पर्यटन क्षेत्रकी धरोहर अम्बिका श्रेष्ठ

पर्यटन बजार१७ चैत्र २०७७, मंगलवार मा प्रकाशित

पर्यटन क्षेत्रकी धरोहर अम्बिका श्रेष्ठ

चैत १७ ,काठमाडौँ। विश्वमा दिनहुँ धेरैको सङ्ख्यामा महिलाको जन्म हुन्छ। कोही सहरमा जन्मिन्छन , कोही गाउँमा , कोही धनी परिवारमा जन्मन्छन त कोही गरिब तथा मध्यम परिवारमा। जन्मेर हुर्कने बित्तिकै उनीहरूले फरक फरक सपना पनि देख्न थाल्छन।

कतिले सपना पुरा गर्छन् भने कोही सपना पुरा गर्न बाट वञ्चित हुन्छन्। सपना र लक्ष्यमा पुग्न महिलाले धेरै सङ्घर्ष पनि गर्नुपर्छ र धेरै बदनामका ट्याग पनि भिर्नुपर्ने हुन्छ। तर सबै कुरालाई सहजै स्वीकार गरेर इख लिएर गन्तव्यमा पुग्ने भने इतिहासमा सधैँ अमर रहन्छन। 

हो आज पर्यटन बजार डट कमले त्यस्तै एक साहसी महिलाको कथा लिएर आएको छ। ती महिला पात्र हुन् पर्यटन क्षेत्रलाई एकदमै नजिकबाट नियालेकी अम्बिका श्रेष्ठ। जसलाई  पर्यटन कि धरोहर भन्दा सायद फरक नपर्ला !

सन् १९३३ फेब्रुअरी १२ मा  भारतको सिक्किममा जन्मेकी अम्बिकाले दार्जिलिङको लोरेटो कन्भेन्ट स्कुलमा पढेकी थिइन्। सामान्य तरिकाबाट  बाल्यकाल बिताएकी उनलाई  पढ्न लेख्न र अघि बढ्न कतै बाट रोकटोक भएन , अझ परिवारको साथ उनलाई निकै राम्रो थियो। उनले पटना युनिभर्सिटीबाट वाणिज्य शास्त्रमा स्नातक सम्मको अध्ययन गरेकी छन्।

नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विवाह भएपछि उनले जीवनमा धेरै उतार चढावको सामना गर्नुपर्‍यो। खुला आकाशमा उडेर आफ्नै तालमा जीवन व्यतीत गरिरहेकी अम्बिका विवाह लगत्तै पिँजडामा कैद जस्तै बनेकी थिइन्। माइतमा खासै काम नगरेकी उनले धेरै पर पुगेर गाग्रीमा पानी  बोक्न थालिन , चुपचाप जानी नजानी घरका सारा काम गर्न थालिन। परिवारले बुहारी मान्छेले घरमै बस्नुपर्छ घरधन्दा मै जीवन बिताउनुपर्छ भन्ने सोचेता पनि अम्बिकाका श्रीमान् उदार मन र उदार सोचका थिए। महिलाले पनि मौका पाउनुपर्छ भन्ने सोचकै कारण उनको बेलाबेलामा आफ्नै परिवारसँग खटपट भइरहने अम्बिकाले सुनाइन।

उनलाई अझै सम्झना छ एक पटक श्रीमानको मोटरसाइकलमा चढेर फर्कँदा परिवारले गरेको गाली। ओह हो ! त्यो समयमा त कति गाह्रो आफ्नै श्रीमानको बाइकमा चढ्दा नि बचन सुन्नु पर्ने , उनले भनिन।

एक दिन अचानक श्रीमानले  परिवारलाई भने म अब बाहिर बस्छु अम्बिका तिमि जाने भए हिँड नजाने भए यहीँ बस।  त्यति भन्न साथ उनी श्रीमान्को पछि लागेर सँगै गइन।

मामा ससुराबाट  सहयोग

श्रीमानको  मोटरसाइकलमा चढेर फर्केपछि परिवारका सबै बाट गाली खाने त छदै थियो अम्बिकाका मामा ससुरा त्यस समयका महेन्द्र राजाका सल्लाहकार गुञ्जमान सरदार  उनले समेत अम्बिकालाई गाली गर्न बाँकी राखेनन्। अम्बिकालाई सारै रिस उठ्यो र प्रतिवाद गरिन , मामालाई नै कराइदिए मैले त्यस समय उनले हाँस्दै भनिन।”  तपाई जस्तो ठुलो मान्छेले सम्झाउने हो कि गाली गर्ने हो , म आफ्नै श्रीमानको बाइकमा चढेर त गएकी हुँ , त्यही पनि मलाई थाहा थिएन चढ्न हुँदैन भनेर ” अम्बिकाले रिसाउँदै मामालाई भनिन।  शायद मामाले त्यस समय आफ्नो गल्ती बुझ्नुभयो अनि मलाई सधैँ अघि बढ्न हिम्मत प्रदान गरिरहनु भयो उनले थपिन।

सङ्घर्ष का सुरुवाती दिन

अम्बिका घर छाडेर त आइन तर उनले धेरै समाजका नराम्रा कुरा सुन्नुपर्‍यो।  घर भाँड्ने देखि संयुक्त  परिवार तोड्ने खराब आइमाईको ट्याग उनलाई लगाउन कसैले बाँकी राखेनन्। तर उनले  कुराको पछि लागेर दुखी भएर बसिनन्।  श्रीमान् सरकारी जागिरे भए पनि त्यति धेरै तलब नहुने त्यही भएर पहिलो पटक १९५७ सालमा  उनी विद्यालयमा पढाउन  जान थालिन।

तलब नि ?

हाँस्दै भन्छिन् ८० रुपैयाँ बाट सुरु गरेकी। विद्यालयमा पढाउँदै  गर्दा उनी विभिन्न सङ्घ संस्थामा समेत आबद्ध रहन पुगिन।  हरेक दिन नयाँ  कार्यको खोजी गर्थिन र नयाँ  फड्को मार्न  तयार रहन्थिन।

पछि श्रीमानले जागिर छाड्नु भयो अनि हामीले ट्राभल सुरु गर्ने निर्णय  गर्‍यौँ , उनले सुनाइन। त्यो समयमा त पर्यटकहरु सिधा नेपालनै आउँदैन थिए , भारतको ट्राभल एजेन्सीको मध्यमबाट  मात्र नेपाल आउँथे।

पर्यटन मै किन ?

मेरो श्रीमान् पहिले देखि नै परम्परागत कुरालाई मन पराउने। नेपालको सुन्दरता , हिमाल पहाड र तराइको संयोजन , नेपालको कला संस्कृति र भाषालाई मध्यनजर गर्दै हाम्रो देशलाई चाहिँ पर्यटकीय गन्तव्य बनाउनु पर्छ भन्ने सोचेर नै ट्राभल खोल्यौँ। सुरुमा साह्रै गाह्रो बिजनेस पनि नपाइने ,  पर्यटकहरु नआउने त्यसपछि सिधै नेपालमा पर्यटक भित्र्याउने योजना बनाउन थाले श्रेष्ठ दम्पतीले।

बिजनेस ल्याउन विदेश भ्रमण

अम्बिका त्यस समयकी महिला थिइन् जुन समयमा महिलाले घर बाहिर काम गर्नु पनि कल्पना भन्दा बाहिर र लगभग असम्भव ! तर उनी त्यही समयमा विदेश गइन नेपालमा पर्यटक भित्र्याउन। श्रीमान् नेपालको मार्केट सम्हाल्ने म विदेश गएर क्लाइन्ड सँग मिटिङ गर्ने।

श्रीमानको बिजनेसलाई पूर्ण समर्थन गर्दै अघि बढेकी अम्बिका आफ्नो जापान यात्रा मुस्कुराउँदै सुनाउँछिन् , जापानीले त महिला लाई गन्दै नगन्ने , म बोस त्यहाँ हुँदा हुँदै मलाई हेपेर मेरो पुरुष स्टाफ सँग चाहिँ कुरा गर्न खोज्ने।  खुब रिस उठ्थ्यो त्यो बेला तर पचाउनै  पर्ने , पछि पछि त जापनिजलाई  पनि नेपाली महिलाको बानी पर्‍यो अनि नगनेर भयो त , उनले भनिन।

विदेश भ्रमणमा कुनै समस्या

विश्वका धेरै देशहरू पुगेकी छन् अम्बिका , जापानमा उनलाई भिज्न धेरै गाह्रो भयो भने एक ठाउँमा त उनलाई ज्यान जोगाउन नै हम्मे हम्मे पर्‍यो। उनको पछि केही मान्छेहरू लागे। आत्तिएकी अम्बिका हतारमा भागेर एउटा पसलमा पसिन र आफूलाई जोगाउन सफल भइन।

जुनसुकै देशमा महिलालाई हेर्ने नजर फरक छ , सबै स्थानमा कोही न कोही खराब मान्छे भेटिन सक्छ तर सही समयमा सही कदम चालेर  आफूलाई जोगाउने काम गर्नुपर्छ। त्यसपछि भने त्यस्तो असुरक्षा को घटना मेरो जीवनमा घटेन। तर पटक पटक म सक्छु ,म कमजोर महिला होइन , महिलाले पनि गर्न सक्छन् भनेर प्रमाण गर्नुपर्‍यो ,जेसिजमा उम्मेदवारी दिँदा होस् या कम्पनीको बिजनेस मिटिङमा हर समय महिला भएकै कारण हेपिनु परेको तितो सत्य अझै पनि मेरो आँखा वरिपरि घुम्छ ,उनले भनिन।

द्वारिका दासबाट बनेको होटेल द्वारिका

बत्तीसपुतलीस्थित द्वारिकाज् हेरिटेज होटेलमा प्रवेश गर्दा जो कोहीलाई कुनै ऐतिहासिक सम्पदामा विचरण गर्दै गरेको अनुभूति हुन्छ। कलात्मक काठका झ्याल ढोका, ढुङ्गा छापेको आँगन, ऐतिहासिकता झल्कने इँटाबाट निर्मित भवनहरू, बगैंचाको त्यो भव्यता। यो होटलका योजनाकार द्वारिकादास श्रेष्ठले आफ्नो जीवनको लामो कालखण्डमा यो होटेल निर्माण गरेका हुन्। वास्तवमा, यो सम्पदा होटेलको आफ्नै इतिहास छ। र द्वारिका दास को सपनालाई जीवन्त राख्न अम्बिका श्रेष्ठको अतुलनीय योगदान छ। द्वारिका दास का हजुरबुवाले होटेल व्यवसाय को नाम सुन्ने बित्तिकै हाम्रो परिवारमा आजसम्म कसैले गरेको छैन। समाजमा राम्रो सन्देश जाँदैन। तिमीलाई अछुत नै बनाउँछु भनेर निरुत्साहित गर्न खोज्ने तर उनले कहिले हार मानेनन्।

अहिले द्वारिकाज् भएको ठाउँमा काष्ठकलाको वर्कसप, गाई गोठ र ग्यारेज थियो। काठ थुपारेर थुप्रो लगाएकाले छिमेकीले त्यो ठाउँलाई ‘डम्प यार्ड’ भन्थे। काठमाडौँमा बस्दै आएकी अम्बिका श्रेष्ठको एक अमेरिकी साथी स्नातकोत्तरको थेसिस लेख्दै थिइन्। उनी थेसिस लेख्न शान्त ठाउँको खोजीमा थिइन्। उनले गाई गोठ रहेको माथि दुई वटा कोठा निर्माण गरिदिन आग्रह गरिन्। कलात्मक झ्याल राखेर गाईको गोठमाथि दुई कोठा थपियो।

उनले त्यहीँ बसेर थेसिस सकिन्। उनले कलात्मक काठको झ्याल राखेर निर्माण गरिएको यो कोठा असाध्यै मन पराइन्। उनी नै द्वारिकाज् होटेलको पहिलो अतिथि थिइन्। उनले त्यो ठाउँमा स–साना स्केलमा भवनहरू बनाएर भाडामा दिन सुझाएको अम्बिका सम्झन्छिन्।

सन् १९९२ मा द्वारिकादासको निधनपछि अम्बिका श्रेष्ठ र छोरी सङ्गीता श्रेष्ठले व्यवसाय अघि बढाउँदै लगे। होटेललाई भव्य र आलिसान बनाउने क्रममा छोरी सङ्गीताको भूमिका पनि कम छैन।

अम्बिकालाई द्वारिकाको साथ कि द्वारिका लाई अम्बिकाको ?

सामान्यतया , पुरुषको सफलतामा महिलाको ठुलो हात हुन्छ। तर अम्बिकाको सफलतामा उनका श्रीमान् को उत्तिकै हात रहेको छ।  जसरी रथका दुई पाङ्ग्रा एक अर्काको सहारा  बिना चल्न सक्दैनन् त्यसरी नै अम्बिका र द्वारिकाले एक अर्काको पाङ्ग्रा बनेर सफलताको रथलाई ब्यालेन्स मिलाएर अघि बढाए । समझदार , बौद्धिक र हिम्मतिली श्रीमतीको साथ र बुझ्ने , अघि बढ्न प्रेरणा दिने , त्यस समय पनि महिलाले अघि बढ्न सक्छन् भन्ने सकारात्मक धारणा भएका श्रीमानको  साथ पाएकै कारण द्वारिकालाल र अम्बिकाले लामो सङ्घर्ष र कडा मेहनतलाई सहजै पार गरे , पार मात्रै गरेनन् नेपालको पर्यटनमा कायापलट नै गरे। ८९ वर्षको उमेरमा पनि कति पनि घटेको छैन अम्बिकाको आत्माबिस्वास र नेपालको पुरातात्त्विक सम्पदालाई जोगाउने अभियान। 

Facebook Comment

छुटाउनुभयो कि?