‘हर्षपुर डाँडा गाउँ होमस्टे’ अध्यन तथा अबलोकन भ्रमण सम्पन्न

पर्यटन बजार१८ चैत्र २०७७, बुधबार मा प्रकाशित

‘हर्षपुर डाँडा गाउँ होमस्टे’ अध्यन तथा अबलोकन भ्रमण सम्पन्न

चैत १८, काठमाण्डौ। तनहुँ पर्यटन प्रवर्द्धन समाजले भर्खरै दुई दिने पर्यटकीय स्थल अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ। तनहुँ आफैमा एउटा मौलिकता, भू बनोट, प्राकृतिक सुन्दरता र स्वच्छ हावापानीको लागि प्रसिद्ध छ। 

यही मौलिकतालाई देश तथा विदेश सम्म पुर्‍याउने उद्देश्यले तनहुँ पर्यटन प्रवर्धन समाजले “हर्षपुर डाँडा गाउँ होमस्टे”को अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रमको आयोजना  गरेको थियो। तनहुँ पर्यटन प्रवर्द्धन समाजका अध्यक्ष गुप्त भण्डारीको संयोजकतामा आयोजित यस भ्रमण कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य,पूर्व मन्त्री प्रमुख शंकर भण्डारीले भ्रमण टोलीलाई बिदाइ गर्नुभएको  थियो ।

यस कार्यक्रमको मुख्य उद्देश्य तनहुँको पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नु हो। बिहान आठ बजे काठमाडौँ बाट हिँडेको टोलीले बाटा विभिन्न स्थानहरू अवलोकन गर्दै साँझ हर्षपुर डाँडा गाउँ  होम स्टे पुगेको थियो।  

भानुभक्त र घाँसी कुवा 

बिहान ८ बजे काठमाडौँ बाट “हर्षपुर डाँडा गाउँ होमस्टे”को लागि निस्किएको टोली बाटाका मनोरम दृश्य अवलोकन गर्दै गन्तव्य तर्फ अगाडि बढ्दै गर्दा  ऐतिहासिक स्थल घाँसी कुवामा गएर गाडी रोकियो। राजमार्गमा गुड्ने प्राय सवारीले केही समय रोक्ने र घुम्ने घाँसी कुवाको आफ्नो छुट्टै विशेषता रहेको गुप्त भण्डारीले बताउनुभयो।

आदिकवि भानुभक्तको प्रेरणा स्रोत घाँसीबारे धेरैलाई थाहा छैन । पृथ्वी राजमार्गमा पर्ने घाँसी कुवामा दैनिक सयौंजना घुम्न पुगे पनि उनीहरूले भानुभक्तकै तस्बिर खिचेर फर्कने गरेका छन् । सँगै रहेको घाँसीको सालिक र उनले खनेको कुवाबारे धेरै जना अनभिज्ञ छन् । आवश्यक पूर्वाधार भए पनि महत्त्व बुझाएर पर्यटकहरू भित्र्याउन सके पर्यटकहरू बढ्ने र घाँसीको महत्त्व पनि बाहिर आउने उनको भनाइ छ।

ब्यास गुफा

दमौलीलाई आदिम कालदेखि नै महर्षिहरुको आदर्श तपोभूमि मानिएको छ। दमौलीमा मादी र सेती नदीको संगमदेखी पश्चिम किनारमा एउटा ऐतिहासिक गुफा छ | त्यस गुफामा पराशर ऋषिले तपस्या गरेका थिए र तपसिद्ध दिने गुफा पनि त्यहि नै हो।

उक्त पराशर गुफा देखि पूर्व गण्डकीको संगम किनारदेखि उत्तर पट्टि वेद शास्त्रका प्रवर्द्धक महर्षि ब्यासजीले तपस्या प्राप्त गर्नु भएको ब्यास गुफा छ | चारैतिर हराभरा बनजंगल तथा फाँट र नदीहरूको साथमा अवस्थित यस स्थानमा ब्यास ऋषिले तपस्या गरेको हुनाले ब्यास गुफा नाम रहन गएको किम्बदन्ती छ। 

भौगोलिक बनावट अनुसार दमौलीको उत्तर-पश्चिमपट्टि खैरेनीटारको सेरोफेरो तथा मादी नदीको आसपासको समतल भूमिका साथै दक्षिण पश्चिमतर्फ  मानुंग डाँडा अवस्थित छन् | त्यस्तै दमौलीको उत्तरतिर फराकचौर र तनहूँसुरक सख उपसाखाहरू पसारिएका छन् भने दक्षिण पूर्वमा बन्दिपुरको रमाइला शृङ्खलाहरू पर्दछन् । यो स्थान बाट तनहुँका विभिन्न गन्तव्यहरूमा पुग्न सकिन्छ। 

हर्षपुर डाँडा गाउँ होमस्टे

डाँडा गाउँ पुगेपछि सोही होमस्टेको प्राङ्गणमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो।  तनहुँ पर्यटन प्रवर्धन समाजका अध्यक्ष गुप्त भण्डारी को सभापतित्वमा भएको उक्त कार्यक्रममा स्थानीय म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे, ठमेल पर्यटन विकास परिसदका उपाध्यक्ष भबिश्वर शर्मा, सचिव बद्री तिम्सिना, टानका पूर्व अध्यक्ष तथा गणतन्त्र स्टोनियाका वाणिज्य दूत नवराज दाहाल, एन एम ए का कोषाध्यक्ष  सुदर्शन न्यौपाने टानको कोषाध्यक्ष रितु ग्याम्दान , नाराका पूर्व महासचिव शेखर थापा, कोषाध्यक्ष रिता  , पर्यटन व्यवसायी तथा पूर्व भिटोफ अध्यक्ष  बोधराज भण्डारी ,पर्यटन व्यवसायी शिव पौडेल,  होम स्टेका सञ्चालक अध्यक्ष बिसरा थापा, सदस्यहरु, स्थानीयहरू, सञ्चारकर्मी  लगायतका ५० बन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो।

औपचारिक कार्यक्रमको मुख्य उद्देश्य सो होमस्टेलाई कसरि थप व्यवस्थित र जनमानस समक्ष कसरी पुर्‍याउने भन्ने रहेको थियो। 

यस विषयमा सबैले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए।  कार्यक्रममा बोल्दै नाराका पूर्व महासचिव तथा तनहुँ पर्यटन प्रवर्धन समाजका पूर्व अध्यक्ष शेखर थापाले सो होमस्टे प्रवर्धनका धेरै सम्भावनाहरू रहेको बताए। 

हराभरा बनजंगल, स्वच्छ हावापानी, मनोरम हिमशृङ्खलाको दृश्यपान गर्न रुचाउने जो कोही यस स्थानमा पुग्न पर्ने  र  भविष्यका दिनमा एउटा राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकसित हुन सक्ने सम्भावना रहेको बताए। 

मन्तव्यलाई अगाडी बढाउँदै स्थानीय म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले आफ्नो गाउँ प्रवर्धन गर्न सहयोग गर्नुभएकोमा आयोजक टिमलाई धन्यवाद ज्ञापन गरे  र आफ्नो रमणीय स्थलको प्रचारप्रसारको लागि आफूसँग विभिन्न खाले योजनाहरू रहेको र छिट्टै नै त्यसलाई कार्यान्वयन गर्ने बताए। 

अब हाम्रो हर्षपुर्  डाँडागाउँ होमस्टेमा आउने पाहुनाले बाहिरबाट आयात गरेका खानेकुरा खान नपर्ने गरी स्थानीय स्तरमा नै अर्ग्यानिक खानाहरूको उत्पादन गर्ने र सोही उत्पादन पाहुनाहरूलाई पस्कने बताए।  जसले अझै धेरै पर्यटकहरूको ध्यानाकर्षण गराउनेमा उनी विश्वस्त छन्। 

सोही क्रममा आफ्नो धारणा राख्दै टानका निवर्तमान अध्यक्ष नवराज दाहालले स्थानीयहरूको स्वागत, लोकल नृत्य, भेसभुसा र लोकल खानेकुराले बेग्लै उमंग दिएको बताए। यही कारण डाँडागाउँ अरूभन्दा फरक भएको र यही मौलिकपनलाई जोगाइराख्ने हो भने निकट भबिष्यमानै यस स्थानले राम्रो स्तरोन्नति गर्ने बताए।  र आफ्नो तर्फबाट सो क्षेत्रको प्रचारप्रसारमा केही सहयोग गर्नु परे सदैव तयार रहेको जानकारी समेत गराउनुभयो। 

तनहुँ पर्यटन प्रवर्द्धन समाजका अध्यक्ष गुप्त भण्डारीले कार्यक्रममा बोल्दै तनहुँमा धेरै पर्यटकीय स्थलहरू रहेको र तनहुँ घुम्न पुग्ने सबैलाई एक पटक हर्षपुर् डाँडागाउँ होमस्टे पुग्न आग्रह गरे।  मगर जातिको बाहुल्यता रहेको यस होमस्टे पुगेर आत्मसन्तुष्टि प्राप्त नगरी फर्कने कमै मात्र भएको उनी बताउँछन्।  

स्थानीय  होम स्टे संचालक सदस्य र अध्यक्षलाई सरसफाइ मा ध्यान दिन , अर्ग्यानिक खाना उब्जाउ गर्न , र आफ्नो मौलिकपन जगेर्ना गर्न अनुरोध गर्नुभयो।  साथै तनहुँ पुग्ने आगन्तुकहरूलाई एक पटक हर्षपुर् डाँडा गाउँ होमस्टेलाइ अतथ्यता गर्ने मौका दिँदा मौलिकताको बेजोड प्रस्तुति पाउने हुँदा मौका नगुमाउन आग्रह गर्नुभयो ।   

तनहुँमा घुम्न पर्ने धेरै स्थानहरु छन्। त्यो मध्ये एक हो  तनहुँको म्याग्दे गाउँपालिका स्थित “हर्षपुर डाँडा गाउँ होमस्टे ! डाँडा गाउँ  आफैमा एक सुन्दर गन्तव्य हो ।

समुन्द्री सतहबाट ८००/९००  मिटरको उचाइमा रहेको यो पर्यटकीय स्थल स्वदेशी र विदेशी सबैको रोजाइमा पर्ने स्थान हो।  सफा आँगन र गोरेटो, नजिकैको करेसाबारीमा लहलह अर्ग्यानिक तरकारी र मौसमी फलफूल, गाउँले जीवनशैली, हिमाली सौन्दर्य, सेरोफेरो नै मेरो भनेर भाका हाल्दै झरेका बगेका खोला , निश्चल स्वच्छ र हराभरा वातावरण सँगै विभिन्न पाहुना घरहरूको बिछट्टै मायाले जो कोही आफै लोभिन सक्छ। 

अझै पाहुना घरहरूको स्वागत झनै लोभलाग्दो छ, बाजा -गाजा र माला सहितको स्वागत गर्ने त्यस स्थानमा आतिथ्यतामा परिकारमा पुरै नेपाली परम्परागत खाना (उसिनेको फर्सी,गुन्द्रुकको अचार, पिँडालु, मकै र चिया) खुवाइन्छ ।

मगर जातिको मुख्य बाहुल्यता रहेको यस स्थानमा मौलिक संस्कृति र मौलिक घरहरूको सुन्दरतालाई नजिकबाट नियाल्ने अवसर पाइन्छ भने भिड र कोलाहल भन्दा पर बसेर गाउँले जीवनशैलीको अनुभव लिन चाहनेहरूको लागि एउटा पर्फेक्ट गन्तव्यको रूपमा लिन सकिन्छ। स्थानीयहरू मगर ड्रेसमा नै सजिएर कलात्मक तरिकाले कौरा नृत्य गरिरहँदा त्यही तालमा आफू सँगै झुम्दाको पल झनै अविस्मरणीय नै हुन्छ।  

छाब्दी बाराही

छाब्दी बाराही तनहुँ जिल्लामा  अवस्थित एक प्रसिद्ध धार्मिक स्थल हो। यो जिल्ला सदरमुकाम दमौली बाट ५ कि.मि. को दुरीमा रहेको छ  ।मगर समुदायको पुजारी रहेको छाब्दी बाराही मन्दिर नेपाल को एकमात्रै माछाको पुजा गरिने मन्दिर हो।

यो मन्दिरमा हाँस, परेवा एवं राँगाको बलि दिइने गरिन्छ। ढोर बाराही मन्दिर र छाब्दी बाराही मन्दिर भन्ने नाम मगर भाषाबाट आएको हो। यो मन्दिरलाई सत्य देवीका नामबाट पनि स्थानीय बासिन्दाहरू तथा यस मन्दिर प्रति आस्था राख्ने मानिसहरूले परिभाषित गर्ने गर्दछन्।यहाँ पूर्णिमा, पञ्चमी, अष्टमी ,नयाँ वर्ष तथा शनिबारका दिनहरूमा पूजाआजा र विशेष मेला लाग्ने गर्दछ । साथै औँसी, एकादशी र साउन महिनाभरी मन्दिर बन्द रहन्छ। यसो त उक्त समयमा देवी गुफा बस्न जाने मान्यता रहेको पाइन्छ।

यो तनहुँ जिल्लाका तीनवटा गा.वि.स.हरुको संगमस्थल हो । बजारबाट अलिक पूर्व दिशामा भीमकाय पहराको कोप्चेरोमा अवस्थित छ यो मन्दिर । त्यही पहराको काखमा रहेको कञ्चन पानीको कुण्डसंगै जोडेर माईस्थान स्थापना गरिएको छ ।

कुण्ड र माईस्थानको छेउबाट बग्ने नमादी अर्थात छाब्दी खोलामा घामै छेक्नेगरी बाम र कत्ले माछाहरु खेलिरहन्छन् । भक्तहरुको गन्ध पाउनासाथ कुण्ड र नदीको किनारामा आई चाराको आशा र प्रतीक्षा गर्दछन् ।

औंसी, एकादशी र साउन महीना बाहेक अन्य दिनहरुमा माईको पूजा, भाकल दर्शन र भेटी फलित हुने भएकाले प्रातःदेखि मध्यान्हसम्म भक्तहरुको घुंइचो लाग्दछ । पूजा आरम्भ भएपछि मात्र कुण्डमा बामहरु देखिन थाल्दछन् ।

सांस्कृतिक मात्र होइन, वातारणीय पक्षबाट पनि अत्यन्तै सुरम्य छ, छाब्दी बाराही । चराहरुको चिरबिर चिरबीर आवाज, घण्टहरुको टिनिनिनि…..धून र धूपको वास्नाले भरिपूर्ण यो वातावरण बैरागी र सन्यासीहरुको मन वहलाउने स्थान हो ।

दुई पहराहरुको कोप्चेरोमा नमादी खोला, झु्म्म झाडी, रङ्गीबिरङ्गी पुतलीहरुको चहलपहल, मौसमी फूलमा मौरी र भँवराहरुको भुन्भुन् आवाज, कञ्चन कुण्ड अनि खोलामा बाम र कत्ले माछाहरुको लुकामारीको दृश्यले पूर्ण छाब्दी बाराही प्रकृतिप्रेमीहरुको क्रीडास्थल र सर्जकहरुको सिर्जनास्थल हुन सक्छ ।

Facebook Comment

छुटाउनुभयो कि?