संरक्षण अभावमा लाङटांगे सल्लो

पर्यटन बजार१९ चैत्र २०७७, बिहीबार मा प्रकाशित

संरक्षण अभावमा लाङटांगे सल्लो

चैत १९,काठमाडौँ — पृथ्वीको तेस्रो ध्रुवको रुपमा चिनिने हिमालय क्षेत्रको जैविक विविधताले भरिपूर्ण छ । यहाँ विभिन्न प्रजातिका वन्यजन्तु र वनस्पति छन् । तीनले खास विशेषता बोकेका छन् ।

हिउँ चितुवा होस् या त रेड पाण्डाजस्ता खास वन्यजन्तु,हिमालय यार्चागुम्बादेखि पाँचऔंले जस्ता वनस्पतिहरु पाइन्छन् । हिमालयको विशेषता नै यही हो । संसारका खास जीव र वनस्पतिहरु यहाँ पाइन्छन् । यहाँ पाइने ल्यारिक्स प्रजातिका कोणधारी रुखहरुको महत्व पनि बेग्लै छ । नेपालमा ल्यारिक्सका दुई प्रजातिहरु पाइन्छन् । संसारमा भने १० प्रजातिका छन् ।

सिखिम्मे सल्लो भनिने ल्यारिक्स ग्रफथियाना र लाङटाङमा पाइने ल्यारिक्स हिमालिका भनिने लाङटांगे सल्लो । सिखिम्मे सल्लो नेपाल लगायत सिखिम,भुटान र दक्षिण चीनमा पाइन्छ । यो ३ हजारदेखि ४ हजार १० मिटरको उचाइमा पाइन्छ । यो प्रजाति नेपालमा पूर्व कञ्चनजंघादेखि पश्चिम मनास्लु क्षेत्रसम्म फैलिएको छ । यसको संसारको सबैभन्दा पश्चिमी अवस्थिती नै नेपालको मनास्लु क्षेत्र हो ।

ल्यारिक्स प्रजातिका सल्लो हिमालय क्षेत्रका स्थानीयले आफ्नो धार्मिक कार्यका लागि काट्ने गरेका छन् । उनीहरुले यसलाई काटेर घर अगाडि धार्मिक कार्यका लागि ठड्याउने गरेका छन् । धार्मिक महत्व बोकेका यो सल्लो काठ तथा फर्निचरमा प्रयोग गर्ने गरेका छन् । यस्ता प्रजातिहरु काटिने क्रम बढ्दा विनाश हुने खतरा पनि उत्तिकै छ । लाङटांगे सल्लो बाढी,पहिरो गएको भिरालो क्षेत्रमा पाइन्छ । कम मात्रामा पौष्टिक तत्व पाए पनि राम्रोसँग उम्रन्छ । यसले पहिरो रोकथाम तथा हिमाली वन्यन्तुलाई आश्रयस्थल दिने काम पनि गरिरहेको छ । लाङटांगे सल्लो भने लाङटाङ उपत्यकाका सगरमाथाको दक्षिण भेग तिब्बततिर पाइन्छ । ३ हजारदेखि ३८ सय मिटर उचाइमा पाइने यो सल्लो प्रायःनदीको उपत्यकाका डाँडाहरुमा पाइने गरेको छ । प्राचीन मोराइनहरुमाथि जुनिपर्स र गुराँसका जंगलहरुमा पनि यो सल्लो पाइने गरेको छ । कोणधारी पतझर वनमा पाइने यो प्रजाति ५० मिटरसम्म अग्लो हुन्छ । लाङटांगे सल्लोको कोन ६ दशमलव ५ सेन्टिमिटरसम्म हुन्छ । सिखिमे सल्लो २० मिटरसम्म अग्लो हुन्छ ।

जलवायु परिवर्तनसँगै विभिन्न प्रजातिका बिरुवाहरुको वृक्ष रेखा सर्दै जाँदा यस्ता प्रजातिहरु पनि जोखिममा परेका छन् । वृक्ष रेखामा पाइने सल्ला जलवायु परिवर्तन,मानवीय अतिक्रमण तथा अन्य बाह्य कारणले अतिक्रमण तथा जोखिममा परेको छ । हाम्रो अध्ययनले लाङटाङे सल्लाको प्राकृतिक पुनरुत्पादनमा समस्या देखाएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका वनस्पतिहरुलाई कसरी असर गरिरहेको छ भन्ने सवालका लागि महत्वपूर्ण उदाहरण हुन सक्छ लाङटाङे सल्लोको उदाहरण । नेपालमा यसको अनुसन्धान कम छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण यहाँका वन क्षेत्र पनि जोखिममा पर्दै गएका छन् । वृक्ष रेखा सर्न थालेका छन् भने यी वन क्षेत्रमा पाइने बिरुवाहरुको प्राकृतिक पुनरुत्पादन पनि कमी हुँदै आएको छ ।

केही समयअघि हामीले ल्यारिक्स प्रजातिका वनस्पतिको पुनरुत्पादनको अध्ययन गरेका थियौं । कञ्चनजंघा संरक्षण क्षेत्रको घुन्सा,मनास्लु संरक्षण क्षेत्रको चुम र लाङटाङ निकुञ्ज क्षेत्रभित्रको लाङटाङ उपत्यकामा यिनको अनुसन्धान गरिएको थियो । हाम्रो अनुसन्धानले लाङटांगे सल्लाको पुनरुत्पादनको दर सिखिम्मे सल्लोको भन्दा धेरै कम देखाएको थियो । उक्त अनुसन्धानात्मक लेख हाम्रो इकोलोजी एन्ड इन्भारोन्मेन्टल जर्नलमा समेत प्रकाशित छ । हाम्रो उक्त अनुसन्धानले लाङटांगे सल्लाको पुनरुत्पादन दर सिखिमे सल्लो भन्दा धेरै कम देखाएको छ ।

एक त हिमाली क्षेत्रका वन,त्यसमाथि ढिलो विकास हुने यस्ता प्रजातिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । मनास्लुमा कम मात्रामा बिरुवाहरु पुनरुत्पादन हुँदा भविष्यमा त्यस क्षेत्रबाट हराएर जान सक्ने खतरा देखिएको छ । अहिले कम मात्रामा पुनरुत्पादन हुँदा यसलाई गरेको देखिन्छ । अगामी दिनहरुमा हिमाली क्षेत्रमा वन तथा वनस्पतिको संरक्षणमा ध्यान दिइएन भने यस्ता प्रजातिहरु हराएर जान सक्ने अवस्था देखिन्छ ।

जलवायु परिवर्तनका कारण विभिन्न समस्याहरु आइरहेको अवस्थामा ल्यारिक्स प्रजातिको संरक्षण र हिमाली क्षेत्रको वन व्यवस्थापनमा राज्य गम्भीर भएर लाग्नुपर्ने अहिलेको टड्कारोको रुपमा देखिएको छ । वन विभागले पनि वनस्पतिहरुको संरक्षणका लागि विभागले काम गरिरहेको छ । विभागले दिने वनस्पतिहरको चेकलिस्टका आधारमा बिरुवाहरुको उत्पादन गरेर संरक्षण गर्ने कार्यहरु गरेपनि लाङटांगे सल्लो जस्ता प्रजातिको संरक्षणका कार्यहरुमा भने विभागले काम गरेको देखिदैन । यस्तै वन्यजन्तु संरक्षण विभागले पनि यस्ता प्रजातिहरुको संरक्षणमा खासै चासो देखाएको पाइदैन । विभागले निकुञ्जक्षेत्रभित्र रहेका वनस्पतिहरुको संरक्षणमा काम गर्ने गरेको बताएपनि लाङटाङ्ले सल्लो जस्तो प्रजातिको सवालमा भने मौन रहेको छ ।

हिमाली क्षेत्रमा पाइने वन क्षेत्रका महत्व पनि बेग्लै छन् । यहाँको वन क्षेत्रले स-सना वन्यजन्तुका लागि बासदिएका छन् । यहाँको जनजीवनमा पनि यीनले महत्वपूर्ण योगदान दिएका छन् । यहाँका कोणधारी जंगलमा विशेष महत्व बोकेका वन्यजन्तुहरु पाइने गरेका छन् । यहाँ हुने चरिचरण फडानी लगायतका कारणले हिमाली वन क्षेत्र जोखिममा परेका छन् । वन व्यवस्थापनका कार्यक्रमहरु गर्दा रैथाने प्रजातिको अवस्थाबारे जानकारी हुँदा कार्ययोजना निर्माणमा पनि सजिलो हुन्छ । अझ रैथाने प्रजातिको पुनरुत्पादनको अवस्था थाहा पाउँदा संरक्षणका योजनाहरु लगाउन झन् सहज हुने देखिन्छ ।

-लेखक अमृत साइन्स क्याम्पसमा प्राध्यापन गराउँछन् ।

Facebook Comment

छुटाउनुभयो कि?