कामी रिता शेर्पाले प्राप्त गरे माउन्टेन गाइडको अनुमति पत्र

पर्यटन बजार११ चैत्र २०७७, बुधबार मा प्रकाशित

कामी रिता शेर्पाले प्राप्त गरे  माउन्टेन गाइडको अनुमति पत्र

चैत ११ , काठमाडौँ। नेपालमा पहिलो पटक पर्वतीय पथ प्रदर्शक (माउन्टेन गाइड) को अनुमति पत्र प्राप्त गरेपछि विश्व कीर्तिमानधारी सगरमाथा आरोही कामी रिता शेर्पाले सरकारी कदमले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा बढाएको बताएका छन्।

चौबिस पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पासहित १७ जनालाई पर्वतीय पथ प्रदर्शकको सरकारले मङ्गलवार अनुमति पत्र उपलब्ध गराएको थियो।

पहिलो अनुमति पत्र पाएका शेर्पाले यसले पर्वतारोहण पथ प्रदर्शकको पहिचान कायम गरेको बताएका छन्।

यसले विगतमा पहिचानविना काम गरिरहेका पर्वतारोहीलाई सहज हुने र देशकै इज्जत बढाउने शेर्पाले बताए।

पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाकी प्रमुख मिरा आचार्यले अनुमति प्रदान गरिएसँगै नेपालका पर्वतीय पथ प्रदर्शकले सरकारबाट परिचय पाएको बताइन्।

पर्वतारोही शेर्पाले पर्वतीय पथ प्रदर्शकको अनुमति पत्र प्रदान गर्न लामो समयदेखि आफूहरूले माग गरेको बताउँदै पर्यटन विभाग र नेपाल पर्वतारोहण सङ्घको संयुक्त प्रयासमा उक्त विषय सम्बोधन भएको बताए।

उनले भने, “अहिले हामीले अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक नभएर देशभित्रको पर्वतीय पथ प्रदर्शकको लाइसेन्स पाएका हौँ। यसले हाम्रो पर्वतारोहण क्षेत्रको मात्रै नभई सम्पूर्ण राष्ट्रकै इज्जत बढाएको छ।”

“हाम्रो देशमा विभिन्न हिमाल चढ्ने यत्रो व्यक्तिहरू छन् तर तिनीहरूलाई एउटा लाइसेन्सको राम्रो व्यवस्था नहुँदा नेपाललाई फाइदा पुगेको थिएन।”

उनले थपे, “नेपालमा पर्वतीय पथ प्रदर्शक भए पनि उनीहरूसँग लाइसेन्स नै नभएको विदेशीहरूले ठान्ने गरेका थिए।”

“नेपाल सरकारले नै अनुमति जारी गरिदिएपछि यसले हाम्रो नेपालकै इज्जत बढ्यो र यो पर्वतारोहीहरूका लागि पनि खुसीको कुरा हो।”

नेपालमा झण्डै १,२०० पर्वतीय पथ प्रदर्शक रहेको ठान्ने गरिन्छ।नेपालमा प्रत्येक आरोहण दलले कम्तीमा एक जना पर्वतीय पथ प्रदर्शक लैजानुपर्ने कानुनी व्यवस्था रहेको पर्यटन विभागकी निर्देशक आचार्य बताउँछिन्।

उनका अनुसार कानुनले पथ प्रदर्शकको जीवन बिमा, औषधि उपचार बिमा सहित सामाजिक सुरक्षाका प्रबन्धहरू मिलाएको छ।

सम्बन्धित एजेन्सीसँग सेवा सुविधाको विषयमा भएका करारनामा सरकारलाई बुझाएर मात्रै उनीहरू आरोहण दलमा जाने गरेका छन्।

Facebook Comment

छुटाउनुभयो कि?