनेसियासँग सिधा उडानको तयारी गर्दै मन्त्रालय

पर्यटन बजार२ चैत्र २०७७, सोमबार मा प्रकाशित

बाली जाने नेपाली पर्यटक बढे , इन्डोनेसियासँग सिधा उडानको तयारी गर्दै मन्त्रालय

चैत २ ,काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्डोनेसियासँग सिधा हवाई सम्झौताको तयारी गरेको छ । पछिल्लो समय इन्डोनेसियाको बालीमा घुम्न जाने नेपालीको संख्या बढेसँगै सरकारले सिधा हवाई उडानको लागि तयारी थालेको हो ।

नेपालबाट साताको १४ उडानसम्म हुनेगरी हवाई सम्झौताको तयारी भइरहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । नयाँ गन्तव्यका लागि मन्त्रालयले इन्डोनेसियासँग सम्झौताको तयारी गरेको हो ।

सम्झौताका लागि मन्त्रालयबाट आवश्यक सम्पूर्ण प्रक्रियाहरु पुरा गरेर इन्डोनेसियामा पठाइसकेको जानकारी उनले दिए । दुई देशका अधिकारीहरुबीच सम्झौतामा कुन कुन बुदाहरु थपघट गर्ने विषयमा निरन्तर संवाद भइरहेको बताउँदै केही महिनाभित्रै सम्झौता हुनेगरि काम अगाडी बढिरहेको उनले बताए ।

साताको १४ उडान गर्ने प्रारम्भीक छलफल भए पनि दुई देशले कतिवटासम्म उडान गर्ने र कुन कुन एयरलाइन्सले उडान भर्ने भन्ने विषय भने पछि टुंगो लाग्ने उनले जानकारी दिए । नेपालबाट पहिलो प्राथमिकतामा नेपाल वायुसेवा निगमनै रहने उनको भनाई छ । त्यसको अलावा अन्य एयरलाइन्सहरुले पनि उडान गर्न पाउने छन् ।

योसँगै मन्त्रालयले कोरियासँगको हवाई सम्झौता पुनरावलोकन गर्न आवश्यक तयारी तिब्र बनाएको छ । कोरोना भाइरस (कोभिड–१९) अघिनै सम्झौता पुनरावलोकन गर्ने बताए पनि हालसम्म त्यो सम्भव भएको छैन ।

निगमको वाइडबडी जहाज कोरियामा उडानको तयारी गरेसँगै त्यहाँको सरकारले हवाई सम्झौता पुनरावलोकनका लागि निगमको सेफ्टि अडिट मागेको थियो । निगमका अधिकारीका अनुसार अहिले अडिट सकिसकेको र नेपाल नागरिक उड्डयन प्राधिकरणमा समेत त्यसको जानकारी पठाइसकेकोले कोरियाको टोलिलाई नेपाल बोलाउन आग्रह समेत गरिसकेको छ ।

जुनसुकै मुलुकले पनि आफ्नो मुलुकमा आउने एयरलाइन्सको सुरक्षा अवस्थादेखि त्यहाँको सबै संरचनाहरु अध्ययन गरेर मात्र उडान अनुमति दिने गरेको छ । कोरियामा यस अघिनै निगमको जहाजले उडान गर्ने बताए पनि त्यहाँको सरकारले उडान अनुमति नै दिएको थिएन ।

यस्तै निगमसंग चीनले पनि सेफ्टि अडिट मागेको छ । हाल नेपालले ४० वटा मुलुकसँग हवाई सम्झौता गरेको छ । तर,यहाँबाट उडान भने ९ वटा मुलुकमा मात्र उडान गर्दै आएको छ ।

नेपालले उडान गरेका मुलुकमध्ये नेपाल वायु सेवा निगमले भारत, मलेशिया, थाइल्याण्ड, दुबई (युएई), कतार, हङकङ र जापान गरी सात देशका नौ गन्तव्यमा उडान गरिरहेको छ । निगमले भारतका दिल्ली, मुम्बई र बैंगलोर गरी तीन गन्तव्यमा उडान गरिरहेको छ भने अन्य देशका एक–एक गन्तव्यमा उडान गरेको छ ।

यस्तै चीनको राजधानी पेकिङ तथा आर्थिक केन्द्रहरू क्वाङचाउ र साङहाईमा उडान गर्ने योजना बनाएको नेपाल वायुसेवा निगम चिनियाँ सेफ्टी अडिटको पर्खाइमा छ ।

यस्तै हिमालय एयरलाइन्सले मलेशिया, दुबई (युएई), कतार, बंगलादेश र साउदी अरेबिया गरी पाँच गन्तव्यमा उडान गरिरहेको छ । निगम र हिमालयले बनाएको योजनाअनुरूप उडान भए भने पनि नेपाली विमानले उडान गर्ने थप एउटा मात्र देश (चीन) थपिने छ ।

Facebook Comment

छुटाउनुभयो कि?