काठमाडौं-रक्सौल रेलमार्गको डीपीआर बनाउन भारतसँग समझदारी

पर्यटन बजार२ चैत्र २०७७, सोमबार मा प्रकाशित

काठमाडौं-रक्सौल रेलमार्गको डीपीआर बनाउन भारतसँग समझदारी

चैत २,काठमाडौं । काठमाडौं-रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुका अनुसार एमओयू मन्त्रिपरिषदले स्वीकृत गरिसकेकाले भारत सरकारले पनि एमओयू स्वीकृत गरेलगत्तै डीपीआरको सम्झौता हुनेछ ।

स्वीकृत एमओयूअनुसार रेलमार्गको डीपीआर भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गर्नेछ र, ब्रोडगेज प्रविधिमै यो रेलमार्ग बनाइनेछ ।

सरकारले देशभर बन्ने रेल्वे लाइन स्टान्डर्ड गेजमा बनाउने नीति लिएको छ । काठमाडौं-रक्सौल रेलमार्ग पनि स्टान्डर्ड गेजमै बनाउन उपयुक्त हुने विज्ञहरुको सुझाव छ ।

तर, भारतले स्टान्डर्ड गेज प्रविधि र प्राविधिक विज्ञता आफूसँग नभएको भन्दै रक्सोल-काठमाडौं रेलमार्ग ब्रोडगेज प्रविधिमा बनाउनुपर्ने अडान लिएको थियो । नेपालले स्टान्डर्ड गेजमा आधारित भएर डीपीआर गर्न अनुरोध गरेपनि भारत तयार नभएको भौतिक पूर्वाधार मन्त्रालय स्रोतले बताएको छ । आफूसँग हुँदै नभएको प्रविधिमा डीपीआर गर्न नसकिने भनेपछि ब्रोडगेजमै एमओयू गर्न लागिएको हो ।

मन्त्रिपरिषदबाट स्वीकृति लिएर एमओयूमा हस्ताक्षर भएपछि भारतीय पक्ष अध्ययनका लागि फिल्डमा आउनेछ । भारतीय कम्पनी कोंकण रेल-वे कर्पोरेसन लिमिटेड (केआरसीएल)ले आफैंले गरेको प्रारम्भिक अध्ययनका आधारमा डीपीआर तयार गर्ने छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विकास सहायता महाशाखाका प्रमुख सहसचिव केशवकुमार शर्मा मन्त्रिपरिषदबाट एमओयू पारित भएर आएपछि आपसी सहमतिमा हस्ताक्षरको मिति तय हुने बताउँछन् ।

ब्रोडगेजप्रति असन्तुष्टि

उत्तरतर्फको छिमेकी चीनसँग केरुङ-काठमाडौं रेलमार्गको डीपीआर स्टान्डर्ड गेजमा आधारित भएर बनाउने समझदारी भएको छ । नेपालले आन्तरिक रुपमा बनाउने पूर्वपश्चिम रेलमार्ग पनि स्टान्डर्ड गेजमै बनाउने सरकारी योजना छ ।

तर, रक्सौल काठमाडौं रेलमार्ग बनाउने गरी डीपीआर हुने भएपछि रेल विभागका अधिकारीहरु अन्योलमा छन् । विज्ञहरुले त देशभित्रका अन्य रेलमार्ग स्डान्डर्ड गेजको हुने र भारतीय सीमा तर्फको रेलमार्ग ब्रोडगेजमा हुने भएमा ‘ब्रेक अफ गेज’ को समस्या निम्तिनसक्ने भन्दै सचेत गराएका छन् ।

ब्रोडगेज भारतमा रहेको परम्परागत रेल्वे प्रविधि हो । अहिले विश्वभर नै स्टान्डर्ड गेज प्रविधि प्रचलनमा आइसकेको छ । भारतले पनि विदेशीको सहयोग लिएर कतिपय रेलमार्गलाई स्टान्डर्ड गेजमा रुपान्तरण गर्न सुरु गरिसकेको छ ।

यो रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाललाई दिइसकेको छ । केआरसीएलले तयार पारेको प्रारम्भिक रिपोर्टअनुसार प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुनेछ ।

यो रेलमार्ग निजगढ हुँदै खोकनासम्म बनाउन प्रस्ताव गरिएको छ । प्रस्तावित रेलमार्गको करिब ४० किलोमिटर खण्डमा सुरुङ रहनेछ भने साना-ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?