आस्थाको पर्व चैते छठ सम्पन्न

पर्यटन बजार६ बैशाख २०७८, सोमबार मा प्रकाशित

आस्थाको पर्व चैते छठ सम्पन्न

बैसाख ६ ,जनकपुरधाम । आस्थाको पर्व चैते छठ सम्पन्न भएको छ। आज विहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै चैते छठ सम्पन्न भएको हाे।

छठ ब्रतालुहरुले आज बिहान जनकपुरधामसहित तराई मधेसमा रहेको नदी, पोखरी तथा तलाउमा सूर्यलाई अर्घ्य दिएका छन्।

गत वर्ष कोरोना भाइरसकाे संक्रमणलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले पोखरीमा छठ मनाउन रोक लगाएपछि आ–आफ्नो घरमै व्रतालुले छठ पर्व मनाएका थिए।

तर, यस वर्ष भने पोखरीमै छठ पर्व मनाइएको छ। जनकपुरधाममा मनाइने छठ पर्व नेपालमै प्रसिद्ध रहेको छ। त्यसका लागि केही दिन पहिलेदेखि नै पोखरीको घाटलाई सजाइएको थियो।

छठ पर्व पौराणिक कालदेखि नै चलिआएको धार्मिक परम्परा हो ।छठको व्रत लिदा चर्म रोग नलाग्ने, पुत्रलाभ हुने, सौभाग्य वृद्धि हुने, परिवारमा सुख सम्बृद्धि आउने र परिवारका सदस्यहरु सम्भावित दुर्घटनाबाट जोगिने धार्मिक विश्वास छ ।

सूर्य स्नान र सूर्यको किरणमा छाला लगायतका रोग नियन्त्रण तथा निवारणक्षमता जस्ता बैज्ञानिक तथ्यहरु समेत भेटिएकोले धार्मिक एवं वैज्ञानिक संगमको रुपमा छठ पर्वलाई लिइने गरिएको छ ।

सदभाव र प्रेम तथा आस्थाको पर्व छठ कुनै जाति विषेशको नभएकोले यो पर्व मधेश, पहाड, बंगाली, माडवारी, मुस्लिम सवै वर्ग र समुदायका ब्यक्तिहरुले प्रत्यक्ष वा परोक्ष तरिकाले मनाउने गरेका छन्।

Facebook Comment

छुटाउनुभयो कि?