कोरोनाको दाेस्रो लहरको जोखिम बढ्यो !

पर्यटन बजार९ चैत्र २०७७, सोमबार मा प्रकाशित

कोरोनाको दाेस्रो लहरको जोखिम बढ्यो !

चैत ९,काठमाडाैं । बढ्दो हेलचेक्र्याइँ र बेवास्ताका कारण कोरोना संक्रमणको दोस्रो लहरको जोखिम अत्यधिक बढेको छ । त्यसैले, फेरि एकपटक सबै जना चनाखो हँुदै सावधानी अपनाउनुपर्ने अवस्था आएको छ । मास्क र स्यानिटाइजरको उचित प्रयोग तथा भौतिक दूरीमा विशेष जोड दिएर सावधानी अपनाउन सकिए दोस्रो लहरको कोरोनाबाट बच्न सकिने चिकित्सकले बताएका छन् ।

छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा पनि संक्रमणको थप जोखिम बढेको हो । यसअघि पनि पहिलो चरणमा भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि त्यसको अत्यधिक असर देखिएको थियो ।

यसपटक पनि भारतमा संक्रमितको संख्या अत्यधिक बढ्नु तथा नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने प्रवृत्तिका कारण संक्रमणको दोस्रो लहर आउन सक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका हुन् ।

केही दिनयता नेपालको छिमेकी देश भारतमा कोरोना संक्रमण दर बढ्दोक्रममा रहेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्याकंमा भारतमा ३ लाख ९ हजार ८७ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपाल जोखिममा रहेको जनस्वास्थ्य विज्ञ बताउँछन् ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना नगरे नेपालमा दोस्रो लहर भित्रिने बताए । उनले भने, ‘भारतमा कोरोना महामारीको दोस्रो लहरको संकेत देखिएको छ । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरेर दोस्रो लहर रोकथाम गर्नु जरुरी छ । संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले भिडभाडमा बस्दा संक्रमण फैलिने भन्दै सचेत रहनुपर्ने बताए । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार केही दिनयता भारतका महाराष्ट्र, मध्य प्रदेश, छत्तीसगढ, उत्तरप्रदेशमा संक्रमण दर बढ्दो छ । यसैबीच, सरकारले भारतबाट आउने १४ नाकामा हेल्थ डेस्क सक्रिय बनाएको जनाएको छ ।

संक्रमण दर घटे पनि जोखिम कायम नै रहेकाले संक्रमणको दोस्रो लहर आउन सक्ने देखिएको छ । संक्रमण दर घटेको देखिएपछि केही दिनयता आम नागरिकले जनस्वास्थ्यका मापदण्ड मिच्दै आएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्कको समुचित प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम राख्नुपर्ने बताउँदै आए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

मापदण्डअनुसार सबै किसिमका जमघट तथा भेलामा कम्तीमा दुई मिटरको दूरी अनिवार्य कायम गर्नुपर्ने हुन्छ । यस्तै, घरबाहिर निस्किनेबित्तिकै मास्क अनिवार्य रूपमा लगाउनुपर्ने हुन्छ । कार्यालयमा हात धुने व्यवस्था र स्यानिटाइजर अनिवार्य राख्नैपर्ने हुन्छ । कुनै पनि कार्यालयको भवन प्रवेशअघि अनिवार्य रूपमा साबुनपानीले हात धुनैपर्ने व्यवस्था मापदण्डमा छ । मापदण्डअनुसार आधारभूत रूपमा कुनै पनि वस्तुलाई नछुने, आफ्नो आँखा, कान, नाक र मुखलाई अनावश्यक रूपमा छुन हुँदैन । यस्तै, खोक्दा वा हाच्छिउँ गर्दा रुमाल वा टिस्यु पेपरले नाक छोप्नुपर्ने र हाच्छिउँ गर्दा कुहिनाले नाक छोप्नुपर्ने हुन्छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मानिस मानिसबीच भौतिक दूरी कायम हुनुपर्ने बताए । उनले भने, ‘संक्रमित संख्या घटे पनि जोखिम कायम छ । त्यसैले, मास्कको उचित प्रयोग र भौतिक दूरी कायमलाई ध्यान दिऔं ।’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले संक्रमण फैलिन नदिन स्वयं व्यक्ति सचेत हुनुपर्ने उनले बताए ।

भिडभाड, सभा र जुलुस नगर्न अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने कुनै पनि किसिमका सभा–सम्मेलन नगर्न सबैलाई अपिल गरेको छ । भारतमा कोरोना संक्रमण दर बढेसँगै मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी देशभर कुनै पनि सभा तथा सम्मेलन आयोजना नगर्न अपिल गरेको हो ।

नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, -याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र कार्य नगर्न÷नगराउँन स्वास्थ्य मन्त्रालयले आह्वान गरेको हो । यद्यपि, कलेज, सिनेमा हल निर्बाध रूपमा जनस्वास्थ्यका मापदण्ड पालना नै नभई सञ्चालनमा छन् ।

मन्त्रालयले हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्नेगरी जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरेको छ । मन्त्रालयले यसअघि पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न र हेलचेक्र्याइँ नगर्न अपिल गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । नेपालमा हालसम्म २ लाख ७५ हजार ९ सय ६ जनामा संक्रमण देखिएको छ । आइतबार मात्रै देशभर ७७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?