लकाङ घ्याङमा पुग्यो बिधुत,गाउँलेले मनाए खुसीयाली

पर्यटन बजार८ चैत्र २०७७, आईतवार मा प्रकाशित

लकाङ घ्याङमा पुग्यो बिधुत,गाउँलेले मनाए खुसीयाली

चैत ८ ,सिन्धुपाल्चोक। पाँचपोखरी थाङ्गपाल गाउँपालिका वाड नम्बर २ बरुवाको लकाङ घ्याङ बिधुत प्रसारण लाइन सँग जोडिएको छ। लकाङ घ्याङ गुम्बामा आज तीन लाइनको विद्युत्  प्रसारण लाइनको उद्घाटन गर्दै गाउँलेले खुसीयाली मनाएका हुन्। 

काठमाण्डौबाट नजिकैको (मात्र ९० किलोमिटर) प्रमुख पर्यटकीय गन्तव्य मानिने यो क्षेत्रमा अझ सम्म विद्युतीय प्रसारण नहुँदा यहाँ रहँदै आएका स्थानीय जागरूक युवा दावा शेर्पा लगायत स्थानीय सरकार, गाउँपालिकाको अग्रसरतामा यो विद्युत् आपूर्ति सहज रूपमा सम्पन्न भएको स्थानीयहरूले बताए। 

काठमाडौँ बाट नजिकै पर्ने भएतापनि अहिले सम्म दुर्गम क्षेत्रको रूपमा परिचित यस क्षेत्रलाई झन् २०७२ सालको भूकम्पले तहस नहस नै बनाएको थियो । त्यसले झन् आक्रान्त बनेका स्थानीयहरू गाउँ छाड्दै जान थालेको अवस्थामा विकासको सानो कार्यले बिस्तारै पुनः स्थानीयहरु आफ्नो पुरानो थलो मा फर्किनेमा  स्थानीय जागरूक युवा दावा शेर्पाले विश्वास लिएका छन् ।

 शेर्पाले बत्ती जडानको सुरुवातकर्ता सोनाम जाङबु शेर्पा यो संसारमा नरहनु भएपछि आफ्नो दाजुको सपनालाई पुरा गर्न आफूले सानो भूमिका निर्वाह गरेको बताए । ” गाउँमा बत्ती पुर्‍याउने मेरो दाइको ठुलो सपना थियो तर दुर्भाग्यबस उहाँको असामयिक निधन भयो तर उहाँको सपनालाई मैले निधन हुन दिन सकिन र कहिले हुन दिन्न पनि ” उनले भने। 

बरुवा वडा नं २ का सदस्य पेम्बा शेर्पाले आफ्नो मन्तव्य राख्दै पाँचपोखरीको सबैभन्दा दुर्गमस्थल भएकाले स्थानीय गाउँपालिका र स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए  । यस गाउँको विकास एकलको प्रयासले सफल नहुने हुँदा सबैले एकजुट भएर अघि बढ्नु पर्ने समेत शेर्पाले बताए। 

नेपाल विद्युत् प्राधिकरणका प्रशासकीय अधिकृत युवराज दुलालले आफूले यस विद्युत् प्रसारण गर्ने सम्बन्धमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए  । सोनम  दाइको सपना आज केही हद सम्म पुरा भएको छ , आफ्नो गाउँलाई विकास गर्ने उहाँको सपना र भाइ तिमीले साथ दिनुपर्छ भनेको हिजो जस्तो लाग्छ तर आज हामी बिच उहाँ रहनुभएन , दुलालले बताए। “

त्यसैगरी उपत्यका पर्यटन कार्यालयका प्रमुख टङ्क भट्टराईले शुभकामना दिँदै यस बिधुत प्रसारण कार्य र यहाँका जनताको एकजुट भएर कार्य गर्ने शैलीको तारिफ गरे। उनले भने ” सरकार गाउँ गाउँमा पुगेको छ, हरेक ठाउँमा सुविधाहरू पुर्‍याउन सरकार लागेको छ र बिस्तारै सफल पनि भएको छ त्यसको नमुना यो हिमाली क्षेत्रमा विद्युत् पुग्नु पनि हो र जनताको साथ सहयोगले जुनसुकै काम पनि गर्न सकिन्छ भन्ने एक महत्त्वपूर्ण उदाहरण हो। “

यसैगरी स्थानीय निकाय, सरकार र स्थानीयबासीहरु सहकार्यमा अघि बढ्दै जाने हो भने धेरै सम्भावनाहरू यस स्थानमा रहेको उनले बताए।  यो स्थान आफैँमा  सुन्दर, पवित्र धार्मिक तीर्थस्थल आमायाङ्ग्री र भाषा भेष भूषा र मौलिकतालाई प्रयोग गरेर यो क्षेत्रलाई पर्यटकीय हबको रूपमा निर्माण  गर्न सकिने समेत भट्टराईले बताए। साथै आफूले गर्न पर्ने जुनसुकै सहयोग गर्न तत्पर रहेको समेत उनले बताए  ।

बरुवाका वडा अध्यक्ष पासाङ लामाले विभिन्न चुनौतीका बाबजुद विद्युतीय लाइन प्रसारण गर्न सफल हुँदा यस आयोजनाको मुख्य हकदार सोनाम शेर्पालाई बिर्सन नहुने बताए । यस स्थानमा विभिन्न धार्मिक पर्यटकीय स्थलहरू भएकाले यसको भरपुर प्रचार प्रसारको लागि आफ्नो गाउँपालिका र वडाले विभिन्न क्षेत्र बाट काम गर्दै  पाँच पोखरी र आमा यंग्री लाई जोड्ने कार्यमा अघि बढेको उनले बताए। अबको केही वर्षमा यो योजनाले पूर्ण रूप पाउने कुरामा आफू विश्वस्त रहेको बताउँदै उनले यस क्षेत्रको पर्यटकीय विकास गर्न स्थानीय जनताहरूको महत्त्वपूर्ण हात हुने भएकाले स्थानीयहरूलाई पर्यटन मैत्री वातावरण सृजना गरिदिन अनुरोध समेत गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै पाँचपोखरी थाङ्गपाल गाउँपालिकाका अध्यक्ष  टासी लामाले आफूले आफ्नो क्षेत्रको विकासको लागी गर्न पर्ने सबै कुरा गर्दै गरेको र पर्यटकीय क्षेत्रमा पनि आफ्नो स्थानलाई अरूभन्दा अग्र रूपमा अगाडि बढाइरहेको बताए । आगामी दिनमा बिजुली बत्ती , सडक स्तरोन्नति , पर्यटन सम्भावनाको खोजी सँगै बस्तीमा स्थानीयलाई फर्काउन आगामी दिनमा पनि अग्रसर बनेर कार्य गरिरहने उनले बताए। 

कार्यक्रम मा स्थानीय स्याप्रू नृत्य, सांस्कृतिक नृत्य लगायतको आकर्षक प्रस्तुति रहेको थियो । यस स्थान पर्यटकको लागि अत्यन्तै उपयुक्त स्थान भएकाले अहिले यहाँ विभिन्न स्तरका होटेल रिसोर्टहरु पनि निर्माण हुन् थालेका छन् । यहाँ बाट पाँचपोखरी, आमायाङ्री, लाङटाङ, मेलम्ची घ्याङ, तारके घ्याङ, अमृत कुण्ड लगायतका प्रमुख धार्मिक ऐतिहासिक तथा पर्यावरणीय पर्यटनको भरपुर आनन्द लिन सकिन्छ भने यस स्थानबाट गोसाईंकुण्ड हिमाल, लाक्पा दोर्जे हिमालको दृश्य अवलोकन गर्न सकिन्छ।

Facebook Comment

छुटाउनुभयो कि?