उर्मिलाको यात्रा , एकल महिला देखि रुरु कि संचालक सम्म !

बिनिता सिवाकोटी २७ चैत्र २०७७, शुक्रबार मा प्रकाशित

उर्मिलाको यात्रा , एकल महिला देखि रुरु कि संचालक सम्म !

चैत २७ , काठमाडौँ। हिजोको समय जहाँ नारीले घरधन्दा मै सीमित रहनुपर्छ , जति दुख भएपनि सहनै पर्छ ,विवाह को डोली माइत बाट उठेपछि अर्थि  श्रीमानको घर बाटै  उठ्नुपर्छ। जति नै घरेलु हिंसा भएपनि चुपचाप बस्नुपर्छ आफ्नै गल्ती सम्झेर सुधार्नुपर्छ, आफ्ना सारा खुसीलाई आहुति दिएर नै सही अरू सबै सबैलाई खुसी राख्नुपर्छ। अझ बच्चा भएपछि त झन् उसको भविष्य कै लागि भएपनि आफूलाई आत्मसमर्पण गरेर उसकै लागि बाँच्नुपर्छ।

आज पनि समय त्यति परिवर्तन भैसकेको छैन तर धेरै नारीहरू आफ्नो लागि वाच्न सिक्दैछन , आफ्नो बच्चा लाई एक्लै पालनपोषण र उच्च शिक्षा दीक्षा दिने हिम्मत राख्छन् र यो समाजलाई चुनौती दिँदै एकल महिलाको ट्यागबाट बाहिरिएर उद्यमी तथा व्यवसायी बन्ने साहस गर्छन्।

मानिसको जीवनकाल सबैको एकनास हुँदैन , सबैको वैवाहिक जीवन पनि सफल हुँदैन ,सबैले आफ्नो श्रीमान् बाट  सौहार्द माया र खुसी पनि पाउंदैनन , सबैको दैनिकी सहज हुँदैन ,जीवनमा अत्याधिक समस्या, चुनौती र उतारचढाव आईरहन्छन तर समस्यालाई पहिचान गरी सकारात्मक सोचका साथ अगाडी बढ्न सकेमा जस्तो सुकै सफलता पनि हात पार्न सकिन्छ भन्ने उदाहरणकी पात्र हुन  रुरु पिताम्बरी नामक कम्पनीकी सञ्चालक उर्मिला पाण्डे।

बाल्यकाल

 मध्यम वर्गीय  परिवारमा जन्मिएकी उर्मिलाको स्थायी घर गुल्मी हो । अन्य बालबालिकाको जस्तै उनको बाल्यकाल पनि हाँस खेल मै र सामान्य तरिकाले बित्यो। दिदीबहिनी मध्येकै सोझी मा गनिन्थिन उर्मिला। भाँडा कुटी खेल्दा दुलाहा दुलही बन्ने , आमा बन्ने त कहिले ठुला ठुला सपना लाई कल्पिँदै डाक्टर बन्ने , पाइलट बन्ने ,त कहिले शिक्षिका बन्ने। उमेर बढ्दै गयो, न शृङ्गार को रहर न अन्य कुनै रहन सहनको इच्छा , पढाइमा त्यति अब्बल होइन !

दिदी र परिवारकै डरमा  एस एल सी गरेँ उनले हाँस्दै सुनाइन। पछि स्थानीय नै एक पुरुषसँग मेरो  विवाह  पनि भयो । वैवाहिक जीवन अघि बढाउन आशा, उत्साह र चाहनाका साथ म अगाडि बढेकी थिएँ तर, नियतिको पोकोमा अरू नै केही कैद थियो ।

त्यसैले त्यो  सम्बन्ध धेरै चल्न सकेन र हामीहरू अन्ततः  छुट्टियौँ  । जब म श्रीमान् सँग अलग भएकी थिएँ तब मेरो सानो छोरा पनि थियो , मेरो श्रीमान् ले मलाई श्रीमतीको होइन केवल मानवताको मात्र नाता देखाइदिएको भए पनि शायद म मेरो बाबु कै मुख हेरेर भएपनि बस्थ्ये होला तर मैले त्यो पनि पाइन् मलिन अनुहार बनाउँदै  विगतलाई सम्झिँदै भावुक बनिन उनी।

काखे बच्चा सँगको सङ्घर्ष

मारे पाप पाले पुण्य का सबै अवधारणा लाई श्रीमान् ले त्यागे , उनले घरै त्यागिन। पक्कै पनि सजिला थिएनन् उनका त्याग र काठमाडौँ जस्तो मतलबी सहर मा उनका दैनिकी।

आफ्नो जन्म ठाउँ गुल्मी छोडी पन्ध्र महिनाको छोरो काखमा च्यापेर  काठमाडौँ लागिन अन्धकार जीवनमा ज्योति छर्न , निराश जिन्दगीमा थोरै सास भर्न अझै भनौँ बेमत्लबि जीवनशैलीमा थोरै उमङ्ग भर्न । 

काखमा दुधे बालक , कहाँ जाने के गर्ने , कसरी बच्चा र आफ्नो ख्याल राख्ने अनगिन्ती  प्रश्न एउटै उत्तर ” म जसरी भएपनि गर्छु तर के गर्छु थाहा छैन। 

एक त काठमाडौँ जस्तो निर्दयी सहर त्यसमा पनि उनी जस्तो बच्चाकी आमा।

कहिले खानको लागि एक छाक नहुने त कहिले पिउनको लागि एक थोपा पानी। मागेर खान पनि लाज मर्दो कुरा। काम गरेर खाऊ त कुनै विकल्प छैनन् ।

एक पटक को कहानी सम्झिँदै रुन्चे हाँसो हाँसिन उनी , त्यतिबेला एक पोका दूधलाई १३ रुपैयाँ पर्ने , छोरालाई दूध पनि खुवाउनु छ तर एक रुपैयाँ पैसा कतै खोज्दा पनि छैन अब के गर्ने एकछिन सोचमा परिन अनि लागिन बाटो तर्फ एक रुपैयाँ को डलर त बाटो मा पनि भेटिन सक्छ , नभन्दै फेला पारिन उनले एक रुपैयाँ त्यो १ रुपैयाँ मात्र १ थिएन  छोराको लागि दूध किन्न पाएको वरदान सरह थियो।

बाटोमा हिद्डा अरूको बच्चाहरू देख्दा आफ्नो बच्चालाई तुलना गरेर हेर्थिन अनि सोच्थिन कि कतै म मेरो बच्चालाई अरू जस्तै पो बनाउन सक्दिन कि?

उनी मन मन अठोट गर्थिन होइन म जसरी पनि मेरो छोरोलाई राम्रै शिक्षा दिनेछु  चाहे जे सुकै गर्नु नपरोस् ।

“कहिले आर्थिक, कहिले मानसिक तनावहरूले मलाइ घेरिरहन्थे । त्यही पनि  श्रीमानले दिएको पीडा वाटै आफलाइ साहसिक बनाएर अगाडी  बढ्ने र आफू पनि गर्न सक्छु भन्ने  अठोट लिएर  आफू केही गरेर नै देखाउने प्रण गरेर  म अघि बढे।  भगवान्ले भन्छन् रे ” त सोच म पुर्याउछु”  त्यस्तै उनिलाइ नि उनका  दाइले एउटा अवसर ल्याइदिए ।  एउटा सानो दालमोट भुजिया को ब्यबसाय  सुरु गर्ने ।

ढुङ्गा खोज्दा देउता मिले झै भयो ।   तर उक्त व्यवसायबाट सोचे जस्तो सफलता भने प्राप्त भएन। त्यै पनि कोसिस गर्ने मान्छे कहिले पनि असफल नहुने धारणामा शतप्रतिशत सहमत देखिएकी पाण्डेले अरू विकल्पहरू खोज्दै गइन ।

यता उता डुल्दा घुम्दा देख्ने हरेक चिजहरूलाई नियाल्थिन उक्त चिजमा भविष्य खोज्थिन। घुमघामकै क्रममा साथी भाइहरू सँग एक पटक  इन्डिया  गएकी थिइन । सोही क्रममा  पिताम बरीको बारेमा बुझ्ने अवसर पाइन । नेपालमा यसलाई व्यवसाय नै बनाएर कोही पनि बसेका छैनन् जस्तो उनलाई लाग्यो र त्यसको बारेमा सोधी खोजी पनि गरिन ।

अनि उनलाई पिताम्बरीमा निकै चासो लाग्यो। उनले सोचिन यसैमा मेहनत गर्न सके भने राम्रै हुनेछ ।  आफू सँगै गएका दुई साथी हरुले पनि त्यस विषयमा चासो देखाएकोले उनीहरू मिलेर एउटा कम्पनी खोल्ने निर्णय गरेका थिए । तर अन्तिममा साथीहरू खासै उपलब्धि नहुने भन्दै पछाडि सरेका थिए।

अलिकति हिम्मत आइसकेको पनि साथीहरूले दोधारे बनाइदिँदा के गरूँ गरूँ उन्लाइ भएको थियो।  त्यै पनि आफू भने एक पटक प्रयास गरी छाड्ने भन्दै अगाडि बढिन। पिताम बरीको बारेमा केही पनि अध्ययन वा ज्ञान नभएकी पाण्डेले आफै विभिन्न किसिमका  केमिकलहरूलाई सम्मिश्रण गर्दै त्यसको रियाक्सन  बुझ्दै गइन ।

न उनले त्यस विषयको बारेमा अध्ययन गरेकी थिइन  न उनलाई त्यो विषयको बारेमा ज्ञान नै थियो ।

मानिसले चाह्यो भने के गर्न सक्दैन र? सबैले गरेको कुरा म चैँ किन सक्दिन भन्ने उनलाई लाग्यो। एकातिर आफ्नो छोराको जिम्मेवारी एकातिर अन्जान विषयको रहर । त्यही  पनि आफ्नो मनको जिद्दीलाई त्यागिनन् पिताम्बरी उत्पादन गरेर व्यवसाय गर्ने उनको रहर लाई पूरा गर्न नै लागिपरिन।

यसरी उनले यस व्यवसाय करिब ३० हजार लगानीबाट सुरु गरेकी थिइन। छोरालाई खुवाएर सुताउँथे  अनि रातभर अर्डर का समान बनाउँदै  प्याक गर्थे।  कति रात मेरो यसरी नै बित्यो।  रातभर प्याकिङ गर्ने दिनभर बेच्न जाने त्यति मात्र कहाँ हो र पिताम्बरी भनेको के हो नै कसैलाई थाहा नहुने , सबैले पूजा को भाडा माझ्ने भनेर चिन्ने गर्थे। 

सोही अनुरूप मैले पनि सबै पसलमा यहाँ पूजाको भाडा माझ्ने पिताम्बरी यहाँ पाइन्छ भनेर लेख्दै टाल्न थाले। पछि त्यही पढेर ग्राहक ले अर्डर गर्न थालेपछि ती पसले हरुले मसंग समान मगाउन थाले , मुसुक्क हाँस्दै उर्मिलाले आफ्ना सफलताका पाइला का बयान गरिन।

दिन रात नभनी गरेको उनको कडा परिश्रम र मेहनतले गर्दा उनी बिस्तारै आफ्नो मार्केट बढाउन सफल हुँदै गइन। एक जना दुइ जना गर्दै काम गर्ने मछे पनि राख्न थालिन र व्यवसाय बढाउँदै लगिन।

कतिको भयो रुरु ?

हाल धेरै महिला र पुरुषलाई उनले रोजगार दिन सफल भएकी छिन। विभिन्न किसिमका मेसिनरी सामान जोडेकी उनले करिब ३० हजारको कम्पनीलाई डेढ करोड को बनाउन सक्षम बनकी छन् । आगामी दिनमा पिताम्बरिलाई नयाँ प्याकेज गर्ने र अन्य उत्पादनलाई पनि समेटेर अघि बढ्न रिसर्च गरिरहेको उनी बताऊँछिन । 

मेहनत, धैर्य र लगनशीलता अपनाउन सकेमा जुनसुकै व्यवसायमा पनि सफलता पाउन सकिने धारणा पाण्डेको रहेको छ ।

हिजो र आज 

हिजो कि उर्मिला डर , कमजोर  र दोधार मनस्थिति कि थिई आज त्यो उर्मिला मा धेरै परिवर्तन आएको छ। हिजो विवाह सफल भएन भनेर रुँदै जीवन अन्त्यका लागि हिँडेकी थिए भने पक्कै पनि म आज यो स्थानमा आइपुग्ने थिई न। कालो अँधेरो पछि नै हो सुनौलो बिहानी आउने , हिजो म अँध्यारो जिन्दगीमा रोशनी खोजिरहेको थिएँ र आज त्यसलाई पाउन सफल पनि भए। 

जिन्दगी एक पटक आउँछ, जिन्दगीको एउटा पाना मा केही नराम्रो लेखिएको होला अर्को पानामा पक्कै पनि आशाका किरण भेटिन्छन्।

१८ वर्ष अघि एउटा पिडा थियो मेरो मनमा अब के होला , एकल महिलालाई कुन दृष्टिकोण ले हेर्छन् होला समाजले , बच्चा को रेखदेख गर्न गाह्रो होला कि भन्ने तर आज म मेरो श्रीमान् लाई  धन्यवाद दिन चाहन्छु , उहाँकै देन हो आजको मेरो सफलता। उहाँ बाट  टाढा नभएकी भए आज पनि म कहाली लाग्दो जीवन शैली मै दिनरात मर्दै बाच्नुपर्थ्यो होला तर सहि निर्णय लिएछु टाढिने  र त आज उर्मिला हिम्मतिली भएकी छे। 

भविष्यको योजना

उनी आफूलाई कमजोर  महिलाको रूपमा कहिले पनि सोच्दिनन् । एक व्यवसाय को ज्ञान भयो अब यस व्यवसाय मा मिल्ने नै प्रोडक्ट को रिसर्च गरेर छिट्टै नै लन्च गर्ने बारेमा सोचेकी छु। आफूजस्तै श्रीमानबाट पीडित , दण्डित वा केही गर्न चाहना राख्ने  महिलाहरूलाई सानोतिनो उद्यम तथा व्यवसाय गरेर अगाडि बढ्न आफू सदा प्रेरक बन्ने विचार पनि उनले व्यक्त गरेकी छन् ।

अब म आफ्नो लागि मात्र कमाउँदिन अरूको भविष्य को लागि पनि कमाउने छु , उनीहरूलाई अघि बढ्न गर्न सक्ने सहयोग गर्ने मेरो योजना छ। अन्त्यमा म के भन्न चाहन्छु भने महिला हुनु कमजोरी होइन सबै भन्दा ठुलो शक्ति हो ,

महिला सँग जति शक्ति छ त्यो पुरुष सँग छैन  हामी प्रसव पिडा सहन सक्छौँ भने जिन्दगीमा आइपर्ने सबै दुखलाई साइड लगाएर सक्षम , सबल , दूरदर्शी ,सफल र जिम्मेवार बन्न सक्छौँ।

Facebook Comment

छुटाउनुभयो कि?