लकडाउन बार्षिकोत्सब : दोधारमा चितवन, चिन्तित ब्यबसायी

पर्यटन बजार११ चैत्र २०७७, बुधबार मा प्रकाशित

लकडाउन बार्षिकोत्सब : दोधारमा चितवन, चिन्तित ब्यबसायी

चैत ११ ,चितवन। नेपालमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनको एक वर्ष पूरा भएको छ। महामारीले नेपालमा कुनै क्षेत्र पनि अछुतो रहेन। जसमध्ये सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको छ। वाइल्डलाइफ पर्यटनले परिचित सौराहामा वर्ष दिनदेखि विदेशी पर्यटकहरु आउन सकेका छैनन्।

कोरोना कहर सामान्य बन्दै गएका बेला पुनः जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। जसले आन्तरिक पर्यटकको आगमनबाट बिस्तारै उठ्न थालेको पर्यटन क्षेत्रमा पुनः निराशा छाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले पनि होली पर्व घरमै बसेर मनाउन र भीडभाड नगर्न आग्रह गरेको छ। यसले फेरि पनि लकडाउन हुने हो कि भनेर व्यवसायीहरु सशंकित भएका छन्। कोरोनाको जोखिम फेरि बढेपछि व्यवसायीहरुमा निराशा बढेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई बताउँछन्। यसबाट आन्तरिक पर्यटकहरु पनि नआउने हुन् कि भन्ने चिन्ता बढेको उनले बताए।

उनी भन्छन्, ‘बल्लतल्ल तंग्रिन लागेको अवस्था थियो, भीडभाड नगर्ने भन्ने सूचनापछि हामी निराश बनेका छौँ।’ कोरोनाकै कारण पछिल्लो एक वर्षमा भाडामा लिएर सञ्चालन भएका सौराहाका १० वटा होटल बन्द भएको उनले जानकारी दिए।

होटल व्यवसायीले अहिले २५ देखि ३० प्रतिशत कर्मचारी राखेर व्यवसाय टिकाउने काम मात्र गरेका छन्। लकडाउनको बेला सौराहाका सबै होटलले दैनिक ८० लाख रुपैयाँसम्म घाटा व्यहोर्नु परेको उनले बताए। ‘अहिले पनि नाफामा गइसकेको अवस्था हैन,’ उनी भन्छन्, ‘कर्मचारीको खर्च धान्न र व्यवसायलाई टिकाउने काम भएको छ।’

विदेशी पर्यटक आउन सक्ने स्थिति बनिनसकेकाले आन्तरिक पर्यटकहरुलाई आकर्षण गर्न सौराहाका होटल व्यवसायीहरुले घुमौँ सौराहा अभियान लिएर देश दौडाहामा गएका थिए। उक्त अभियानले सौराहामा थोरै भए पनि आन्तरिक पर्यटकहरुको आगमन बढेको अध्यक्ष भट्टराई बताउँछन्।

Facebook Comment

छुटाउनुभयो कि?