सिरुवा पर्व : सिम्रौनगढदेखि कम्बोडियासम्म उत्सव !

पर्यटन बजार२ बैशाख २०७८, बिहीबार मा प्रकाशित

सिरुवा पर्व : सिम्रौनगढदेखि कम्बोडियासम्म उत्सव !

वैशाख,२, काठमाण्डौ। पश्चिममा सप्तरीदेखि पूर्वमा पश्चिम बंगलको कुचविहारसम्म मनाइने सिरुवा पर्व बिहीबार पनि मनाइँदैछ । सामान्यतया ३ दिनसम्म मनाइने यो पर्व पहिलो दिन पानीको साथमा, दोस्रो दिन हिलोको साथमा र तेस्रो दिन रंगको साथमा मनाउने गरिन्छ ।

जानकारहरु यो पर्व कम्बोडिया, थाइल्याण्ड जस्ता मुलुकसम्म मनाउने गरिन्छ । यद्यपि नेपाल र भारतबाहिर यसको नाम पनि फरक छ । कम्बोडियामा अप्रिल १३ र १४ गते चोलछाम (कसैले चोङक्रान पर्व पनि भन्छन्) पर्व मनाउने मूलभूत शैली नेपाल र कम्बोडियासम्म उस्तै हुने गरेको जानकारहरु बताउँछन् । कम्बोडियाली सञ्चारमाध्यमहरुका अनुसार चोलछाम पर्व रंगहरुको साथमा मनाउने गरिन्छ ।

सिरुवा संस्कृतिका जानकार सप्तरी स्थायी निवासी सीएन थारुका अनुसार पश्चिममा सिम्रौनगढदेखि पूर्वमा झापासम्म, भारतको कुचविहारदेखि कम्बोडियासम्म मनाइने यो पर्वको नाम ठाउँ अनुसार फरक फरक रहेको बताउँछन् । सप्तरी पूर्वको सिरुवा पर्व सप्तरीको पश्चिमी भेगमा भने जुडशिलतको रुपमा मनाउँछन् । सप्तरीदेखि पूर्व पश्चिम बंगालको कुचविहारसम्म त्यसलाई सिरुवा पर्वको नामबाट चिनिन्छ । वीरगञ्जदेखि पश्चिमतिर यो पर्व मनाउने चलन छैन ।

कम्बोडियाको चोलछामको किंवदन्ती
कम्बोडियाको स्थानीय किंवदन्ती अनुसार एउटा राजकुमार बिहे गर्ने उमेर पुगेपछि अर्की राज्यकी राजकुमारीसँग बिहेको प्रस्ताव लिएर जान्छ । राजकुमारी अत्यन्त विद्वान हुनाले ऊसँग विवाहको लागि एउटा शर्त राख्छिन् । उनको शर्त थियो कि उनी एउटा प्रश्न गर्नेछिन् जसको उत्तर दिन सके उनी राजकुमारसँग बिहे गर्छिन् । होइन भने उनलाई मारिनेछ । राजकुमारलाई यो उत्तर खोज्नको लागि ७ दिनको समय दिइएको थियो ।

राजकुमारीको प्रश्न थियो भाग्यले बिहान दिउँसो र साँझ कहाँ निवास गर्छ ?

राजकुमार उक्त प्रश्नको उत्तरको खोजीमा निस्किए । छैठौं दिन बेलुकासम्म पनि उनले उक्त उत्तर नभेटेपछि राजकुमार एउटा रुखको फेदमा आफ्नो मृत्युको समय कुरेर बसेका हुन्छन् । राजकुमार विविध जनावरको भाषा बुझ्ने क्षमताका व्यक्ति थिए । उनी बसेको रुखको माथि चिलको गुँड थियो र त्यहाँ चिलले आफ्ना बच्चहरुलाई यो मान्छे भोलि मर्ने भन्दै भोलिको राम्रो आहारा मिलेको सुनाउँदै थियो । बच्चाहरुले उसको कारण सोधे । चिलले दरबारमा सोधेको प्रश्न र उत्तर दिन नसकेको प्रसंग आफ्नो बच्चालाई सुनाउँछ । बच्चाहरुले आमासँग त्यो प्रश्नको उत्तर सोध्छन् । बच्चालाई चिलले उक्त प्रश्नको उत्तर भन्छे । त्यो रुखमुनि बसिरहेका राजकुमारले सुन्छन् । चिलले सुनाए अनुसार भाग्यले बिहान अनुहारमा निवास गर्छ, दिउँसो शरीरभित्र निवास गर्छ र राति खुट्टा निवास गर्छ भनेर उत्तर दिए । उत्तर दरबारमा सुनाएपछि राजकुमारसँग बिहे गर्न राजकुमारी तयार हुन्छिन् ।

माथि उल्लेखित किंवदन्ती कम्बोडियाको मौलिक किंवदन्ती रहेपनि थाइल्याण्ड, म्यानमार जस्ता मुलुकमा छुट्टै खालको कथा पाइन्छ । तर अपसोचको कुरा नेपालमा पनि सिरुवा पर्व धुमधामका साथ मनाए पनि नेपालमा त्यस्तो कथा केही पनि छैन ।

कसरी मनाइन्छ यो पर्व ?
सिरुवा पर्वसम्बन्धी जानकार थारुका अनुसार पहिलेपहिले झापातिर इनार सफा गर्दा निस्किएको हिलो दलेर यो पर्व मनाउने चलन थियो । अहिले पनि यो कताकतै चलेको भएपनि यो चलन अहिले धेरै हदसम्म हराइसकेको छ । थारु कम्बोडियासम्म यो पर्व कसरी फैलियो ? र यसको मौलिकता यताको हो या उताको हो ? भन्ने विषयमा अहिलेसम्म कुनै अध्ययन नभएको बताउँछन् । यो पर्व वर्षभरि नै शितल रहोस् भनेर मनाइने पर्व हो । झापा लगायत पूर्वी नेपालमा यो पर्व मनाउँदा एकदिन अघि पकाएको बासी खाना खाएर मनाउने गरिन्छ ।

यो पर्वमा खाना पनि ठाउँ अनुसार हुने गर्छ । झापा लगायतका पूर्वी क्षेत्रमा पानीमा भात राखेर पानीभात खाने चलन छ भने सप्तरी लगायतका क्षेत्रमा तेलबाट बनाइएको परिकारहरु, पकौडा, बरी, पकौरी लगायतका परिकार बनाउने गरिन्छ । साथै सप्तरी लगायतका क्षेत्रमा तेलमा पाकेका रोटीहरु पनि खाएर यो पर्व मनाउने गरिन्छ ।

झापामा पानीमा भात राखेर खायो भने बाथ रोगको रोकथाममा सहयोग मिल्छ भन्ने मान्यता राखिन्छ । त्यसैले बढी गर्मी हुने वैशाख महिनाभरि पानी भात खाने चलन छ । यो परिकार बिहान नास्ताको रुपमा खाने गरिन्छ । यो पर्व मनाउँदा सबैतिर घर वरिपरीको सरसफाइ गर्ने विभिन्न ठाउँहरुमा गएर पूजा गर्ने गरिन्छ । सप्तरीमा रहेका विभिन्न शिराथानहरुमा पूजा गरी यो पर्व मनाइन्छ । गाउँलेहरु भेला हुने मूल केन्द्रलाई साझा थान भनिन्छ र सबै गाउँको एउटा विशेष थानलाई शिराथान भन्ने गरिन्छ । यो पर्व यही शिराथानमा मनाउने गरिन्छ । शिराथानमा राजधामीहरुले पूजा गर्ने गर्छन् ।

राजधामी विभिन्न जातिको हुने गर्छ । कतिपय ठाउँमा एउटा वंशबाट पनि आएको हुन्छ । उनीहरुले पहिलो पूजा गरेपछि मात्रै अरुले त्यहाँ गएर पूजा गर्ने चलन सप्तरीमा छ । सुनसरीदेखि गाउँहरुको हरेक साझा थानमा मेलालाग्ने गर्छ । विशेषगरी ३ दिनसम्म मात्रै यो पर्व मनाउने गरिएको भए पनि ठाउँ एक महिनासम्म पनि यो पूजा लम्बिन सक्छ । यो पर्वको पहिलो दिन पानीबाट खेल्ने, दोस्रो दिन हिलोले र तेस्रो दिनमा रंगले मनाउने गर्छन् ।

Facebook Comment

छुटाउनुभयो कि?