पहिरोले परुई खोला थुनिँदा बन्यो ताल

पर्यटन बजार१० चैत्र २०७७, मंगलवार मा प्रकाशित

पहिरोले परुई खोला थुनिँदा बन्यो ताल

चैत १०, काठमाडौं ।चितवनको माडी नगरपालिका–७ को डाँडामा आएको सुख्खा पहिरोले परुई खोला थुनिएको छ । सिँचाईका लागि प्रयोग हुने कुलोमा पानी नआएपछि के भएको रहेछ भनेर हेर्न पुगेका स्थानीयले रुखबिरुवासहित ठूलो पहिरोले खोला थुनिएको देखेका थिए ।

स्थानीयका अनुसार झण्डै ३ किलोमिटर लामो र १ सय मिटर चौडाइको ताल बनेको छ । खोलाले अहिले नै पहिरो बगाउन सक्ने जस्तो देखिँदैन, तर वर्षायाममा जोखिम बढ्न सक्ने देखिन्छ । सोमेश्वर पर्वत शृंखलामा पर्ने यो क्षेत्रमा कमजोर भू–बनोट रहेकाले ‘ताल टाउकोमा झुण्डाइएको तरवार’ जस्तो भएको स्थानीय बताउँछन् ।

परुई खोला आसपासमा बस्ती छन् । केही तल चेपाङ बस्ती छ । कुसुमखोलाबाट ल्याएका चेपाङलाई माडी नगरपालिकाले यहाँ ल्याएर राखेको छ । अहिले पहिरोले पुरिएको खोलाको बाँध फुटे घर बगाउने खतरा भएको स्थानीय छविलाल चेपाङ बताउँछन् ।

माडी–७ का वडाध्यक्ष बालकृष्ण सापकोटाले जोखिम बढ्न सक्ने भएकाले समयमै सतर्कता अपनाउनुपर्ने बताए ।

मेयर भन्छन् : अडिए ताल बनाउँछौं

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले पहिरो आएर थुनिएर बनेको ताल निकै ठूलो भएकाले यसको संरक्षण गर्ने वा नगर्ने भन्ने टुंगो वर्षायामपछि मात्र लगाइने बताउँछन् ।

‘अहिले हामीले एक छेउबाट ओभरफ्लो भएको पानीलाई निकास दिएका छौं,’ मेयर ढकालले भने, ‘वर्षायाममा पानीले बगायो भने सकिहाल्यो, बगेन र बस्यो भने हामी अर्को वर्ष नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर बलियो संरचना बनाउनतिर लाग्छौं । आउने वर्षायाम परीक्षणकालका रुपमा नै हेछौं ।’
सय मिटरको ड्याम अडिएमा थप संरचना बनाएर पर्यटकीय स्थल बनाउने सोच रहेको उनले बताए ।

Facebook Comment

छुटाउनुभयो कि?