मौसम खराबीले चार दिनदेखि उडान प्रभावित

पर्यटन बजार२६ चैत्र २०७७, बिहीबार मा प्रकाशित

मौसम खराबीले चार दिनदेखि उडान प्रभावित

चैत २६,काठमाडौँ।प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ। खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नु परेको छ। मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले आन्तरिक उडान केही सङ्ख्यामा प्रभावित भएको जानकारी दिए । विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान थोरै सङ्ख्यामा रद्द भएको छ । यान्त्रिक पद्धति (आइएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको छ ।

अघिल्लो एक साता मौसम खराबीले उडान रद्द भएको अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः गत चैत २३ गते मङ्गलबारदेखि उडान प्रभावित भएको हो । काठमाडौँ उपत्यकासहित देशभरको आकाशमा बाक्लो धुवाँसहितको तुवाँलो लागेकाले भिजीबिलिटी कम हुँदा खासगरी आन्तरिक उडान प्रभावित बनेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार आन्तरिक उडानमा बुधबार विभिन्न एयरलाइन्सका जम्मा ११२ उडानमध्ये ९५ मात्रै उडान भए । बाह्र उडान रद्द हुनका साथै पाँच उडान मर्ज गरिएको थियो । यी उडानबाट प्रस्थान र आवागमन दुवै गरी नौ हजार ८२४ यात्रुले हवाई यात्रा गरेका छन् । बुद्ध एयरको सात, यती एयरलाइन्सको चार र सीता एयरको एक उडान रद्द भएको छ ।

यस्तै गत मङ्गलबार आन्तरिकतर्फ ११८ उडान निर्धारण गरिएकामा जम्मा ८८ उडान भए । २८ उडान रद्द भएका छन् । बुद्ध एयरको १५, यती एयरलाइन्सको छ, समिट एयरको तीन, सौर्य एयरलाइन्सको दुई तथा तारा एयरको समान एक–एक उडान भएका छन् । सबै उडानमार्फत आठ हजार ६८७ यात्रु आवतजावत गरेका छन् ।

अघिल्लो सोमबार सर्वाधिक ३० उडान रद्द भएका छन् । उक्त दिन जम्मा १२२ उडान निर्धारण गरिएकामा ९१ मात्रै उडान भएको छ । बुद्ध एयरको १७, यती एयरलाइन्सको नौ, तारा एयरको दुई तथा श्री एयरलाइन्स र सीता एयरको समान एक–एक उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

तीन दिन मौसम खराबी रहे पनि तुलनात्मकरूपमा आज काठमाडौँको आकाश केही मात्रामा खुलेको छ । बाक्लो तुवाँलो नभएपछि भिजीबिलिटी पनि राम्रो रहेको र नियमित उडान भइरहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?