बन्जी र स्विङमा पर्यटक आकर्षण गर्दै कुस्माको “दि क्लिफ “

पर्यटन बजार४ चैत्र २०७७, बुधबार मा प्रकाशित

बन्जी र स्विङमा पर्यटक आकर्षण गर्दै कुस्माको “दि क्लिफ “

चैत ४ , कुस्मा । कुस्मा पछिल्लो पटक साहसिक पर्यटकीय स्थलको रूपमा चर्चित गन्तव्य बनेको छ।आफ्नै गतिमा बगिरहेको काली गण्डकी। २२८ मिटर अग्लो खोँचमा पर्वतको सदरमुकाम कुस्मा र बागलुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल।

पुल तर्दै सिरिङ्ग हुने ठाउँमा मानिसहरू खुट्टामा डोरी बाँधेर ढुक्कले हामफाल्छन। अनि जिन्दगीको अमूल्य र अविस्मरणीय पलमा यही साहसिक खेललाई आफ्नो नाममा लेख्छन। हाल क्लिफमा बन्जी र स्विङ को मजा लिनेहरू नेपालका ७७ ओटै जिल्ला बाट पुग्न थालेका छन्।

बन्जी गर्न कै लागि काठमाडौँ बाट कुस्मा पुगेका आशिक गौतम जीवनकै पहिलो बन्जी को अनुभव क्लिफबाट लिन पाउँदा अत्यन्तै खुसी लागेको बताउँछन्।” पहिलो पटक बन्जी जम्प गरेको , सुरुमा त डर नै लागेको थियो तर जब जम्प गरेर थोरै तल गए तब जीवनमा अहिलेसम्म नगरेको अनुभूति प्राप्त भयो , यस्तो आनन्द र सन्तुष्टि मिल्यो नि म बयान नै गर्न सक्दिन , उनले भने। “

त्यसै गरी भर्खरै विवाह गरेर घुम्न निस्किएका नवजोडी सीमा र विशाल ले सँगै टेण्डम स्विङ गर्न पाउँदा डर पनि खासै नलागेको उल्लेख गरे। पहिले विदेश तिरको भिडियो हेरेर मजा लिनुपर्थ्यो अहिले आफ्नै देशमा यस्तो सुविधा पाएकोमा मक्ख थिए उनीहरू। ५२० मिटर लामो झोलुङ्गे पुलको बिचमा काली गण्डकी निको ठिक माथि बन्जी र स्वीङको लागि जम्प गर्ने प्लेटफर्मको निर्माण गरिएको छ। हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोस्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ ।

दि क्लिफ प्रा लिको यो परियोजना पछि स्वीट्जरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बम्जीका रूपमा आफूलाई दर्ज गरेको छ भने यहाँको स्वीङ विश्वकै अग्लो बनेको छ। बन्जी र स्वीङ दुवैको मूल्य ७ हजार रहेको छ। पोखरा देखी कुस्माको दुई तर्फी गाडीको सुविधा सहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको छ। टेण्डम (जोडी) स्वीङको १२ हजार छ। टेन्डम स्विङमा यातायात सुविधा लिन चाहे थप ३ हजार लाग्नेछ।

रिसोर्ट: अहिले धेरैको ड्रिम प्लेस समेत बनेको बाग्लुङ्को बलेवामा २५ रोपनी क्षेत्रफलमा ‘द क्लिप रिसोर्ट’ बनेको छ । कुस्मा घुमेर बन्जी र स्वीङको मजा सँगै बस्ने सुविधा पनि “दि क्लिप “ले दिएको छ। २१ वटा सफारी टेन्ट रहेको रिसोर्टमा ६४ जना अट्छन्।

कसरी पुग्ने?

दि क्लिफ प्रालि पोखरा बाट ५५ किमी , अन्नपूर्ण बेसक्याम्प को गेटवे नयाँ पुल बाट १५ किमी दुरीमा अवस्थित छ। काठमाडौँ, चितवन, पोखराबाट पर्वत कुस्मा सम्म सजिलै सार्वजनिक बस पाइन्छ। पोखराको बागलुङ बसपार्कमा गएर कुस्मा सम्म पुग्ने ‘सेयरीङ ट्याक्सी’मा पनि जान सकिन्छ।

दि क्लिफमै गाडी सहितको प्याकेज बुक गरेर पोखरा-कुस्मा दुई तर्फी गाडीको सुविधा लिन सकिन्छ। जम्प नगर्ने तर हेर्न मात्र जान चाहने व्यक्तिले २ हजार रुपैयाँ तिरेर ‘गो एन्ड सी’ प्याकेज रोजेर दुई तर्फी गाडी र खानाको सुविधा लिन सक्छन् । २०७३ साल देखी पुलको निर्माण सुरु भएको थियो। पुल र रिसोर्ट २०७६ अन्तिममा तयार भए पनि लकडाउनले गर्दा २०७७ को दसैँ पछि सुरु भएको हो।

Facebook Comment

छुटाउनुभयो कि?