आगन्तुकको मन जित्दै झापाको वाटर किङ्डम पार्क

पर्यटन बजार१८ चैत्र २०७७, बुधबार मा प्रकाशित

आगन्तुकको मन जित्दै झापाको वाटर किङ्डम पार्क

चैत १८ , झापा। झापाको झिलिझलेमा सञ्चालनमा आएको बिबिध सुविधासहितको वाटरपार्क रिसोर्टले छोटो समयमा धेरैको मन जित्न सफल भएको छ। शिवसताक्षी–८ झिलझिलेमा २ बिगाहा ५ कठ्ठा जग्गामा स्थानीय राजकुमार संग्रौलाले ४२ करोड रुपैयाँको निजी लगानीमा जीपलाइन र जीप साइक्लिङ सहितको वाटर किङ्डम पार्क एन्ड रिसोर्ट प्रा.लि. स्थापना गरेका हुन् ।

सञ्चालक सङ्ग्रौलाले यो रिसार्ट १ नं. प्रदेशकै पहिलो जीपलाइन र जीप साइक्लिङ सुविधासहितको वाटरपार्क रिसोर्ट भएको बताएका छन् । प्रवेश शुल्क एक सय रुपैयाँ तोकेको रिसोर्टले वाटरपार्कका सबै आइटमको आनन्द लिनका लागि ६०० रुपैयाँ शुल्क तोकेको छ ।

पर्यटकले जीप फ्लाइङ र जीप साइक्लिङका लागि अलग्गै ५०० रुपैयाँका दरले तिर्नुपर्ने छ ।रिसोर्टभित्र पानीमा खेलेर रमाउन सकिने आठ किसिमका खेलहरु रहने छन् । ४५ मिटर लामो कृत्रिम सुरुङ र समुन्द्री छालको जस्तो वेभ पुलले पर्यटकको मन तरङ्गित गर्नेछ । स्विमिङ पुल, चिल्ड्रेन पुल, सावर डान्स, नाइट क्लब, सोनाबाथ, फिटनेस सेन्टर लगायतका अनेकौं मनोरञ्जनात्मक सुविधाले भरिपूर्ण रिसोर्ट प्रदेशकै नमुना पर्यटकीयस्थल बनाइने सञ्चालक समितिकी अध्यक्ष मेनुकादेवी सिटौलाले बताइन् ।

तारमा रोमाञ्चक यात्रा हुने जीप फ्लाइङ र साइक्लिङले आन्तरिक पर्यटकलाई निकै आकर्षित गर्ने सम्भावना छ । स्विमिङ पुल, चिल्ड्रेन पुल, सावर डान्स, नाइट क्लब, सोनाबाथ, फिटनेस सेन्टर लगायतका अनेकौं मनोरञ्जनात्मक सुविधा रिसोर्टले प्रदान गर्ने भएको छ । वाटरपार्क डुल्न अब भारतको सिलिगुढी जान नपर्ने अवस्था सिर्जना गर्न र नाफासँगै सेवाको भावनाले रिसोर्ट सञ्चालन गरिएको सिटौलाले बताए ।

रिसोर्टमा मनोरञ्जनका लागि खेल तथा सुविधाहरुसँगै बस्न र खानका लागि अलगअलग ननभेज र भेज रेस्टुरेन्ट सञ्चालन गरिएको छ । परिवार र साथीसँग डुलफिरका लागि वाटर किङ्डम रिसोर्ट उपयुक्त स्थान रहनेमा संचालकहरु बिश्वस्त रहेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?