आज विश्व सम्पदा दिवस ! कति छन् त् नेपालमा विश्व सम्पदामा सुचिकृत सम्पदाहरु ?

पर्यटन बजार५ बैशाख २०७८, आईतवार मा प्रकाशित

आज विश्व सम्पदा दिवस ! कति छन् त् नेपालमा विश्व सम्पदामा सुचिकृत सम्पदाहरु ?

वैशाख ५,काठमाण्डौ – आज विश्व सम्पदा दिवस । आज विश्व सम्पदा दिवस, हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यस दिवस मनाइन्छ र आज नेपालमा पनि विभिन्न कार्यक्रमका बिच यस दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घिय अङ्ग युनेस्को द्वारा बहुमूल्य सम्पदाका रूपमा सुचिकृत विश्वका स्मारक र स्थानहरूलाई युनेस्को विश्व सम्पदा क्षेत्र भनिन्छ ।

यूनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्त्व राख्ने (जस्तै वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा शहर) धरोहरहरूलाई आफ्नो सुचिमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समिति द्वारा चयन गर्ने गरिन्छ र यसै समितिले यस सम्पदा क्षेत्रलाई रेखदेख युनेस्कोको तत्वाधानमा गर्दछ ।

७२ सालको भुकम्पले ढलाएका हाम्रा पहिचानहरु उठ्न नसकेर चिच्याएर कराएको भान हुन्छ, अव्यबस्थित शहरीकरणले निस्सासिएका हाम्रा इतिहासहरु गुम्सिएर एैठन भएको भान हुन्छ ।

यि सम्पूर्ण सम्पदा अनि संरचनाको सम्बर्द्धन अनि रक्षा गरेर आँउदा पुस्तामा जस्ताको त्यस्तै हस्तान्तरण गर्ने गहन जिम्मेवारी यस पुस्ताको हो ।

नेपाल एउटा इतिहास वोकेको प्राचीन शहरहरुको देश हो, धेरै एतिहासिक नेपाली संस्कार तथा सभ्यता बोकेका सम्पदाहरु नेपालका कुनाकन्दरामा छन् ।

हजारौं वर्ष अनूभूत गरेका अनि देखेका यस्ता सम्पदाहरुलाई हामीले कत्तिको जोगाउन सकेका छौं त ? आज नेपालीहरु सकलले यो प्रश्नको उत्तरमा गहनतापूर्वक सोंच्ने बेला मात्र हैन अबेला नै भएको छ ।

होर्डिगं वोर्डले छेकेका मन्दिरका गजुरहरु हुन या पार्किङ स्थल बनाइएका एतिहासिक सत्तलहरु हुन्; भुकम्पले छरपष्ट पारेका मन्दिरका टुक्राहरु एकै ठाँउमा राखेर अर्को मन्दिर ठड्याउन नसक्नु अनि दरवारहरु उभ्याउन नसक्नु हाम्रो असक्षमता हो या हैन्, मनन गर्ने दिन पनि आजै हो ।

नेपालमा रहेका विश्व सम्पदा क्षेत्रहरु
युनेस्को विश्व सम्पदा क्षेत्रमा नेपालका विभिन्न सम्पदा (सांस्कृतिक र प्राकृतिक) लाई सूचीकृत गरिएका छन् ।

सांस्कृतिक सम्पदा अन्तर्गत काठमाडौँ उपत्यकाभित्रका सात स्मारक क्षेत्र (तीन वटा ऐतिहासिक दरवार, दुई वटा बौद्ध स्तुप र दुई वटा हिन्दू मन्दिर स्मारक) र लुम्बिनी तथा प्राकृतिक सम्पदा अन्तर्गत चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। उपत्यकाका ती सम्पदालाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।

काठमाडौँ दरवार क्षेत्र – यो क्षेत्र काठमाडौँ नगरको मध्यमा छ । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् ।

त्यस क्षेत्रमा महत्त्वपूर्ण स्मारकमा तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डपलगायत मुख्य आकर्षणका स्मारक हुन् ।

पाटन दरवार क्षेत्र – कलाको शहरका रूपमा परिचित पाटन दरवार क्षेत्रमा रहेका स्मारक अधिकांश १६ औँ देखि १८ औँ शताब्दीसम्म निर्माण गरिएका हुन् । प्रायः राजा सिद्धिनरसिंह, श्रीनिवास र योगनरेन्द्र मल्लले निर्माण गर्न लगाएका थिए ।

मूलचोक, सुन्दरीचोक, मणिकेशवनारायण चोक, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वर लगायतका मुख्य आकर्षणका क्षेत्र हुन् । ढुङ्गाबाट निर्मित कृष्ण मन्दिरको वरिपरि रामायण र महाभारतका दृश्य कुँदिएका छन् ।

भक्तपुर दरवार क्षेत्र – भक्तपुरको मुख्य नगर राजा आनन्ददेवले स्थापना गर्न लगाएको गोपालराज वंशावलीमा उल्लेख छ । तैपनि यो शहर लिच्छविकालीन हुनसक्ने अनुमानसमेत गरिएको छ । सिंहद्वार, स्वर्णद्वार, चारधाम, ५५ झ्याले दरवार, तौमडी, न्यातपोल मन्दिर, दत्तात्रेय मन्दिर, पूजारीमठ आदि हेर्न लायक छन् ।

यहाँका प्रमुख स्मारकमा सिंहद्वार, स्वर्णद्वार, चारधाम, पचपन्न झ्याले दरबार, तौमढी, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर, पूजारी मठ, भूपतेन्द्र मल्लको सालिक आदि रहेका छन् ।

यहाँको पचपन्न झ्याले दरबार त राजा यक्ष मल्लको समयमा सन् १४२७ मा बनेको र सत्रौँ शताब्दीमा आएर राजा भूपतेन्द्र मल्लका पालामा पुनर्निर्माण गरिएको हो । कला सङ्ग्रहालय यहाँको अर्को उल्लेख थलो हो ।

पशुपतिनाथको मन्दिर – विश्वभरिका हिन्दूको पवित्रस्थलका रूपमा रहेको पशुपतिनाथ मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । भारतको चार धामको दर्शनपछि पशुपतिनाथको दर्शन गरेमात्र चारधामको दर्शन पूरा हुने मान्यता रहेको सो मन्दिर राजा भूपालेन्द्र मल्लले निर्माण गर्न लगाएको मानिन्छ ।

स्वयम्भूनाथ – काठमाडौँ उपत्यकाको पश्चिमतर्फको पद्मकण्ठ गिरि पहाडको थुम्कोमा रहेको स्वयम्भूनाथ अति प्रसिद्ध बौद्ध मन्दिर र चैत्य हो ।

३६० वटा खुड्किलो पार गरेपछि स्वयम्भूनाथको महाचैत्यमा पुग्न सकिन्छ । लिच्छविकालमा निर्माण गरिएको स्वयम्भू क्षेत्रमा थप्रै स्तुप छन् ।

बौद्धनाथ – काठमाडौँको बौद्धमा रहेको ३६ मिटर अग्लो बौद्धनाथ स्तूप दक्षिण एसियाकै ठूला स्तूपमध्ये एक हो । मण्डल आकारमा रहेको बौद्धनाथ स्तुपको निर्माण पाँचौं शताब्दीमा भएको हो ।

आठौँ शताब्दीमा यसको जीर्णोद्धार गरिएको थियो । पाँचौ शताब्दीमा अर्थात् लिच्छविकालमा निर्माण गरिएको बौद्धनाथ निर्माण गर्दा १२ वर्ष लागेको बताइन्छ ।

चाँगुनारायण मन्दिर – भगवान विष्णुको मन्दिरका रूपमा रहेको चाँगुनारायणको निर्माणका बारेमा आजसम्म पनि तथ्य फेला पर्न सकेको छैन । विष्णुको मन्दिरको रूपमा रहेको चाँगुनारायणको निर्माण चौथौ शताब्दीमा भएको बताइन्छ ।

यहाँ रहेको शिलालेखले यो मन्दिर काठमाडौँ उपत्यकाका पुराना मन्दिरमध्ये एक रहेको जनाउँछ । यहाँका प्रस्तर, काष्ठ तथा धातुकला उदाहरणीय छन् । यहाँका उल्लेख्य कलामा विश्वरूप, विष्णु विक्रान्त, नरसिंह विष्णु आदि रहेका छन् ।

लुम्बिनी – ईशापूर्व ६२३ मा बुद्ध जन्मिएको स्थल । काठमाडौँबाट करिब तीन सय किलोमिटर दक्षिण-पश्चिममा अवस्थित लुम्बिनीका प्रमुख सम्पदामा मायादेवी मन्दिर, अशोक स्तम्भ, शाक्य पुष्करिणी तलाउ आदि रहेका छन् ।

यहाँ विभिन्न मित्रराष्ट्रले बौद्ध स्तूप निर्माण गरेका छन् । यहाँ सङ्ग्रहालय र अनुसन्धान केन्द्र पनि रहेको छ ।


चितवन राष्ट्रिय निकुञ्ज – सन् १९७३ मा स्थापित यो निकुञ्जमा वन्यजन्तु तथा सयौँ प्रजातिका वनस्पतिको अवलोकन गर्न सकिन्छ । तराईको समथर मैदानमा रहेको यो राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो ।

९३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज एसियाकै संरक्षित क्षेत्रमध्ये एकको रूपमा रहेको छ । वनस्पति तथा वन्यजन्तुका निकै सम्पन्न चितवन राष्ट्रिय निकुञ्ज पाटेबाघ, एक सिङ्गे गैंडा, घडियाल गोही आदि जस्ता दुर्लभ जनावरको महìवपूर्ण वासस्थलको रूपमा रहेको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज – सन् १९७६ मा स्थापित पूर्वी नेपालको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको यस निकुञ्ज क्षेत्रमा विश्वकै सर्वाच्च शिखर सगरमाथा पनि छ ।

यसै निकुञ्जभित्र छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चो ओयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिम चुचुराहरू पर्दछन् । कस्तुरी मृग, हिमाली भालु, थार, घोरल, झारल आदि यहाँका मुख्य वन्यजन्तु हुन् ।

Facebook Comment

छुटाउनुभयो कि?