नाथमले मनायो ४८ औं वार्षिकोत्सव

पर्यटन बजार१६ चैत्र २०७७, सोमबार मा प्रकाशित

नाथमले मनायो ४८ औं वार्षिकोत्सव

चैत १६ ,काठमाडौँ। नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल मेनेजमेन्ट (नाथम ) ले आफ्नो  वार्षिकोत्सव मनाएको छ। नाथमले आफ्नै प्रतिष्ठानको प्राङ्गण भित्र एक कार्यक्रमको आयोजना गरी वार्षिकी मनाएको हो। 

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नाथमका कार्यकारी निर्देशक दिपक कुमार थापाले नाथमले सरकारको पर्यटन क्षेत्रलाई माथि उकास्ने लक्ष्य अनुरूप यस कलेजले शैक्षिक कार्यक्रमलाई अघि बढाउँदै ४८ औँ वर्ष सम्म आइपुगेको बताउनुभयो।

नाथमलाई आई एस ओ सर्टिफाइड प्रतिष्ठान बनाई अन्तर्राष्ट्रिय विद्यार्थी नेपाल भित्र्याउने लक्ष्य लिएको बताउँदै थापाले कलेजको गुणस्तरीय शिक्षामा विशेष जोड दिएको बताउनुभयो। लकडाउनको समयलाई सदुपयोग गर्दै कलेजमा धेरै विकासका कार्यहरू गरेको समेत उहाँले बताउनुभयो। साथै उनले कलेजले अन्य ३ स्थान ( नेपालगन्ज, बिर्तामोड र बर्दिबास) मा शाखा विस्तार गरेको जानकारी गराउनुभयो।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष तथा संस्थाका सञ्चालक समितिका सदस्य खुम बहादुर सुबेदीले यस कलेजका भाइबहिनी भोलिका देशको पर्यटन क्षेत्रलाई हाँक्न सक्ने दक्ष र क्षमतावान बन्नेमा विश्वस्त रहेको बताउनुभयो। अध्यक्ष सुबेदीले राफ्टिङ एसोसिएसनलाई पनि आगामी दिनमा समेट्नुपर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयनका सचिवलाई आग्रह गर्नुभयो। 

नेपालका नदीनालाहरू दिनप्रतिदिन नासिँदै गएका कुरालाई अवगत गराउँदै भोटेकोसी, त्रिशूली र कर्णाली लगायतका नदीलाई संरक्षण गरी र्याफ्टिङको लागि उपयुक्त बनाउनुपर्ने बताउनुभयो।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पर्यटन तथा होटेल व्यवस्थापन समितिका पूर्व अध्यक्ष केदार बहादुर अधिकारीले  यस कलेजलाई आई एस ओ सर्टिफाइड कलेज बनाउने र विदेशी विद्यार्थी लाई समेत नेपालमा आएर पर्यटन सँगै हस्पिटालिटिको शिक्षा प्रदान गर्ने कलेजका रूपमा विकास गर्ने उद्देश्यमा छिट्टै सफलता मिलोस् भन्ने कामना व्यक्त गर्नुभयो।

काठमाडौँ महानगरपालिका वाड नम्बर १४ कि वडाध्यक्ष शोभा सापकोटाले नाथम  जस्तो उत्कृष्ट कलेज यस वडा मा रहँदा र यहाँका विद्यार्थीले गरेको राम्रो कामले आफूलाई र १४ नम्बर वडा लाई नै गौरवान्वित बनाएको बताउनुभयो। यस कलेजमा आफ्ना छोराछोरी भर्ना गर्नुपर्‍यो तपाइले  सिफारिस गरिदिनुपर्‍यो भनेर पनि धेरैले आफूलाई आग्रह गर्ने गरेको समेत उहाँले जानकारी गराउनुभयो। 

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. राम कुमार फुयाँलले मन्तव्य राख्दै पुरस्कृत सबै विद्यार्थी भाइ बहिनीहरूलाई  बधाइ तथा आगामी दिनको उत्तरोत्तर प्रगति गर्न शुभकामना व्यक्त गर्नुभयो। प्रत्येक वर्ष यस कलेजले गरेको प्रगति साँच्चिकै तारिफयोग्य रहेको बताउँदै दिनरात नभनी मेहनत गर्ने विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिलाई बधाई ज्ञापन गर्नुभयो। यस संस्थामा अध्ययन गरेका लगभग ९५ प्रतिशत विद्यार्थी कोही रोजगार त कोही स्वरोजगार बनेको कुरा आफैमा सराहनीय रहेको समेत बताउँदै उहाँले संस्थामा भएका सबै स्रोत साधनलाई उपयुक्त तरिकाले प्रयोग गर्न समेत सुझाव दिनुभयो।

कार्यक्रमका सभापति तथा पर्यटन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले नाथम को इज्जत लाई मेनटेन गरेर अघि बढ्न सल्लाह दिनुभयो। नाथमले जुन मौलिक पहिचान बोकेको छ त्यो पहिचान लाई कायम राख्न र अझै उन्नति तर्फ लम्किन इच्छाशक्ती पलाइरहोस् भनेर शुभकामना समेत  प्रदान गर्नुभयो।कुनै पनि संस्था एकैदिनमा नबन्ने बताउँदै सचिव कोइरालाले संस्थामा भएका नीति नियम लाई मध्यनजर गर्दै कुनै बाधा र व्यवधान भए सुल्झाई भविष्य को दीर्घकालीन योजना बनाएर अघि बढ्न हौसला समेत उहाँले दिनुभयो।

इन्ट्रा डान्स कम्पिटिसन मा प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरुले कार्यक्रममा नित्य प्रस्तुत गरेका थिए भने इन्टर एकेडेमी सिंगिङ कम्पिटिसन मा प्रथम, दृश्य र तृतीय बनेका प्रतियोगीहरुले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

अन्य वर्ष जस्तै यस वर्ष पनि कलेजले स्मारिकाको समेत विमोचन गरेको छ ।कलेजको आयोजनामा भएको स्पोर्ट्स कम्पिटिसन का विजेताहरूलाई टान का अध्यक्ष खुम बहादुर सुबेदी , कलेजका संस्थापक सदस्य किशोर जोशी , संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव प्रदीप कुमार कोइराला , काठमाडौँ महानगरपालिका की वाड नम्बर १४ की वडा अध्यक्ष शोभा सापकोटा, टी यु का व्यवस्थापन सङ्काय का डिन प्रा. डा डिल्लीराज शर्मा , संस्थाका प्रिन्सिपल राम कैलाश भिक्षु, ले पुरस्कार प्रदान गर्नुभएको थियो।

त्यसै गरी प्रतिष्ठानले कार्यक्रममा संस्कृति पर्यटन मन्त्रालयका पूर्व सचिव केदार बहादुर अधिकारी, कलेजका पूर्व कार्यकारी निर्देशक दुर्गा दत्त ढकाल, प्रतिष्ठानका पूर्व प्रिन्सिपल कृष्ण खरेल , केशव प्रसाद थपलिया, सूर्य किरण श्रेष्ठ लाई सम्मान गरेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?