पर्यटकको पर्खाइमा संखुवासभाको नुनढाकी

पर्यटन बजार३ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

पर्यटकको पर्खाइमा संखुवासभाको नुनढाकी

बैसाख ,३ चैनपुर। संखुवासभा पर्यटनको बृहत सम्भावना बोकेको एक सुन्दर गन्तब्य हो। मकालु हिमाल, सभापोखरी, अरुण उपत्यका, गुफापोखरी जिल्लामा पर्दछन।

संखुवासभामा यी बाहेक अन्य स्थानहरु पनि छन् जो अझै सम्म छायामा परेका छन्। ति स्थान मध्येको एक गन्तब्य हो नुनढाकी । नुनढाकी संखुवासभाको चैनपुरबाट आधा घण्टाको सडक दुरीमा पुग्न सकिन्छ । गुराँसको राजधानी मिल्के र गुफाबजार क्षेत्रबाट पनि आधा देखी पौने एक घण्टा ओरालोमा नुनढाकी पुगिन्छ । चैनपुरबाट जाँदाको सडक केही राम्रो छ । मिल्के र गुफाबजार क्षेत्रबाट भने सबै सडक कच्ची छ । बाइक, साइकल र फोरविल गाडीबाट मात्रै सहजरुपमा जान सकिन्छ ।

नुनढाकीको रोचक पक्ष भनेको यसको आसपास हुने विभिन्न आकर्षक गन्तव्य र नुनढाकीको लिखित इतिहास हो । चैनपुर नगरपालिका १ मा पर्ने नुनढाकीमा एक पुरानो धार्मिक गन्तव्य छ । तातोपानी नामक गन्तव्यको लिखित इतिहास नै ४३६ बर्ष पुरानो छ ।

विसं १६४२ मा जयमान थक्लुङले स्थापना गरेको तातोपानी नुनढाकीको प्रसिद्ध धार्मिक सांस्कृतिक क्षेत्र हो । तातोपानी क्षेत्रमै शिव र सिंहका सुन्दर मूर्तिहरू निर्माण गरिएका छन् ।

यस्तै नुनढाकी नजिकै छ तङ्लेवा झरना । यो झरना मझौला आकारको रोचक झरना हो । यस्तै गुफापोखरी पनि नुनढाकि आसपासको गन्तव्य हो ।

नुनढाकीमा व्यवस्थित होटल भने छैनन् । यात्रामा जानेले होटलमा बस्न चाहेमा कि नुनढाकी घुमेर माथि डाँडाको गुफाबजारमा वा पल्लो पहाडी भित्ताको चैनपुर बजारमै पुग्नुपर्ने हुन्छ । तर, सामुदायिक होमस्टे भने नुनढाकीमा उपलब्ध छ । येल्लो भिल्ला नामक सामुदायिक होमस्टेमा एक दर्जन हाराहारी आगन्तुक अटाउँछन् ।

Facebook Comment

छुटाउनुभयो कि?