महिला पर्यटन ब्यबसायीहरुको अनुभव साट्न टान द्वारा आयोजित “नारी दिवस” कार्यक्रम सम्पन्न 

पर्यटन बजार३ चैत्र २०७७, मंगलवार मा प्रकाशित

महिला पर्यटन ब्यबसायीहरुको अनुभव साट्न टान द्वारा आयोजित “नारी दिवस” कार्यक्रम सम्पन्न 

चैत ३, काठमाडौँ – ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान)ले पर्यटन क्षेत्रमा आबद्ध महिला व्यवसायीहरूको अनुभव साट्न आयोजना गरेको नारी दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ।। पर्यटन क्षेत्रमै लागेर लामो समय बिताएका र पर्यटन व्यवसायमा योगदान पुर्‍याएका महिलाहरूले गरेका सङ्घर्षलाई दर्साउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेको हो । Women Entrepreneur in Adventure Tourism भन्ने मूल नारा सहितको यो कार्यक्रममा पूर्व पर्यटन राज्य मन्त्री याङकिला शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो ।

यस कार्यक्रमको प्रमुख उद्देश्य भनेको महिला वर्गलाई साहसिक   पर्यटनमा उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्न अग्रसर गराउनु हो र आज सम्म जति महिलाहरूले पर्यटन क्षेत्रमा पुरुषले जत्तिकै महत्त्वपूर्ण भूमिका खेलेका छन् अरू महिला दिदी बैनीहरुलाई पनि सोही हौसलाको साथ अघि बढ्न प्रेरणा दिनु हो । 

कार्यक्रममा स्वागत मन्तव्य दिँदै निमा डिक्की शेर्पाले नेपालको आर्थिक महत्त्वपूर्ण भूमिका खेलेको पर्यटकीय क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेले पनि उनीहरूको आवश्यक कदर नभएको बताउनु भयो  । हाम्रो समाजमा अझै पनि महिला भन्ने बित्तिकै खाना बनाउने, घर सफा गर्ने, बच्चा हुर्काउने र घर को जिम्मेवारी सम्हाल्ने भनेर बुझिन्छ त्यही हुँदाहुँदै पनि महिलाहरूले आफूलाई यो माथिको काम सबै गरेर पनि त्यतिमा मात्र सीमित नराखी एड्भेचर पर्यटन जस्तो डरलाग्दो क्षेत्रमा पनि आफूलाई सहजै प्रस्तुत गर्ने गरेका छन्।  यो हिम्मत भएको महिला दिदि बैनीहरुलाई एउटा घर र समाजमा मात्र बस्न बाध्य नबनाइयोस।  महिलाहरूले आज सम्म साहसिक पर्यटनमा धेरै योगदान पुर्‍याएको हुनाले महिलाहरूलाई सधैँ चुलो चौकीमा मात्र सीमित नबनाइयोस् भन्नु भयो ।

सो कार्यक्रममा बोल्दै टानका अध्यक्ष खुम बहादुर सुबेदीले महिलाले पर्यटन क्षेत्र अझै एडभेन्चर टुरिजममा आफ्नो मेहेनत र लगनशिलाताको कारण प्रभुत्व जमाइसकेको छन र यहि सहासलाइ आत्मसाथ गर्दै अघि लैजान टानले यो कार्यक्रम आयोजना गरेको बताउनु भयो र आगामी बर्षहरुमा पनि यस्ता महिला मैत्री कार्यक्रमहरु संचालनमा ल्याइरहने प्रतिबद्दता गर्नु भयो। पछिल्लो समयमा पर्यटन क्षेत्रमा महिलाको उल्लेखनीय सहभागिता देखेर खुसि भएको बताउनुभयो। साथै महिला दिदी बैनीहरुलाई टानको तर्फ बाट अन्तराष्ट्रिय महिला दिबसको शुभकामना समेत ज्ञापन गर्नुभयो।

त्यसैसरि कार्यक्रममा बोल्दै पर्यटन बोर्डको सदस्य पम्फा धमलाले  आज सम्म जति पनि पुरुष सँग पर्यटन व्यवसाय को क्रममा भेट भयो सबैले सम्मान र सहयोग गर्नुभएको र आगामी दिनहरूमा पनि नयाँ महिला पर्यटन व्यवसायीहरूलाई सोही अनुरूपको सहयोगको अपेक्षा गरेको बताउनुभयो । महिला साथीहरूलाई अगाडि बढ्न चाहिने ट्रेनिङहरु दिएर पर्यटन बोर्डले आवश्यक परेको खण्डमा सहयोग गर्ने बताउनुभयो ।


त्यस्तै पूर्व पर्यटन राज्य मन्त्री याङकिला शेर्पाले आजसम्म महिला दिवसमा टानमा कुनै कार्यक्रम नभएको इतिहास मै पहिलो पटक महिला पर्यटनकर्मी, उद्यमी र महिला पत्रकारहरूलाई यो कार्यक्रमले थप ऊर्जा प्रदान गर्ने बताउनु भयो। आवश्यक परेको खण्डमा महिलाले जुनसुकै भूमिका पनि सरलाता पुर्वक निर्वाह गर्न सक्ने हुनाले महिला भएरै हेप्ने, पेल्ने, यौन दुर्व्यवहार गर्ने जस्ता अनैतिक कार्य गर्नेलाई खबरदारी गर्ने पनि बताउनुभयो। साथै पर्यटन क्षेत्रमा इतिहास हेर्ने हो भने महिलाको ठुलो योगदान रहेको र अबका दिनमा पनि महिलाले मुख्य भूमिका खेल्न पछि नपर्ने समेत जानकारी गराउनुभयो।  

कार्यक्रममा पर्यटन क्षेत्रमा अग्रसर विभिन्न संघ संस्थाका महिला तथा पुरुषहरूको बाक्लो उपस्थिति रहेको थियो। 

  

Facebook Comment

छुटाउनुभयो कि?