क्यान्जिन रि चुमेको क्षण

पर्यटन बजार९ चैत्र २०७७, सोमबार मा प्रकाशित

क्यान्जिन रि चुमेको क्षण

राजेन्द्रमान डंगोल

चैत ९,काठमाडाैं । सोचेको थिएँ– ‘लाङ्टाङ नेपालको पदयात्राको तेस्रो गन्तव्य भएकोले बाटोमा विदेशी पदयात्रीहरू पनि भेटिने छन् !’
तर भेटिनँ ।
सिङ्गो नेपालकै पर्यटनको विशिष्ट पहिचानको सामथ्र्य राख्ने यो क्षेत्रमा विदेशीहरू नदेखिनु आफैँमा विडम्बना थियो । “अहिले त तपाईंहरूको सिजन नै हो । विदेशी पर्यटकहरू कत्तिका छन् आजकल ? मैले होटलवालालाई सोधेँ ।

“खासै छैन । फाट्टफुट्ट मात्र आइरहेका छन् । माओवादी द्वन्द्व झन्झन चर्किरहेको छ । शान्त नभइकन विदेशीहरू त के आउलान् र खोई ! यस्तै हो भने त होटल नै बन्द गर्नुपर्ने भइसकेको छ ।” उनले दुखेसो पोखे ।

सिङ्गो राष्ट्र नै द्वन्द्वको चपेटामा परेको बेला लाङटाङ क्षेत्रमात्र अछुतो रहन के सक्थ्यो र ! सरकारले हारेको थिएन । विद्रोहीले पनि जितेका थिएनन् । यदि हारेका थिए भने निरीह जनताले मात्र हारेका थिए, म र मजस्तै व्यवसायीले ।

०००
बिहान सात बज्दा तयार भइसकेको थिएँ म । धर्ती छ्याङ्ङ उघ्रिसकेको थियो । एक कप कफी पिएर होटलको आँगनमा टहलिँदै थिएँ । साथीहरू बिस्तारै ब्रेकफास्ट लिनका लागि डाइनिङहल छिर्दै थिए ।

लामा होटलका होटलहरू महोत्सवमा आएकाहरूले नै भरिएका थिए ।
लामा होटल २,४१० मिटरबाट लाङटाङ ३,४३० मिटर आरोहण गर्नु थियो । डाइनिङ हलमा हेरेँ, साथीहरू पेट उकास्ने काम सकेर गफिँदै थिए । सोचँे– ‘उनीहरू कोठामा गएर झोला लिएर आउन्जेल बाटो छोट्याउँदै गरुँ ।’ सुस्तरी उँभो लागेँ म नेपथ्यमा लाङटाङ खोलाले गाएको गीत सुन्दै । चराचुरुङ्गीहरूको मधुर आवाजको आनन्दमय अनुभूतिबाट आह्लादित हुँदैँ थिएँ ।
लाङटाङ राष्ट्रिय निकुञ्जभित्रको एउटा जङ्गलमा थिएँ म । सुनेको थिएँ– यहाँ खोटेसल्ला, गोब्रेसल्ला, पतझडसल्ला र धूपीले मीठो सुगन्ध फिजाउँछ । प्रत्येक वसन्तमा लालीगुराँसले रङको बहार ल्याउँछ । चितुवा, हाब्रे (रेड पान्डा), कस्तुरी मृग, हिमाली भालु, थार, घोरल, रातो बाँदर र लङ्गुरले निकुञ्जलाई पहरा दिन्छन् ।’
सोच्दै थिएँ– ‘हाब्रे देख्न पाइएला त !’
तर, देखिएन ।
जङ्गलमा लङ्गुर बाँदरहरूको रजगज थियो । कालो अनुहार, लाम्चो कद, लामालामा खुट्टा र पुच्छर । एउटा रूखबाट अर्कोमा हाम फाल्दै गरेका ती बाँदरहरूको चर्तिकला हेरिरहेँ । लाग्यो– यी बाँदरहरूलाई तालिम दिएर उपयोगिता लिन पाए पो ! मानिसले गर्न सक्ने काम यिनीहरूले के चाहिँ सक्दैनन् र ! आखिर जादु गर्नेहरूले त बाँदर नचाएकै छन् ।

रामायणकालमा रामले सीताको खोजीमा बाँदरहरूकै साथ लिएका त थिए । महोत्सवकै सिलसिलामा आएका रसुवाका स्थानीय विकास अधिकारी माधवप्रसाद गड्तौला र अधिकृत शिवप्रसाद प्याकुरेल भेटिए । उनीहरूको आफ्नै समूह थियो, हिँडाइको लय आफ्नै र रमाइलो पनि आफ्नै किसिमको । हाँस्दै, हँसाउँदै आइरहेका थिए उनीहरू । अत्यन्तै रसिक देखिन्थे शिवप्रसाद ।
सोचेँ– ‘एकछिन रमाइला मान्छेहरूको साथ लागूँ ।’

आफ्नो समूहलाई छाडेर उनीहरूसँगै पाइला मिलाउन थालेँ । उकालो चढुन्जेल उनले अकबर र बीरबलका थुप्रै रोचक कथाहरू पनि सुनाए । हिँडेर थाकेपनि कथा भनेर थाकेनन् उनी । उकालोमा कथा भन्दै गर्दा एकैछिन रोकिएर लामो श्वास तान्थे र कथा भन्दै जान्थे उनी । उनका कथाहरू सुन्दै जाँदा ‘घोडातबेला’सम्म पुगेको पत्तै भएन । लालीगुराँसको जङ्गलमाझ खाली चौर र सानो बस्ती । ‘घोडातबेला’ त्यही बस्तीको नाम । ‘घोडातबेला’ कति मीठो नाम ! कुनै बेला घोडा राख्ने भएकोले घोडातबेला भनिएको रे । मानव वस्तीको विस्तारपछि पनि यो ठाउँलाई ‘घोडातबेला’ नै भनिन्छ ।

चिया पिएपछि उनीहरू अगाडि बढे । म आफ्नै ग्रूपलाई पर्खीबसेँ । किनकि म एसटीएन गु्रपको थिएँ । आधा घण्टापछि दीपेन्द्र र सेढाईंजी आइपुगे । लामा होटलबाट घोडातबेला पुग्दा ६०० मिटरको उचाइ पार गरिसकेका थियौँ ।
सेढाईंजीले भने– ‘हाम्रो लन्च यहीँ हुन्छ ।’ दीपेन्द्रले भने– ‘कति सुन्दर ठाउँ ! कति मीठो बास्ना धूपी र खोटेसल्लाको । अझ यो महोत्सव वसन्त ऋतुमा पारेको भए लालीगुराँस फुलेको देख्न पाउने थियौँ !’ बाह्र बजिसकेको थियो । एकपछि अर्को गर्दै सहयात्रीहरू आइपुगे । सबैभन्दा पछाडि आइपुगेका थिए निर्मला र जेरोन । अस्तिको दिनदेखि नै सँगै देखिन्थे ती दुई ।

काठमाडौँको खाल्डोमा ओइलाएको जीवन लेकको चिसो हावामा आउँदा बौरिदो रहेछ, हगि नीमाजी !” मैले व्यङ्ग्यात्मक पारामा भनेँ ।
उनले हाँस्दै भने, “खोइ ! निर्मलालाई थाहा होला कि !”
हाँसेरै टरिन् उनले ।
लाग्यो– ‘हाम्रा कुराको आशय उनले बुझिन् ।’
खाना खाएर लाङटाङतर्फ कस्सिँदा मध्याह्न भइसकेको थियो । उचाइ क्रमशः बढ्दै थियो । हावामा अक्सिजनको मात्रा कम हुने भएकोले स्वाँस्वाँ बढ्दै थियो सबैलाई । अझै चारसय मिटर बाँकी थियो, लाङटाङ पुग्न । ‘२,५०० मिटरभन्दा माथि लेक लाग्ने सम्भावना हुन्छ है !’ सचेत गराए योगीजीले ।

हिमालको हावा सर्सराइरहेको थियो । बाटोमा लहराइरहेका फूलहरूले लोभ्याउँथ्यो । बतासको नाद सौन्दर्यमा अनौठा रहरहरू बयली खेलिरहेका थिए मेरो मनभित्र । प्राकृतिक दृश्यपानको एउटा मज्जा थियो त्यो । थाङस्याप पुग्दा स्वागत गरे त्यहाँका बासिन्दाले । सँगसँगै लाङटाङ लिरुङ र लाङटाङ– २ ले हाँसेर स्वागत गरिहेका थिए । चियापानपछि पाइला चाल्यौँ, कछुवा गतिमा ।

क्यान्जिन गुम्बा पुग्ने परम्परागत मार्गमा हिँडिरहेका थियाँै हामी, ढुङे्गेनी थुम्काहरूलाई पार गर्दै । दुखेको आभास भइसकेको थियो मेरा घुँडा, छेपारी र पैतालाहरू । ३,२३० मिटरको छ्याम्की पुग्दा नम्रता र आस्थाले असहज महसुस गरिसकेका थिए । टाउको दुखेको र श्वास फेर्न कठिन भइसकेको थियो उनीहरूलाई । छिनछिनमा हाँसिरहनु पर्ने उनीहरू ओइलिएको सागजस्तै देखिन्थे, लेक लागेपछि । मैले उनीहरूलाई केही बेर आराम गर्न र लाङटाङ पुगेपछि आधाचक्की डायोमक्स सेवन गर्न सल्लाह दिएँ ।

छ्याम्कीबाट एक घण्टा लाग्यो लाङटाङ पुग्न । फराकिलो घाँसे उपत्यका, झुरूप्प परेको बस्ती र हावाको फुँइकीमा फर्फराएका रङ्गिन लुङ्दरहरू । अति नै सुन्दर देखिन्थ्यो लाङटाङ बस्ती । लाङटाङ गाउँ प्रवेश गर्ने बित्तिकै आँखा अगाडि टुप्लुक्किए ग्यान्चेन्पो हिमाल, लाङ्सिसा रि ।
लाग्थ्यो– ‘हामी हिमालहरूसँग लुकामारी खेल्दै थियौँ र हिमालहरू हामीसँग ।’

मैले सेढाईंजीसँग लाङटाङको अर्थ सोधेँ । उनले कहे– ‘बृदिमबाट ल्याएको याक यहाँ आइपुगेपछि घाँसे चौरमा चरी अघाएर आनन्दसँग टाङ फट्टाएर सुतेको थियो रे । स्थानीय भाषामा गोरु अघाएकोलाई ‘लाङडाङ’ भनिन्छ । त्यसपछि यो ठाउँलाई ‘लाङडाङ’ भनिन थालियो रे । पछि अपभ्रंश हुँदै जनजिब्रोमा ‘लाङटाङ’ भन्ने शब्द झुन्डिन थाल्यो ।

०००
आज आठौँ दिन ।
यात्रामध्येकै सबैभन्दा छोटो गन्तव्य पनि । आजै क्यान्जिन गुम्बा पुगेर यात्राको अन्तिम गन्तव्य क्यान्जिन रि आरोहण गर्नु छ । लाङटाङ हिमालहरूको सञ्जालभित्र छिर्दै थियौँ हामी । अल्टिच्युड सिकनेसले छोएका आस्था र नम्रताले सहज महसुस गरेका थिए । उनीहरू पुरानै लयमा हिँडेको देख्दा खुसी लाग्यो मलाई ।

३,४३० मिटरको उचाइमा पुगेकोले होला, सँगै उभिइरहेको लाङटाङ लिरुङजस्तै आकासिएको थियो, मेरो आत्मविश्वास । प्रत्येक पाइलापाइलामा ऊर्जा भरिएको अनुभूति भइरहेको थियो । मुन्डु पुगेपछि नम्रताको अनुहारमा हेरेँ । हल्का मलिन देखिन्थिन् उनी । सधैँ खुसी देखिने उनी गम्भीर मुद्रामा देखिँदा खसखस लाग्यो मलाई ।
सोधेँ, “तिमीलाई फेरि समस्या भयो कि ?
उनले भनिन्, “छैन दाइ ।”
“उदास देखिन्छ्यौँ नि त !” फेरि सोधेँ ।
“हामी सँगै हिँड्न थालेको पनि यतिका दिन भैसक्यो । तर यो यात्रा छिट्टै अतीत बन्दै छ । अलि नमजा लागिरहेको छ ।” उनले भनिन् ।
कुरा सही थियो उनको । मैले त यादै गरेको रहेनछु । यात्रा तालिकाअनुसार तीन दिनमा काठमाडौँ फर्कँदै थियौँ हामी ।

‘नदेखुन्जेल को हो, को हो, देखेपछि माया मोह’ भनेको साँच्चै हो रहेछ । उनले त्यसो भनेपछि नरमाइलो लाग्यो मलाई पनि । ‘साँच्चै, यति रमाइलो यात्रा अतीत बन्दै छ । उप्m !’ मनोलापमा थिएँ म ।

‘यात्रा अतीत बन्नु भनेको हामी बीचमा कहिल्यै भेट नहुने होइन ! फेरि हामी पर्यटनमै लाागि परेकाहरू भेटघाट त भइहाल्छ नि ! नरमाइलो मान्नुपर्ने के छ र !’ आफैलाई विश्वस्त पारेँ मैले ।
ठाउँठाउँमा रोकिदैँ हिँडिरह्यौँ हामी । क्यान्जिन गुम्बा नजिकिँदै गर्दा छेर्को रि, याला पिक, दोर्जे ल्हाक्पा, लाङटाङ लिरुङ, गान्चेम्पोजस्ता अग्ला शिखरहरू आँखामा चम्किन थाले । तीन घण्टाको हिँडाइपछि क्यान्जिन गुम्बाको डिलमा पुग्यौँ । पृष्ठभूमिमा लाङटाङ लिरुङ, चेर्काे रि र नीलो आकाश बोकेको क्षितिज । थपक्क बसेको रहेछ क्यान्जिन गुम्बा क्यान्जिन रिको न्यानो काखमा ।

आठौँं शताब्दीमा बौद्ध तान्त्रिक गुरु पद्मसम्भवले अमरत्व प्राप्त गरेको ठाउँ । ३,८३० मिटर उचाइमा रहेको यो सुन्दर उपत्यकाको रमणीयता अति नै सौम्य र शालीन लाग्यो मलाई । ७,२४६ मिटरको लाङटाङ लिरुङ मन्दिरको गजुरजस्तै लाग्थ्यो । लाङटाङ रि र दोर्जेलाक्पा, तिब्बतमा पर्ने स्यान्जेन हिमाल र ह्याङ्सातेन्जीजस्ता अनगिन्ती हिमालहरू नजिकै देखिन्थे । एउटा ठूलो ढुङ्गामाथि बसेर मैले त्यो भब्यतालाई चिहाइरहेँ । स्वप्निल तरङ्गहरूमा आफैँभित्र नयाँ रङ्गभर्दै थिएँ म ।


क्यान्जिन गुम्बा पुगेपछि योगीजीले भने, “क्यान्जिन रि जानका लागि दुई बजे तयार हुनुहोला है !”
योगीजीले दिएको समयमै तयार भएँ । आरोहण गर्नु थियो, पाँचसय मिटरको उचाइ । नम्रता र आस्थाबाहेक हामी सबैजना क्यान्जिन रि आरोहणका लागि तयार भयौँ । अगाडि थिए, जेरोन र निर्मला नेतृत्व गर्दै । र, सबैभन्दा पछाडि थिएँ म । लर्कन लागेर उक्लँदै थियौँ हामी, त्यो ठाडो उकालेमा । पन्ध्र मिनेट मात्र भएको थियो, उक्लन सुरु गरेको ।

‘कति ठाडो उकालो ! मेरो त प्राण नै जालाजस्तै भइसक्यो !’
अगाडिबाट आवाज आउँछ । लामालामो सुस्केरा हाल्दै उँभो लागिरहेको बेला मैले त्यो आवाज कस्को थियो भनेर ठम्याउन सकिरहेकै थिइनँ । पहाडको छातीमा कोरिएका नागबेली धर्साहरू टेक्दै उकाल्लियौँ निरन्तर, निरन्तर । यस्तो लाग्थ्यो कि त्यो दिन हामी गगन चुम्दै थियौँ । पदयात्रा चरमोत्कर्षमा पुग्नैलाग्दा मैले नम्रता र आस्थालाई ‘मिस’ गरिरहेका थिएँ । त्यत्तिकै याद आइरहेको थियो, श्रद्धाको पनि । लागिरहेको थियो– सायद उनी भइदिएको भए हामीसँगै क्यान्जिन रि आरोहण गर्ने आँट गर्थिन् कि !

विशिष्ट नाता गाँसिइसकेको थियो हामीबीचमा । दाजु, भाइ, बहिनी, साथी र भाञ्जीको । पदयात्रामा अङ्कुराएको हामीबीचको भातृप्रेम हुर्किरहेको थियो पदयात्रासँगै । आफैँमा एउटा उचाइमा पुगिसकेको पवित्र प्रेमलाई नयाँ उचाइमा पु¥याउँदै थियौँ हामी; क्यान्जिन रिको शिरसम्म । मैले बेन्जामिन डिजरायलीको कथन सम्झेँ– “हामी सबै प्रेम गर्नका लागि उत्पत्ति भएका हौँ । यो नै अस्तित्वको सिद्धान्त हो । र, एक मात्र अन्त ।”

साढे तीनसय मिटर उक्लिएपछि डङ्की पिकमा पुगेर एकक्षण रोकियौँ र तस्बिर खिच्यौँ । हामी जति उक्लन्थ्यौँ मुस्कुराइरहेका हिमालहरू त्यति नै नजिक आउँथे । लाग्थ्यो, समृद्धिको बिहानी डाकिरहेका छन् ती हिमालहरूले, हाम्रा लागि । डेढ घण्टा उक्लेपछि हामी लमतन्न सुतिरहेको केन्जिङ रिको शिरमा पुग्यौँ । प्राकृतिक सौन्दर्य दृश्यावलोकनको एउटा उत्कृष्ट बिन्दु । जता हे¥यो त्यतै हिमालै हिमाल । ३६० डिग्रीमा फैलिएका लाङटाङ लिरुङ, नयाँ कङ्गा, दोर्जेलाक्पा, ग्यान्चेन्पो, लाङटाङ रि, चेर्को रि, याला पिक र तिब्बतको स्यान्जेन र ह्याङसातेन्जीे हिमालहरूको विशाल सन्जाल । लाग्थ्यो– ‘क्यान्जिन रि यी सबैको मुटु हो ।’

प्रकृतिको यो अलौकिक रूप देख्दा म यति आह्लादित भएँ कि मैले खुसी व्यक्त गर्ने शब्द नै पाइनँ । त्यहाँ पुगेपछि हामी सबै आ–आफ्नै किसिमले रमाउन थाल्यौँ । नीमाजी तस्बिर खिच्नै ब्यस्त । दीपेन्द्र आफ्नो जिम्मेवारी निर्वाह गर्दै थिए । उनले निर्मला र छेवाङसँग वाइट लिए । र, मसँग लिए अन्तिम बाइट ।
“यहाँ आइपुग्दा तपाईंले कस्तो महसुस गरिरहनुभएको छ ?” उनले एउटै मात्र प्रश्न सोधेका थिए मलाई । “एउटा प्रकृतिपे्रमी मान्छेले यो प्राकृतिक छटाभित्र आइपुग्दा जस्तो महसुस गर्छ त्यस्तै।” मेरो जवाफ थियो ।
हामीले लामै समय बितायौँ त्यहाँ किनकि हाम्रा लागि यस्ता क्षणहरू सितिमिति आइरहन्नथ्यो । पश्चिम पुगेर घामले अन्तिम किरण छर्दैगर्दा नववस्त्र र गहनाले सजिएकी नवदुलहीझैँ लाग्ने सुनौला तस्बिर देखिए श्वेत जलफूलका ओढ्ने ओढेका शिखरहरू ।
लाङटाङ क्षेत्रका प्रत्येक हिमाल, पहाडका थुम्का, वस्ती, र झरनाहरूसँग परिचित हुन सकेँ । तर नाङ्गै दौडिरहने लाङटाङ खोला, आवरणविहीन बहने चिसो वायुको बहावसँगै लाङटाङको आकाशमा उडिरहने पन्छीहरू, पहिरनविनाका फूल र ती फूलमा झुम्मिएर भुन्भुनाइरहने माहुरीका रहस्य भने मैले बुझ्न सकिनँ ।

आँखाले देखेका तमाम दृश्यहरू कल्पनामा छङ्छङिन थाले । पहाडी बाटो, हरिया जङ्गल, शरदको नीलो आकाश र चञ्चल वायुजस्तै सहयात्रीहरू । दिग्भ्रमित थिएँ म, ती प्रत्येक पलहरूमा । मेरा यात्राका ती बिहानहरू, मध्याह्नहरू र साँझहरू ! साँझहरू, मध्याह्नहरू र बिहानहरू ! कसरी बिर्सन सक्छु र ! सोचेँ– ‘थ्याङ्क गड ! यो यात्रामा सहभागी भएर ठीक गरेछु।’ पदयात्राका पाइलाहरूले दिएका रहस्य, रोमाञ्च र मनोरञ्जनका अनुभूतिले अनुगृहीत भएँ म । क्यान्जिन गुम्बा ओर्लदैगर्दा गुन्गुनाएथेँ–
लमतन्न सुतिरहेका
विशाल पहाडहरूका छाती–छाती टेक्दै
क्यान्जिन रिसम्म आश्वादित दृश्यहरू
कसरी मेटिएला र (!)?
मानसपटलबाट एक यायावरको ।
स्याब्रुको कोखा छेडेर बेगिने
लाङटाङ खोला र भोटेकोशी होस्
वा, स्वागतमा क्यान्जिन रिको बुर्जाबाट
लुङ्दरले हल्लाएको हात
या नागथलीसँग मितेरी गाँस्न लालायित
स्वर्णिम हिमशैलहरू
आइरहन्छन् अन्तस्करणमा
अथाह याद बनेर
त्यसो त कम स्मरणीय थिएन
सम्पदा गाउँहरूको बसाइँ
कम आनन्द थिएन
तातोपानीमा मारेको डुबुल्की
कम न्यानो थिएन
हार्दिकतापूर्ण स्वागत र बिदाइ
कम रोचक थिएन
सेलोभाकामा नाचेका क्षणहरू र,
त कब्जा गरिरहन्छन् मुटु
निःशब्द यो यायावरको !
सुन्दैमा मुखै रसाउने टिमुरको अचार
परपरी भुटेको मकै, भटमास
र, उसिनेको लेकाली आलुको स्वादमा
तीनपानेको महकले आँत भिजाउँदा
मलम बनेथ्यो भोको पेटको जलनलाई
र, त हट्नै मान्दैनन् मगजको भूगोलबाट
न्याना मेजमानीका उच्च चुलीहरू ।
मेरो यात्राका
बिहानहरू, मध्याह्नहरू र साँझहरू
पहाडी बाटो,
निर्जन हरिया जङ्गल,
शरदको नीलो आकाश
र, चञ्चल वायुजस्तै सहयात्रीहरू
कसरी बिर्सन सक्छु र !
तर, भोलि नै अतीत बन्दै छ यति रमाइलो यात्रा
त्यसैले त गह्रुङगो मन बोकेर
हात हल्लाइरहेछु र, गरिरहेछु आह्वान
भोलिको सुनौलो प्रभातको ।

१२ नाेभेम्बर २००५

Facebook Comment

छुटाउनुभयो कि?